घाटु नाच्‍न सिक्दै किशोरी

पाल्पा : पूर्वखोला गाउँपालिका–२, जल्पामा घाटु नाचिन्छ । मगर र गुरुङ समुदायमा प्रख्यात नाच अन्य गाउँबाट हराइसकेको छ । यसमा बिहे नभएका केटी नाच्ने चलन छ । हराउन थालेपछि युवा पुस्तालाई नाच सिकाउन थालिएको छ ।विभिन्न विद्यालयबाट घाटुका विषयमा सिक्न आउने चलन सुरु भएको पूर्वखोला–२, वडाध्यक्ष निरबहादुर सारुले बताए । ‘यसको पोसाक र गाउने गुरु आमापनि भेटिन छाडे,’ उनले भने, ‘त्यसैले जोगाउन पहल गर्‍यौं ।’

गुरुआमा फनिसरा कुँवरका अनुसार घाटु नाचमा कथावस्तु रहेको छ । उनका अनुसार गाउँले धनुष लिएर हरिण मार्न जान्छन् । मारेपछि खुकुरीले हरिणको छाला काढ्छन् । ‘त्यसपछि राजालाई दिने चलन छ,’उनले भनिन्, ‘राजाले खुसी भएर गाउँलेलाई वायुपंखी घोडा उपहार दिने मान्यता छ ।’ यही खुसी मनाउन घाटु नाच्ने चलन रहेको उनले बताइन् । नाचमा तिनै सामाग्री प्रयोग हुन्छन् । ‘सारी, पटुकी, चोलो, भाला, फुली, बुलाकी लगायत लगाएर नाच्नुपर्छ,’किशोरी खुमीसरा बरालले भनिन्, ‘फुल र हरियो पात मिलाएर सिन्कामा उनेर टाउकोमा लगाउने लाभा तयार गरिन्छ ।’ नाचमा मादल मात्र बजाइन्छ । अर्की किशोरी हुमकान्ती बरालका अनुसार मंगलाचरणमा विभिन्न देवीदेवताको नाम सम्झना हुन्छ । नाच नाच्नुअघि भने अक्षताले इष्टदेवी देवचुली, गंगाचुलीलगायतका पूजा गर्ने चलन रहेको उनले बताइन् ।

आँखा चिम्म गरेर देवीदेवतालाई सम्झेर नाचिन्छ । ‘अहिलेको पुस्ता दुःख मान्छन्,’ उनले भनिन्, ‘हामीले पनि नमान्दा नमान्दै सिकेका हौं ।’ धेरैले यसबारे सिक्नै चाहदैनन् । स्थानीय गंगादेवी कुँवरले सानैदेखि सिकाएमा धेरैले नाच्न जान्ने बताइन् । ‘सबैले सहयोग गरेर जोगाउनुपर्छ,’ उनले भनिन्, ‘नत्र लोप भएर जान्छ ।’ जल्पास्थित पाको पुस्ताले संस्कृति जोगाउन नयाँ पुस्तालाई सीप हस्तान्तरण गर्नुपर्ने उनले बताइन् । पहिले जल्पाको साकिने, मैदान, ढोलीमारा, तल्लो र माथिल्लो झेरुदी, मुढेखर्कमा नाच्ने चलन थियो । अहिले विशेष अवसरमा ढोलीमाराका मगर समुदाय मात्र नाच्छन् । नयाँ वर्षका दिन शम्भु उमावि र जल्पा युवा तथा खेलकुद मञ्चले नाच जगेर्नाका लागि नयाँ पुस्तालाई सिकाउछन् ।

लोकसंस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्न अभियान सुरु गर्नुपर्ने वडाध्यक्ष सारुले बताए । ‘हरेक वर्ष शम्भु उमाविको वार्षिकोत्सव पारेर संस्कृति देखाउने चलन छ,’ उनले भने, ‘जसले गर्दा युवाले सिक्ने मौका पाउनेछन् ।’ मगर समुदायका मारुनी (ठूलो नाच), झ्याउरे (झाम्रे), कोरा (करुवा) बिर्संदै गएका छन् । गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले पुराना र नयाँ पुस्ताको सहभागिता गराएर सिकाउनुपर्ने बेला आएको बताए ।कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापित बागलुङ पोस्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोस्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सह-सम्पादक-सुवास आचार्य

व्यवस्थापक-नवराज नेपाली

सम्पर्क

बागलुङ पोस्ट

निसीखाेला गाउँपालिका-४, बागलुङ

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology