पूर्वको यस्तो गाउँ : न बाटो छ, न टेलिफोन

तमोर नदीको किनारै किनार माथि पुगेपछि सिरानमा रहेको ओलाङचुङगोला । त्यस्तै, यान्मा, घुन्सा, लेलेप आसपासका बस्तीहरू नै वालुङ जातिको मुख्य बासस्थान हो । दुई तला रहेको टाँडे घरमा अधिकांशको जस्ताको छानो, तल्लो तल्लामा चौरीका बथानहरु, कतै कतै घोडा र खच्चड पनि बाधिएका हुन्छन् । आवश्यक सामग्रीहरु पनि त्यही तल्लो तल्लामा थन्क्याइएको, दोस्रो तल्लामा पाहुनाको स्वागत होस् या त आफ्नै लागि पनि त्यही दोस्रो तल्लामा जोहो गरिएको हुन्छ । यही हो कञ्चनजंघाको फेदीमा बसेको वालुङ बस्ती ।

याम्फुदिन र अन्य छ सात वटा साना साना बस्तीमा बसेको छ त्यो ठाउँ । इतिहास खोज्दैजाँदा आठौं शताब्दीको समय देखाउँछन् बुढापाकाहरुले । नजिकै रहेको दिकिछ्याल्मो गुम्बाले झण्डै ५ सय वर्षदेखिको संस्कार सिकाइरहेको छ । कञ्चनजंघा साहसिक मार्गले साहसको परीक्षा गरिरहेको छ । न शिक्षाको पहुँच छ न त स्वास्थ्यको । टेलिफोनको सुविधा लिनको लागि या त स्याटेलाईट टेलिफानेको लागि टहटह घाम लागेको समय कुर्नुपर्छ । या त बेसी नै र्झनुपर्छ । यति हुँदा पनि सुखी नहोलान् तर खुशी छन् त्यहाँका मानिसहरु ।

सन्दुक रुईत जस्ता हस्तीहरुलाई यही गाउँले जन्मायो । वालापनमा साथ दियो । तिनै रुइतले धेरैलाई संसार देखाए । धेरैको दोस्रो जन्म गराए । तर, तिनै महान् व्यक्तिको यो गाउँ अहिले पनि चिराईंतो जस्ता जडिबुटी खाएर रोग बिरुद्ध लड्न बाध्य छन् । गोठमा सुत्केरी हुन्छन् । यसमा केहीहदसम्म पुरानो संस्कारको पनि प्रभाव होला । बिरामी हुँदा लामा र धामीकोमा धेरै जान्छन् । १८५८ वर्गकिलोमिटरको यो गाउँपालिकामा २०६८ सालको जनगणना अनुसार १२०१७ जनाको बसोबास थियो । अहिले त्यो संख्या १४ हजार नाघिसकेको स्थानीय तहको भनाई छ ।

यो गाउँपालिका क्षेत्रफलको हिसाबले ठूलो मध्येमा पर्छ । तर, यति ठूलो गाउँपालिकामा जम्मा ७ वटा मात्रै स्वास्थ्य चौकी छन् । त्यही स्वास्थ्यचौकीहरु पनि सधैं रित्ता देखिन्छन् । केन्द्र सरकारले गरेको कर्मचारी समायोजनपछि यो ठाउँमा कोही पनि आउन मानेनन् । भएकाहरु पनि केन्द्रमा फर्किए । त्यहाँका आफूलाई सेवक सम्भिmनेहरुले यो विकट गाउँका मानिसहरुलाई आफ्नो सेवाको परिधि भित्र राख्न चाहेनन् । समायोजनको कारण त्यो विकट हिमाली भेगमा कोही पनि आउन मान्दैनन् । समायोजनपछि सबै स्वास्थ्य चौकी खाली हुँदा ११ अहेव र अनमीहरु गाउँपालिकाले करारमा नियुक्ति गरेको छ ।

गाउँपालिका केन्द्रबाट डेढ दिनको पैदलयात्रामा पुगिने ओलाङचुंगोला स्वास्थ्य चौकी यतिबेला दुई जना महिला अहेबहरुको भरमा सञ्चालमा छ । गाउँपालिकाबाट जानको लागि बाटोको अभाव छ । पैदल जानुको बिकल्प छैन । त्यसको लागि दुई दिन त हिँड्नै पर्छ । त्यसैमाथि पहिरोको संकट त्यतै धेरै पर्छ । त्यही दुर्गम् भेगमा काठै काठले बारिएको झण्डै ५० जति टाँडे घरहरु छन् । त्यसमा कूल २०० को हाराहारीमा जनसंख्या छ । केटा मानिसहरु व्यापारको लागि तिब्बत जान्छन् । महिलाहरु घरमै चौरी पाल्ने, गलैंचा बुन्ने, चौरीको घिउ तयार पार्ने जस्ता कामहरु गर्छन् । यता बाटो छैन । तिब्बत जान बरु यता आउन भन्दा सहज हुने भएकोले उनीहरु नेपाल तर्फ आउनुभन्दा तिब्बत तिरै जान सहज छ । त्यहाँबाट झण्डै ६/७ घण्टाको दुरीमा तिब्बतको बजार पुग्न सकिन्छ । त्यसकारण उनीहरुको व्यापार तिब्बतसँग नै आश्रति हुने गरेको छ । यताबाट गलैंचा र चौरीको छुर्पी, घिउ आदि लैजाने, तिब्बतबाट खाद्यान्न ल्याउने गर्छन् । यस्ता सामग्रीहरु चौरीमा बोकाएर ल्याउने गरिन्छ । यसरी नै चलिरहेको छ । पूर्वी उत्तरी ओलाङ्चुङ्गोलाको जीवनशैली ।

२०६३ साल असोज १७ गते भूगोलविद्, पूर्व राज्यमन्त्री एवं राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत बनिसकेका डा. हर्क गुरुङ सहित २४ जनाको हेलिकप्टरमा ज्यान गएपछि चर्चामा आएको ठाउँ हो यही गाउँपालिकाको धुन्सा गाउँ । रमणीय र सुन्दर हुँदाहुँदै पनि पर्यटकहरुले त्यति धेरै नरुचाएको त्यो गाउँमा प्रचारप्रसारको अभावका कारण आक्कल झुक्कल पर्यटक आउने गरेको स्थानीय बताउँछन् । त्यही भएर पनि कन्चनजंघा हिमालको बेसक्याम्प आसपास केही होटलहरु पनि सञ्चालमा छन् । हिमालको बेसक्याम्प जाने बाटो त्यही हो ।

गाउँपालिकाको केन्द्रबाट दुईदिनको पैदल यात्रामा पुग्न सकिने त्यो ठाउँबाट हिमालको बेसक्याम्प पुग्न भने थप तीन दिन लाग्छ । त्यो क्षेत्रको पनि पीडा त्यस्तै छ । बिजुली बत्ती त पुगेको छ । तर, त्यहाँ बिरामी हुँरा राम्रोसँग उपचार गराउने ठाउँ छैन । गुणस्तरीय शिक्षा पाउने विद्यालय छैन । त्यसैले पनि होला उनीहरु पनि धेरै पढाइतिर धेरै ध्यान दिँदैनन् ।

सुत्केरी हुन अहिले पनि गोठको नै प्रयोग गरिन्छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठका अनुसार एउटा स्वास्थ्य चौकीमा २ जना अहेब, २ जना अनमी एक कार्यालय सहयोगी हुनुपर्ने हो । तर, अहिले कर्मचारी अभावले ६ वटा स्वास्थ्य चौकीमा केवल ११ जना मात्रै कार्यरत छन् । त्यस्तै, अर्काे स्वास्थ्य चौकी साबिकको सवादिन गाउँ विकास समितिमा छ । जुन गाउँपालिकाको केन्द्रबाट ६/७ घण्टाको दुरीमा पर्छ । गर्भवती हुँदा अरुसँग देखिन हुन्न हुन्न भन्ने संस्कृतिले पनि धेरै मानिसहरु घरबाट बाहिर निस्कँदैनन् । यो ताप्लेजुङको विशेषगरी वालुङ जातिको परम्परा हो ।

अब त गाउँपालिकाले तिब्बतसँगको समन्वयमा उत्तर दक्षिण तर्फ सडकको ट्र्याक खोल्ने काम पनि धमाधम गरिरहेको प्रशासकीय अधिकृत श्रेष्ठ बताउँछन् । सडकको ट्र्याक खुलेसँगै बिस्तारै जनजीवन सामान्य बन्दै जाने उनको विश्वास छ । अहिले ती क्षेत्रहरुमा गाडी चल्दैनन् । घोडा र खच्चडहरुको धेरै प्रयोग हुन्छन् । त्यसमा पनि खच्चडको प्रयोग धेरै हुने गरेको छ ।

धेरै तिर लघु जलविद्युतले गाउँ त उज्यालो पारिरहेको छ । तर, पहिरो जस्ता प्राकृतिक प्रकोपले यो गाउँपालिकाबासीलाई ढुक्कसँग बस्न दिने गरेको छैन । गाउँपालिकाको केन्द्रमा रहेको बजारी क्षेत्रमा एकाध कंक्रिटका घरहरु बाहेक अन्यत्र त्यही काठले बारेको र जस्ताले छाएको घर मात्रै देख्न सकिन्छ । गाउँपालिकाकै जयप्रसाद रिजाल ९० प्रतिशत जति घरहरु त्यही काठ र जस्ताबाट बनेको बताउँछन् ।

तर, प्राकृतिक प्रकोप यो क्षेत्रको मूल चुनौतीको विषय रहेको उनको बुझाई छ । गाउँपालिकामा पनि पहिरोको धेरै समस्या वडा नं ३ लिङखिमको थिवा जस्ता ठाउँहरु सबैभन्दा धेरै पहिरोबाट पीडित छ ।

अलैंचीले उकासेको आर्थिक अवस्था

२०७२ सालतिरको कुरा हो । अलैंचीको मूल्य एक लाख रुपैयाँ प्रति मन-४० किलो) पुगेको थियो । त्यो बेलामा फक्ताङलुङ गाउँपालिकाको वडा नं २ बासीहरुको आर्थिक अवस्था सुधारिएको थियो । सो गाउँपालिकामा विशेषगरी वडा नं २, वडा नं ६ को लेलेप जस्ता ठाउँमा धेरै अलैंची फल्ने गर्छ । यो क्षेत्र ब्राहृमण, क्षेत्री आदिको समेत धेरै बसोबास भएको क्षेत्र हो । श्रेष्ठका अनुसार यही क्षेत्रमा एक लाख रुपैयाँ मन हुँदा सुधारिएका जनजीवनले अहिलेसम्म पनि धानिरहेको छ । त्यही क्षेत्रमा उपल्लो क्षेत्रमा चिराईंतो जस्ता जडिबुटीहरु धेरै उत्पादन हुने गर्छ । त्यसलाई समेत चीनमा बिक्री गर्ने गरिएको श्रेष्ठले बताए ।

शिक्षामा  भद्रगोल

साविकका सात गाउँ विकास समितिहरू सवादिन, खेजनिम, लिङखिम, ईखाबु, तापेथोक, लेलेप र ओलाङचुङगोलालाई समायोजन गरेर यो गाउँपालिकाको भूगोल तयार पारिएको हो । उक्त गाउँपालिकामा अहिले ४३ वटा विद्यालयहरु छन् । जसमध्ये ७ वटा मावि, ७ निमावि र बाँकी प्राविहरु रहेका छन् । अहिले ३ वटा विद्यालयलाई मर्ज गरेर ४० वटामा झार्ने काम चलिरहेको छ ।

तर, यहाँ थोरै विद्यार्थी भएको विद्यालयमा धेरै शिक्षकको दरबन्दी र धेरै विद्यार्थी भएको विद्यालयमा थोरै शिक्षकको दरबन्दी हुँदा यहाँको शिक्षा प्रणाली भद्रगोल भएको छ । यो समस्यालाई कसरी व्यवस्थापन गर्ने ? भन्ने बारेमा छलफल चलिरहेको श्रेष्ठले जानकारी दिए । गाउँपालिका भरिमा अहिले जम्मा एउटा मात्रै निजी विद्यालय छ । त्यसमा पनि १ देखि ५ कक्षासम्म मात्रै पढाई हुन्छ । जहाँ अहिले ४० विद्यार्थी अध्ययन गरिरहेका छन् ।

गाउँपालिकासँग कति मानिसहरु वैदेशिक रोजगारीमा छन् ? भन्ने बारेमा यकीन तथ्यांक छैन । तर, ती गाउँबाट समेत वैदेशिक रोजगारीमा जानेहरुको संख्या कम नरहेको भने गाउँपालिकाका अधिकारीहरु बताउँछन् । खाडी मुलुक र पश्चिमा मुलुकहरुमा समेत धेरै गएका छन् । कोही अध्ययनको सिलसिलामा गएका छन् भने कोही कामकै सिलसिलामा । तर, यहाँका मानिसहरुलाई त्यही विदेशबाटै कमाएको पैसाले गर्जाे टार्नुपर्ने अवस्था भने छैन ।

जाति तथा संस्कृति

गाउँपालिकामा कूल जनसंख्याको ७० प्रतिशत लिम्बुहरुको बसोबास रहेको गाउँपालिकाको तथ्यांक छ । त्यही भूमिमा लिम्बूहरुको धेरै संस्कृति विकास भयो । उनीहरु अहिलेपनि परम्परागत संस्कृतिलाई संरक्षण गर्दै आउने गरेका छन् । फक्ताङलुङ गाउँपालिकाको विशेष आकर्षण वालुङ जाति पनि हो । जनसंख्याको कुरा गर्दा त जनगणना २०६८ अनुसार वालुङ जातिको जनसंख्या जम्मा महिला ६ सय ८ जना र पुरुष ६ सय ४१ जना गरी १ हजार २ सय ४९ जना रहेका छन् । वालुङ जातिको जनसंख्या हेर्दा यी जाति पनि अल्पसंख्यक जातिमै परेका छन् । दक्षिणी भेगमा ब्राहृमण, क्षेत्री, गुरुङ, मगर, राई, तामाङ, सुनुवार, भुजेल जस्ता जातिहरुको पनि बसोबास छ ।

वालुङ उत्थान समाजका संस्थापक अध्यक्ष लोजाक लामा रुइतका अनुसार यिनीहरुको संस्कार अचम्मको छ । उनीहरु विवाह भएपछि बच्चा जन्मनै पर्ने मान्यता राख्छन् । सोमबार, बुधबार र शनिबार नै बच्चा जन्मियोस् भन्ने चाहन्छन् । यो शुभ दिन हो भन्ने उनीहरुको मान्यता छ ।

गर्भावस्थामा अरुले देख्यो बने बच्चालाई राम्रो हुँदैन भनेर प्रायः गर्भिणीहरु घर बाहिर नै बस्छन् । गर्भको पूजा गर्ने चलन पनि यही जातिमा पाइन्छ । गर्भावस्थामा खोलानाला काट्न नहुने, मन्दिर आदिमा जान नहुने मानिन्छ भने बच्चा जन्माउन आफ्नो घरमा नै जानै पर्ने बाध्यता छ ।

सुत्केरी भएपछि आमालाई कुखुरा चौंरी आदिको मासु, घिउ, ज्वानो, जाँड, उवाको पिठोको ढिँडो जस्ता पौष्टिक तत्वहरु मनाउने गरिन्छ । बच्चा जन्मिएको दुई तीन दिनमा नै ‘छेमा’ गरिन्छ । यो बच्चालाई स्वागत गर्नका लागि गरिने संस्कार हो । यो पर्वमा बच्चाहरुलाई उवाको पिठो र चौरीको घिउ मुछी खुवाउने गरिन्छ । उनीहरुले न्वारनलाई ‘ठूसाल’ भन्छन् । त्यो सात दिनमा कूल पुरोहित लामाको उपस्थितिमा गरिन्छ । यसबाहेक लिम्बु जाति र भोटे जातिले पनि आ-आफ्नै संस्कार मनाउने गरेका छन् । उनीहरुको भाषा र भेषभुषा पनि आफू अनुसारको नै हुने गर्छ । लेखक दिल विक्रम आङ्दाङ्वे रहेको एवं प्रा. डा. प्रेम खत्रीद्वारा सम्पादित नेपालका जातीय संस्कार नामक पुस्तकमा पनि उनीहरुको संस्कारको बारेमा विस्तृतमा उल्लेख गरिएको छ ।

त्यस्तै, न्वागी पुजा गरी ,च्याब्रुङ बजाउदै गोलाकार घेरामा नाचिने धान नाच, मान्छे मर्दा बन्दुक पड्काउने संस्कारहरु पनि लिम्बुहरुले धान्दै आएका छन् ।

चार्डपर्वहरु

ताप्लेजुङको हिमाली गाउँ ओलाङचुङगोलामा मात्र धुमधामले मनाउने गरेको एउटा विशेष पर्व हो फुटुक पर्व । मंसिर कृष्ण पक्षको दि्वतीयादेखि सुरु हुने यो पर्व औँसीको दिन सकिने गर्छ । पर्वमा नजिकैका बस्ती याङ्मा, घुन्सा लगायतका मानिसहरु पनि अनिवार्य उपस्थित हुने गरेको स्थानीयले बताएका छन् । पर्वको अवधिभर हरेक दिन मध्य रातिदेखि लामाहरुले पाठ गर्छन् । देव नृत्य समेत देखाउने गरिन्छ । पछिल्ला ४ दिनलाई मुख्य पर्वका रुपमा मनाउने गरिन्छ । यसमा आगोमा घ्यु र तेल लगाएर आगोको रापलाई गुम्बाको धुरी कटाएपछि यसको समापन हुन्छ ।

ओलाङ्चुंगोलाकै वालुङ जातिले वर्षमा एक पटक तीर हानेर पनि एक किसिमको पर्व मनाउने गर्छन् । यसबाहेक लिम्बुहरुमा ढुंगा वा चट्टानका देवता ‘लुङबुङवा’ तथा माटोका देवता ‘खाङबुङवा’ लाई पुज्ने प्रचलन छ । यसैगरी बुढी बजै ‘हृयुमा हिमदाङमा’ तथा वनजगंलका देवता ‘सिबुङपा’ लाई पनि मान्ने तथा पुज्ने प्रचलन रहेको छ । लिम्बु जातिले उधौली उभौली पर्व पनि धुमधामका साथ मनाउने गर्छन् । यसका अतिरिक्त केही लिम्बुहरु हिन्दु पर्वहरु पनि मनाउने गर्छन् । दशैँ तिहारका अतिरिक्त संसारी माई पूजा गर्ने प्रचलन पनि लिम्बु जातिमा रहेको पाइन्छ ।

ऐतिहासिक ठाउँहरु

कञ्चनजंघा लगायतका हिमालहरुका अतिरिक्त यहाँ ऐतिहासिक क्षेत्रहरु पनि रहेका छन् । ऐतिहासिक महत्वका किराँत माङहिङ मन्दिरहरु, वडा नं ७ ओलाङचुंगोलामा रहेको ५०० वर्ष पुरानो (मानिएको) दिकीछ्योलिङ गुम्बा आदि पनि ऐतिहासिक महत्वको क्षेत्र हो ।

नेपाल र चीनको सीमा नजिकै तमोर नदीको किनारमा धेरै मानव खप्परहरु भेटिएका छन् । यी खप्परहरु कति पुराना हुन् ? भन्ने यकीन गरिएको छैन । नेपालमा लिच्छवी कालभन्दा पहिले किराँतहरुले शासन गरेका थिए । किराँतहरुको क्षेत्र भनेको त्यही हिमालयको क्षेत्र हो । त्यसैले त्यस्ता क्षेत्रहरु ऐतिहासिक महत्वको क्षेत्र पनि हुनसक्ने देखिन्छ । ससाना बस्तीहरू मिलेर बनेको ओलङ्चुङ्गोला क्षेत्रलाई स्थानीय भाषामा वालुङ पनि भनिन्छ । अनलाइनखबरबाट साभार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापित बागलुङ पोस्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोस्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सम्पर्क

बागलुङ पोस्ट

निसीखाेला गाउँपालिका-४, बागलुङ

फोन: ९८६७३७७४१९, ९८०५१७५७९३, ९८६७९७०४३५

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology