कलेजको ठगीविरुद्ध विद्यार्थी आन्दोलित

काठमाडौं : भक्तपुरस्थित चक्रवर्ती हवी एजुकेसन एकेडेमी कलेज अफ नर्सिङले ठगी गरेको पाइएपछि कारबाही माग गर्दै विद्यार्थी विरोध प्रदर्शनमा उत्रिएका छन्। कलेजले सम्बन्धन नलिई प्रमाणपत्र तह नर्सिङ कार्यक्रम सञ्चालन गरेपछि विद्यार्थी आन्दोलित भएका हुन्।

सम्बन्धन तथा स्वीकृति नलिई प्रमाणपत्र नर्सिङ कार्यक्रम सञ्चालन गरेको खुलेपछि विद्यार्थीले कलेज खारेज हुनुपर्ने माग गरेका छन्। शैक्षिक शत्र ०७४ /०७५मा भर्ना भएका विद्यार्थीले परीक्षा दिन नपाएपछि माइतीघर मण्डलामा बुधबार विरोध प्रदर्शन गरेका थिए। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट स्वीकृति नलिएको पाइएको छ।कलेजमा अध्ययनरत ३० जना विद्यार्थीको भविष्य अन्योल भएको छ।

यी विद्यार्थीबाट कलेजले जनही ३ लाख ११ हजार चार सय रुपैयाँका दरले शुल्क असुलेको पीडित विद्यार्थीले बताएका छन्। चिकित्सा शिक्षा ऐन, ०७५ अनुसार नर्सिङ कलेज स्थापना गर्न आफ्नै अस्पताल हुनुपर्ने प्रावधान छ। तर, कलेजको आफ्नो अस्पतालसमेत छैन। मापदण्ड पूरा नगरेको र सीटीईभीटीको निर्देशनविपरीत कार्य गरेको जनाउँदै तत्कालीन शिक्षामन्त्री गोपालमान श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले ०७४ सालमा सम्बन्धन खारेज गरेको थियो। तर, कलेजले विद्यार्थीलाई भर्ना लिएको थियो।

कलेज प्रशासनले सम्बन्धन पाएको दाबी गर्दै भर्ना लिएको विद्यार्थी अनुष्का चौलागाईंले बताइन्। उनले भनिन्, ‘एक वर्ष पढियो। तर, परीक्षा दिन नपाउँदा भविष्य अन्योल भयो। अलपत्र परेपछि आन्दोलनमा उत्रनुपरेको हो।’ परीक्षा दिन नपाएका पीसीएल नर्सिङका पहिलो वर्षका विद्यार्थी आन्दोलनमा उत्रिएका हुन्। विरोधमा उत्रिएका विद्यार्थीमध्ये १५ जनालाई कलेजले फोन गरी भर्ना हुँदाको शुल्क फिर्ता गर्न थालेको चौलागाईंले बताइन्।

परीक्षा स्थगित

एमबीबीएस अध्ययनरत विद्यार्थीबाट निजी मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको विरोधमा विद्यार्थीले बुधबार विरोध प्रदर्शन गरेका छन्। विद्यार्थीको आन्दोलनकै कारण त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानको बुधबारदेखि सञ्चालन हुने भनिएको वार्षिक परीक्षासमेत स्थगन भएको छ।

चिकित्सा शिक्षा संघर्ष समितिको अगुवाइमा विद्यार्थीले माइतीघर मण्डलादेखि बानेश्वरसम्म विरोध र्‍याली प्रदर्शन गरे। संघर्ष समितिका संयोजक मिलन गैरेले शुल्क फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने बताए। चितवन मेडिकल कलेज, नेसनल मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेजलगायतले अतिरिक्त शुल्क असुलेको विद्यार्थीको दाबी छ। बढी शुल्क लिने कलेजलाई कानुनबमोजिम कारबाही गर्न शिक्षा मन्त्रालयले गृह मन्त्रालयलाई आग्रहसमेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापितबागलुङ पोष्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोष्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सम्पर्क

बागलुङ पाेष्ट  

निसीखाेला गाउँपालिका-४, बागलुङ

फोन: ९८६७३७७४१९, ९८०५१७५७९३, ९८६७९७०४३५

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology