यस्तो छ गढिमाई भगवतीको इतिहास !

बारा : बारा जिल्लाको सदरमुकाम कलैयादेखि करिब आठ किलोमिटरको दूरीमा रहेको गढिमाई भगवतीको स्थापनाबारे विभिन्न खाले किंवदन्ती रहेका छन् ।

करिब ८ सय  वर्षअघि अहिलेको गाउँमा भगवान् चौधरीले गढिमाईको स्थापना गरेका थिए । भनिन्छ, एक रात भगवान् चौधरीको घरमा चोरी हुँदा गाउँलेले चोरलाई समातेपछि जम्मा भएको भीडले कुटेर ती चोरलाई मार्छ । यसको पूर्ण दोष भगवान् चौधरीमाथि आउँछ ।

कर्तव्य ज्यानको मुद्दामा भगवान चौधरीलाई काठमाडौं उपत्यकाको जेलमा हालिन्छ । सोझा र ईश्वरभक्त चौधरी जेल परे पनि उनको भगवान्प्रतिको आस्था र विश्वासमा कमी नआएको देखेर एक रात जेलमा भगवान चौधरीको सपनामा गढिमाई आएर भन्छिन्, “कुन पापीले तिमीलाई जेलमा ल्याएर थुनेको छ ?” त्यसपछि भगवान् चौधरीले ‘तपाईं को हो, मेरो अगाडि आएर दर्शन दिनुहोस् भनेपछि गढिमाईले साक्षात दर्शन दिएर तिमी मलाई आफ्नो गाउँ लग भनेपछि भगवान चौधरीले गढिमाईको सर्त मानेछन् ।

त्यसपछि चौधरीले गढिमाई भगवतीको पाउको धुलो आफ्नो पगरी र निधारमा बाँधी तथा मन्दिरको त्रिशूल लिएर गढिमाई माताको आज्ञाबमोजिम त्यसै गरे । बाटोभरि भगवान् चौधरी र गढिमाई माताबीच भएको कुराकानीकै क्रममा गढिमाईले आफ्नो पूजामा बलिको व्यवस्था हुनुपर्ने, प्रत्येक वर्ष मेला लाग्नुपर्ने सर्त अघि सारेपछि भगवान चौधरीले प्रत्येक वर्ष मेला लगाउने प्रस्ताव अस्वीकार गरी प्रत्येक पाँच वर्षमा मेला लगाउने, दैनिक पूजाआजा गर्ने, पूजामा पञ्चबलिका रूपमा राँगा, बोका, जङ्गली मुसा, कुखुरा र सुँगुर दिइने प्रस्ताव राखेपछि गढिमाई भगवती सहमत भएकी थिइन् ।

पुजारी चौधरी र भगवतीबीच कुराकानी हुँदै पसहा नदीको बाटो गरी बरियारपुर गाउँ नजिक रहेको बरको रूखमुनि आएर बसेको र सोही स्थान आजको गढिमाईको स्थान भएको अर्का पुजारी शिव चौधरीले बताए । त्यसै बेलादेखि सोही स्थानमा प्रत्येक पाँच वर्षमा गढिमाई पञ्चवर्षीय मेला लाग्दै आएका छन् ।

मङ्सिर महिनाको शुक्लपक्षको पञ्चमीदेखि अष्टमीसम्म गढिमाईमा लाग्ने पञ्चवर्षीय मेलामा विशेष पूजा गरिन्छ । भनिन्छ पञ्चमीका दिन खप्परको पूजा गरिन्छ भने सप्तमी र अष्टमीका दिन ब्रह्मस्थानमा बलिस्वरुप पुजारीबाट पाँच थोपा रगत चढाइन्छ । रगत चढाएपछि सो ठाउँमा बत्ती प्रज्वलित हुन्छ ।

त्यसपछि गढिमाईको मन्दिरमा पञ्चबलिस्वरुप बोका, राँगा, जङ्गली मुसा, कुखुरा र सँुगुरको बलि दिएपछि बलि पूजाको प्रारम्भ हुने गर्दछ । बलि पूजा शुरु भएपछि सर्वप्रथम बनारसका डोमकहाँ रहेको राजा हरिश्चन्द्रका सन्तानले बनारसबाट ल्याएका राँगाको बलि दिने परम्परा रहेको किंवदन्ती रहेको छ ।

नेपाल र भारतको दिल्ली, मुम्बई, कोलकाता, हैदराबाद, पटना, मोतिहारी, दरभङ्गा, सीतामढी, बेतिया तथा सार्क राष्ट्र बङ्गलादेश, पाकिस्तानलगायत देशबाट ठूलो सङ्ख्यामा भक्तजन मेला अवलोकन गर्न आएको गढिमाई मन्दिर सञ्चालक तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहले बताए  ।

मन्दिरका पुरोहित ताराकृष्ण पाण्डयले मन्त्र उच्चारण गरेको र मूल पुजारी मङ्गल चौधरी र तान्त्रिक दुखा धामीले मङ्गलबार विशेष पूजाअर्चना गरेपछि बलि दिने कार्य शुभारम्भ भएको थियो । सोही दिन करिब १४ हजार राँगाको बलि दिएको थियो । आज खसी, बोका, कुखुरा, हाँस, परेवाको बलि दिने कार्य प्रारम्भ भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापित बागलुङ पोस्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोस्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सम्पर्क

बागलुङ पोस्ट

निसीखाेला गाउँपालिका-४, बागलुङ

फोन: ९८६७३७७४१९, ९८०५१७५७९३, ९८६७९७०४३५

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology