हिउँले ढाकेको त्याे पश्चिम बागलुङ र मेरो घुम्ने इच्छा (फोटो फिचर)

बागलुङ : जन्मदेखि मृत्यूसम्मको समग्र यात्राको नाम नै जीवन हो । जीवनका दौराणमा केही पल विशेष हुन्छन्, ती पलहरुलाई विशेष बनाउन अनेकौं कारणहरुले भूमिका खेलिरहेका हुन्छन् । जीवनलाई विशेष बनाउने ईच्छा सबैको हुन्छ तर त्यसका लागि कडा मिहेनत र त्याग आवश्यक पर्दछ । जीवनलाई विशेष बनाउनेहरुको भिडमा मैले पनि आफुलाई समावेश गरिरहेको छु अर्थात जीवनलाई विशेष बनाउने मेरो पनि ईच्छा छ ।

कहिलेकाँही सोच्ने गर्दछु जीवनलाई विशेष बनाउने मेरो ईच्छा पुरा गर्न मैले के गर्नुपर्ला ? अर्थात कुन माध्यमबाट अगाडि बढेपछि मेरो जीवन विशेष होला ? यस्तै सोँच आईरहँदा मैले आफु सबैभन्दा खुसी कुन कुरामा हुन्छ भन्ने विषयलाई प्रथामिकतामा राख्ने गर्दछु । मेरो प्राथामिकतामा वर्तमानमा मैले जीवनयापनका लागि गरिरहेको जागिर पर्दछ । प्राथामिकतामा जागिर परे पनि यसबाट मेरो जीवन विशेष हुन्छ जस्तो मलाई लाग्दैन ।

मेरो विचारमा मानिसको जीवनलाई विशेष गराउनका लागि उ जुन कुरा गर्दा सबैभन्दा बढी खुसी हुन्छ त्यो कुरा गर्न पायो भने उसको जीवन विशेष हुन्छ ।

आफ्नो पेशा एक तर्फ भएता पनि म सबैभन्दा खुसी हुने भनेको “घुमफिर” मा हो । पेशा फरक भएकाले सधैभरी घुमफिरमै लाग्ने कुरा पनि भएन तर पनि आफ्नो जागिरे जीवनबाट केही समय निकालेर घुमिरहेकै हुन्छ र समय र परिस्थतीले साथ दिएमा भविष्यमा पनि धैरै ठाउँहरु घुम्ने योजना रहेको छ ।

मेरो जीवनमा उर्जा भर्ने एकमात्र तरिका भनेको निःसन्देह यात्रा हो । यात्रा गर्दा म धैरै नै उत्साहित हुने गर्दछु र जीवनमा भएका सबै कुराहरु त्यो यात्राले बिर्साईदिने गर्दछ । समग्रमा जीवन भनेको पनि एक यात्रा नै हो । यस्तै यात्रा गर्दा यात्रामा बिताएका रमाईला पल र त्यस ठाउँमा मैले गरेका अनुभवहरु जानी नजानी लेख्ने प्रयास पनी गर्ने गरेको छु । आज पनि मैले भर्खर केही दिन अगाडि गरेको यात्राका रमाईला पल र अनुभवहरु शब्दका माध्यमबाट उतार्ने प्रयास गरेको छु ।
जाडो महिना सुरु भएदेखिनै हिउँ खेलेका र हिँउ परेका सुन्दर दृश्यहरु सामाजिक सञ्जालका भित्ताहरुमा आउन सुरु गर्दछन् । प्राय सबैजसो साथीहरु हिँउसंग रमाईरहेका तस्विरहरु आफ्नो वालमा राखेर हिँउको अनुभव लिईरहेको देखाईरहेका हुन्छन् । मेरो पनि हिउँ खेलेको अनुभव नै नभएको भने हैन, यो यात्रा भन्दा अगाडि ३ पटकसम्म हिँउमा खेलेको अनुभव मेरो पनि छ । यसपाली पनी कुनै न कुनै ठाउँमा हिउँ खेल्न जाने योजना मनमनै आईरहेको थियो ।
यसपाली मुस्ताङ र रुकुम दुई ठाउँ मध्ये एक ठाउँमा जाने मेरो योजना थियो । दुवै ठाउँ मेरो लागि नयाँ भने थिएनन्, दुवै ठाउँमा म यो भन्दा अगाडि पुगिसकेको थिए तर पनि एउटै ठाउँलाई फरक फरक ऋतु (सिजन) मा हेर्ने मेरो ठुलो रहर छ । एकै सिजनमा त्यस ठाउँको सुन्दरतालाई हेरेर त्यसको सुन्दरताको बयान गरियो भने त्यो आधा अधुरो मात्र रहन्छ जस्तो मलाई लाग्छ । यहि मान्यता अनुसार मैले यसपाली हिउँमा रमाउनका लागि यो भन्दा पहिले आफु पुगिसकेको ठाउँलाई नै रोजेको थिएँ ।

मिति २०७६ माघ ३ गते बिहीवारदेखि देशभरनै लगातार वर्षा भईरहेको थियो । म लगाएत मेरा केही साथीहरु ४ गतेबाट यात्रामा निस्कने सोँच बनाईरहेका थियौं तर ती दुई ठाउँ मध्ये कुन ठाउँमा जाने भन्ने निर्णय भईसकेको थिएन । सबैजनाको जागिर भएकाले अफिसमा लामो समयको विदा मिलाउन असहज नै थियो । त्यसकारण हामीहरु छोटो समयमा लामो यात्रा गर्ने योजनामा थियौं । बागलुङ बजारबाट ३ जना, हटियाबाट १ जना र बुर्तिबाङबाट ६ जना गरी हाम्रो १० जनाको समुह यात्रामा निस्कने भन्ने करिब करिब टुङ्गीसकेको थियो । थिएन त केवल मुस्ताङ वा रुकुम कुन ठाउँमा जाने भन्ने विषय ।

३ गते बेलुका मेरो बुर्तिबाङ तर्फ रहेका साथीहरुसंग फोनमा सम्पर्क भयो उहाँहरुले रुकुम तर्फ जाँदा आफुहरुलाई सहज हुने र समयमै पुगेर फर्कन पनि सजिलो हुन्छ भनी मलाई कन्भीन्स गरेपछि मैले पनी सहजै उहाँहरुको प्रस्तावलाई स्वीकार गरे । ४ गते शुक्रबार थियो शुक्रवार अफिसबाट २ बजे निस्कने र सबैजना त्यसै दिन बागलुङ जिल्लाको नीसीखोला गाउँपालीकामा पुगेर बस्ने योजना थियो । ३ गते बेलुकासम्म पानी लगातार परिरहेको थियो बागलुङ बजारमा रहेका साथिहरुले यस्तो पानीमा जान नसक्ने मनसाय व्यक्त गरिरहँदा मैले साथीहरुलाई भोलीसम्म पानी रोकिन्छ, हामी जसरी पनि जानुपर्छ भनेर कन्भीन्स गरिरहेको थिए ।

अर्कोदिन ४ गते विहान पनि लगातार पानी परिरहेको थियो । पानी रोकिने कुनै छाँटकाँट थिएन, बुर्तिवाङ तर्फ रहेका साथिहरुले जसरी पनि आउन आग्रह गरिरहेका थिए भने बागलुङ बजारमा रहेका साथिहरुले पानीमा जान नसकिने भनी जिद्धी गरिरहेका थिए । मेरो ईच्छा भने यसपाली जसरी पनि रुकुम जाने थियो । त्यसका लागि बजारमा रहेका साथिहरुलाई मनाउनु पर्ने मेरो प्रमुख जिम्मेवारी थियो । मैले विहान पनि साथिहरुलाई हामी जाने समय २ बजेसम्म पानि रोकिन्छ हामी जसरी पनि जान्छौं भनीरहेको थिए । मैले अती नै जिद्धी गरेपछि साथीहरुले एकपटक भेटौं अनी सल्लाहा गरौंला भनेपछि दिनको १ बजेतीर एकजना साथीको अफिसमा भेट भयौं त्यसै समयमा करिब करिब पानी पनी रोकिएको थियो । पानी रोकिएको कारणले गर्दा पनि साथिहरुलाई मैले जसरी पनी जाने कुरामा कन्भीन्स गरे । साथीहरु कन्भीन्स भईसकेपछि सबैजना अफिसमा गएर विदा मिलाउने र २ बजे निस्केर यात्रालाई सुरु गर्ने निर्णय गरियो । २ बजे भनेतापनि हामीहरु अफिसबाट निस्कदा करिब ३ बजिसकेको थियो । सबैजना आ–आफ्नो रुममा गई कपडाहरु प्याक ग¥यौं । बाहीरी मौषम अनुसारका कपडा त्यस बाहीरबाट रेनकोट लगाई २ वटा बाईकमा ३ जना बागलुङ बजारबाट यात्राका लागि निस्कीयौं । यात्रामा निस्कने क्रममा पुनः पानी पर्न सुरु गरिरहेको थियो ।

२ दिनदेखिको लगातारको वर्षा त्यसमाथी निर्माणधिन मध्यपहाडी लोकमार्ग त्यसमा पनि बाईकमा हाम्रो यात्रा पक्कै पनि सहज थिएन भन्ने हामीलाई थाहा थियो । हामीलाई अर्को के कुरा पनी थाहा थियो भने नेपाल सरकारले भिजिट नेपाल २०२० का लागि तय गरेको मेन थिम “लाईफ टाईम ऐक्सपीरेन्स” यो यात्राका माध्यमबाट हामीले प्राप्त गछौं भन्ने ।
घुम्न जान ईच्छा राख्ने धैरै हुन्छन्, तर यात्रा थौरैले मात्र गर्ने गर्छन् । किनकि सोचेको जस्तो, समय, खर्च, साथिभाई, तयारी लगाएतका यावत कुराहरुको तालमेल मिलाउन त्यती सहज भने हुँदैन । यात्राका लागि यि सबै आवश्यक कुराहरुको तालमेल पश्चात हाम्रो यात्रा बागलुङ बजारबाट सुरु हुन्छ ।

बागलुङ बजारबाट हिड्डा करिब ४ बजिसकेको थियो । लगातार वर्षा भईरहेकाले मध्यपहाडि लोकमार्गको बाटो अक्षतेसम्म मोटरसाईकलमा जानका लागि सम्भावनै थिएन । हामीहरुले खहरेसम्मका लागि सुल्डाँडा हुदै जाने बाटो छनौट ग¥यौंैं । त्यो बाटो पनी रातो माटो भएकाले बाईकमा खहरेसम्म निस्कन हामीहरुलाई हम्मेहम्मे नै प¥यो । खहरे पुगेपछि पुनः हामी मध्येपहाडी लोकमार्गमै मिसीन पुग्यौं । बाटोभर खेत रोप्ने समयमा भन्दा पनि बढि रहेको हिलोमा जोखिमपूर्ण यात्रा गर्दै हामीहरु अगाडि बढिरहयौं ।

बागलुङ बजारबाट अक्षते पुग्नका लागि हामीहरुलाई करिब १ घण्टा भन्दा वढि लाग्यो । अक्षते पुग्दा परिरहेको पानीले पनि रोकीन सुरु गरेको थियो । अक्षते भन्दा माथिको बाटो भने केही सहज हुने अनुमान हामीले लगाएका थियौं । माथी जाँदै गर्दा लगातारको पानीले हामीले अनुमान लगाए जस्तो सहज भने त्यो बाटो थिएन । असहजताका विच पनि हामीहरु गन्तव्यमा पुग्नु त छदै थियो ।

बेलुकाको करिब ६ बजे घोडाँबाधे स्थित भ्यूटावरमा पुगेका थियौं । मोटरसाईकल चलाउदा र बस्दा चिसो हावा र पानीमा चिस्सीएको शरीर एकैछिन रोकिएर विश्राम गर्दै तातो चियाको चुस्की र चिकेन ममले शरीर न्यानो र अगाडि बढ्नका लागि केहि उर्जा थपिएको थियो । चिया खाजा खाईसकेपछि हामीहरु त्यहाँबाट अगाडि बढ्यौं । घोडाबाधे देखि मध्येपहाडि लोकमार्ग पिच भईसकेकाले हामीहरुलाई केही सहज भएको महशुस भईरहेको थियो ।  करिब ७ बजे हामीहरु हटिया पुगेका थियौं । हटियाबाट एक जना साथीलाई पिक गरी हामी पुनः गन्तव्य तर्फ अगाडि बढ्यौं । निरन्तर मोटरसाईकलमा माघ महिनाको जाडो खादै घडिको सुईलाई प्रेरणाको स्रोत मानेर अगाडि वढिरहँदा करिब ९ बजे हामी बुर्तिबाङ बजारमा पुगेका थियौं ।

हाम्रो पूर्व योजना अनुसार निसीखोला गाउँपालीकामा पुगेर बस्नको लागि भने हामीहरु बुर्तिवाङ समयमै पुग्न नसकेकाले सम्भव भएन । त्यहाँ साथीहरुले खाना बस्नको लागि हामीहरुलाई व्यवस्था गरिसक्नु भएको रहेछ । खाना खादै भोलीको विषयमा साथीहरुसंग केही छलफल गरिसके पछि हामीहरु आ–आफ्नो रुममा गई विश्राम गर्न तर्फ लाग्यौं ।  चिसो मौसममा रात विताएपछि विहानी हलुका घामको किरणसंगै उज्यालो भयो र अर्को दिनको सुरुवात भयो । सबैजना जम्मा भई ७ बजे बुर्तिवाङबाट हिड्ने भनेता पनी विहानीको चिसो मौषम र विविध कारणले हामीहरु ८ बजे मात्र बुर्तिवाङबाट ५ वटा मोटरसाईकलमा रुकुमका लागि यात्रा तय ग¥यौं ।

५ वटा मोटरसाईकल लस्कर लगाउदै बुर्तिवाङको झोलुङगे पुल तरी अगाडि बढ्यौं । केही साथीहरु यो भन्दा पहिले पनि यो रुटमा हिडिसकेकाले बाटो नचिन्ने लगाएतका समस्या भने हामीलाई थिएन । लगातारको वर्षा र निर्माणधिन मध्येपहाडि लोकमार्गले गर्दा त्यो साईडको बाटोको हालत पनी जोखिमपूर्ण नै थियो । यति हुँदा हुँदै पनी आफुसंग बसेको साथीसंग रमाईलो कुराहरु गर्दै हामीले यात्रालाई अगाडि बढाईरहेका थियौं । मध्यपहाडि लोकमार्गको वरपर रहेको भौगोलिक बस्तुस्थिती नियाल्दै हामीहरु उत्सुकता र कौतुहुलताका साथ अगाडि बढिरहेका थियौं । केही समयको जोखिमपूर्ण यात्रा पछि नीसीखोला आसपास पुग्दा पुनः पिच बाटो सुरु हुँदो रहेछ । फराकिलो र खालि बाटोमा मिल्ने साथीहरुसंग बाईकको लस्कर लगाएर हिड्दा मैले छुट्टै आनन्दको महशुस गरिरहेको थिए । केही समय अगाडि बढेपछि नीसीखोला गाउँपालीकामा खाना खाने र अगाडि बढ्ने भन्ने हाम्रो सल्लाहा भयो तर ठुलो समुह भएकाले तयारी खाना नभएको र खाना बनाउन केही समय लाग्ने भएपछि हामीहरु खाजा मात्र खाएर त्यहाँबाट अगाडि बढ्यौं ।

निसीखोला पुगिसक्दा पारी रहेका डाँडाकाडाँहरु हिउँले सेताम्मे भएको देख्न सकिन्थयो । त्यहाँ पुगेपछि हामीहरुलाई अर्को कुरा पनि थाहा भयो बाटोभर हिउँ भएकाले हामी रुकुमसम्म जान सम्भव नरहेको भन्ने । म मनमनै केही निराश भए, यस भन्दा पहिले पनि हामीहरु रुकुमका लागि जादै गर्दा बाटोमा पहिरो गएकाले फर्कनु परेको थियो भने यसपाली पनि हिउँले गर्दा हामीहरु रुकुम जान नसक्ने भयौं । रुकुम पुग्न नसके पनि हिउँ खेल्ने सपना भने पुरा हुने भयो भन्ने सोँचका साथ हाम्रो यात्रा पुनः सुरु भयो ।

यसभन्दा पहिलेको यात्रामा निसीखोला वरपरका डाँडाकाडाँहरु हरियाली थिए भने अहिले हिँउले गर्दा सेताम्मै भएका थिए । निसीखोलाबाट करिब १ घण्टाको यात्रा पार गर्दा बाटोमा हलुका हिउँहरु देख्न सुरु भईसकेको थियो । हामीहरु जति जती माथी जाँदै थियौं उतीउती बाक्लो हिउँले ढाँकीएका ठाउँहरु आउथ्यो । मध्यपहाडि लोकमार्गलाई पनि हिउँले पुरै ढाकिसकेको थियो । हिउँमा केही समय मोटरसाईकल अगाडि बढाएपनि हिउँले सबै बाटो छोपिसकेको ठाउँदेखि भने मोटरसाईकललाई हामीले अगाडि बढाउन सकेनौं । मोटरसाईकललाई त्यही छेउमा पार्क गरेर हामीहरु हिउँसंग रमाउन सुरु ग¥यौं । हिउँको टुक्रा, हिउँको थुप्रो, हिउँको बिस्कुन हुँदै लटरम्म हिउँले ढाकिएको पहाडहरु नै देखिदै गए ।

हिउँ खेल्दै, हिँउमा फोटो खिच्दै हामी हिडेरै अगाडि पुग्न सक्ने ठाउँसम्म जाने भनी अगाडि बढ्यौं । हामीहरु त्यहाँ पुग्दा कोही पनि व्यक्तिले त्यो ताजा हिँउलाई नटेकेको पाईयो । हातमा हिउँ खेलाउँदै, हिउँका डल्लो बनाउँदै एकाअर्कालाई हिउँले हिर्काउँदै, विभिन्न पोज दिएर हिउँमा फोटो खिचाउँदै, हिउँका विभिन्न आकृति बनाउदै र तिनीहरुसँग फोटो खिचाउँदै हामी त्यही वातावरणमा एकचित्त भएर रमाएका थियौँ ।

हामी जति माथि जान्थ्यौं हिउँको मात्र बढेसंगै हिउ हेर्ने, हिउँ छुने र हिउँ खेल्ने रहर विस्तारै पुरा हुँदै थियो । करिब ३ घण्टा जती हिउँमै बिताएपछि सबैजनाले थकान भएको महशुस गरेपछि हामीहरु त्यहाँबाट फर्कने निधो ग¥यौं । साच्चै, हिउँ भनेको त क्षणिक रहर मात्र रहेछ । नदेख्नेलाई के–के न हो झैँ लाग्ने, तर एकैछिन हिउँको अनुभव लिएपछि, त्यही हिउँ कतिबेला सकिएला र पग्लिएला झैँ हुने । अझ दैनिकी नै त्यहीँ बिताउनेलाई त हिमपात भनेको त क्षणिक रहर भएपनि वास्तविकतामा त्यो प्रकोप जस्तै रहेछ ।

हामीहरु मोटरसाईकल पार्क गरेको ठाउँभन्दा करिब १ घण्टा माथि आईपुगेका थियौं । पुनः त्यस ठाउँबाट फर्केर हामी मोटरसाईकल पार्क गरेकै ठाउँतर्फ लागियो । केही समयको निरन्तर हिडाईपछि हामीहरु त्यस ठाउँमा आईपुग्यौ र आ–आफ्नो साधान लिएर हिउँका यादहरु संगालेर त्यहाँबाट फर्कियौं ।

विहाना खाजा मात्र खाएकाले हामीले नीसीखोलामा खानाको लागि फोनबाट प्रवन्ध मिलाउन भनेका थियौं । दिनको ४ बजे नीसीखोलामा पुगी खाना खाई हामीहरु बुर्तिवाङ तर्फको यात्रा अगाडि बढायौं ।  बुर्तिबाङ आईपुग्दा ६ बजीसकेको थियो । बुर्तिवाङका साथीहरुलाई बाई बाई गरी हाम्रो आजको गन्तव्य गल्कोटको हटिया बजार तर्फ लाग्यौं । हटिया आईपुग्दा बेलुकाको ८ बजीसकेको थियो । हिउँमा चिप्लिएर कयौँ पटक लड्दा चिसो र मोटरसाईकलमा बस्दा हावाले हानेको ज्यानबाट थकान मिश्रित लामो सुस्केरा हाल्दै यात्रा सफल भएकोमा खुसी हुँदै त्यस दिन हटियामै बास बसियो ।
अर्को दिन सबैजनाको अफिस रहेकाले विहानै उठेर हामीहरु बागलुङ बजार तर्फ लाग्यौं । विहानको १० बजे हामीहरु बागलुङ बजार आईपुगेयौं र सधै जस्तो आफ्नो दैनीकी तर्फ लाग्यौं ।

अन्तिम गन्तव्यसम्म पुग्न नसकेकोमा मन खिन्न भएपनि, यात्रा उत्कृष्ट भएकोमा र जोखिम हुँदा हुँदै पनी यात्रालाई सफल बनाउन सकेकोमा हामी उत्तिकै खुशी थियौँ । शहरको धुलो धुँवा, हलचल र अव्यवस्थित जीवनका विचबाटा निकालेको समय निकै रमाईलो र फलदायी भएको महसूस मलाई भएको छ । नेपाल पर्यटकीय हिसाबले प्रचुर सम्भवना बोकेको मुलुक हो । नेपालले सन् २०२० मा २० लाखभन्दा बढी पर्यटक भित्रयाउने लक्ष्य लिएको छ । विभिन्न पर्यटकीयस्थल मध्ये बागलुङ र रुकुमको सिमानामा पनी पर्यटकलाई लोभ्याउने प्रशस्तै पर्यटकीय स्थलहरु छन् । ती ठाउँहरुको प्रचार प्रसारको अभाव र पर्यटकहरु आउनका लागि उचीत बाताबरण सिर्जना नहुँदा ओझेलमा परिरहेका छन् ।

यो त एउटा सानो उदाहरण मात्र हो, नेपालमा यस्ता ठाउँहरु त गणना गर्न नसकिने नै छन् । विदेशीहरुले कृत्रिम झरना, हिमालहरु र यस्ता गाउँ बस्तीहरु निर्माण गरी आफ्नो देशमा पर्यटकहरु आकर्षित गर्छन । नेपालमा प्रकृतीले दिएको यती धैरै कहिल्यै हेरेर नसकिने अग्ला हिमाल, पर्वतारोहण, झरना, प्राकृतीक तथा सास्कृतिक सम्पदा, ऐतिहासिक महत्वका मठ, मन्दिर, गुम्बाहरु, वन जंगल, गाउँ बस्ती हुँदा हुदै पनी यथोचित उपयोग र पर्यटकीय स्थानहरुको विकास तथा प्रवद्र्धनका लागि स्पष्ट खाका नहुदा आर्थिक विकासको एउटा महत्वपूर्ण पाटो पर्यटन व्यवसाय ओझेलमा परेको छ । जलश्रोत, कृषि र सेवा क्षेत्रका साथै पर्यटनलाई सुदृढ गराउदै लैजान सकेमा अहिले भाषणमा धैरै सुनिने आर्थिक समृद्धि धैरै टाढाको विषय होईन त्यसैले पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेर स्पष्ट खाका निर्माण गरी कार्यान्वयनमा लैजाने हो भने नेपालको पर्यटन क्षेत्र बाह्रैमास दुध दिने दुधालु भैँसी बन्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापित बागलुङ पोस्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोस्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सम्पर्क

बागलुङ पोस्ट

निसीखाेला गाउँपालिका-४, बागलुङ

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology