एसईई स्थगित भएपछि घर फर्कने विद्यार्थीलाई गाउँपालिकाको राहत

म्याग्दी : सरकारले एसईई परीक्षा स्थगित गरेपछि परीक्षा केन्द्र पुगेका विद्यार्थीलाई घर फर्कन स्थानीय सरकारले आर्थिक राहत दिने भएका छन् ।

अन्नपूर्ण र धौलागिरी गाउँपालिकाले एसईई परिक्षामा सम्मिलिन हुन दुईरतीन दिनअघि देखि नै घर छोडेर अर्को गाउँमा डेरागरी बसेका विद्यार्थीलाई घर फर्कन आर्थिक राहतको घोषणा गरेका हुन्।
अन्नपूर्ण गाउँपालिकाले एसईई परीक्षा स्थगित भएपछि अन्यौलमा परेका सबै १ सय ६८ जना विद्यार्थीलाई परीक्षा केन्द्रबाट घर फर्कन र होटलबासको खर्च स्वरुपप्रति विद्यार्थी १ हजारका दरले आर्थिक राहत दिने भएको हो।

‘हाम्रा सबै विद्यार्थी एसईई परीक्षामा सम्मिलित हुन घर छोडेर परीक्षा केन्द्र नजिक होटलमा बस्नु पर्ने अवस्था छ। पूरै खर्च ब्यहोर्न सम्भव नभए पनि प्रतिविद्यार्थी घर फर्कन एक हजार आर्थिक राहत दिने निर्णय गरेका छौं,’ अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन सुवेदीले भने। यहाँको मुक्तिमार्ग मावी परीक्षा केन्द्रमा १ सय १८ जना र मुक्तिमार्ग, आदर्श र हिमाञ्चलगरी ३ वटा विद्यालयका ५० जना विद्यार्थी परीक्षामा सम्मिलित हुन सदरमुकाम पुगेका छन्।

त्यसैगरी दुर्गम धौलागिरी गाउँपालिकाले पनि परिक्षा स्थगित भएपछि घर फर्कन विद्यार्थीलाई बाटो खर्च र परीक्षा केन्द्रमा रहँदाको होटलबास खर्चबापत प्रतिविद्यालयलाई एकमुष्ट १० हजारका दरले आर्थिक राहत दिने बताएको छ।

धौलागिरी गाउँपालिकाको सबभन्दा दुर्गम गुर्जा्स्थित जनकल्याण माध्यमिक विद्यालयका विद्यार्थी नजिकको हेम मावी परीक्षा केन्द्रमा एसईई परीक्षामा सम्मिलित हुन ८ घन्टा पूरै हिउँ छिचोल्दै आएका थिए।

‘घरबाट परीक्षामा सहभागी हुन ताकम माध्यामिक विद्यालयबाहेक घर छोडेर परीक्षा केन्द्रमा होटलबास बसेका विद्यार्थीको खाजा, खाना खर्चबापत प्रतिविद्यालय १० हजार राहत दिने निर्णय गरेका छौं,’ धौलागिरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सुनारले भने, ‘अघिल्लो दिन परिक्षा स्थगित हुँदा ८ घन्टासम्म हिउँको पहाड उक्लेर परिक्षा केन्द्र पुगेका विद्यार्थीलाई अझ बढी तनाव भएको छ।’

रघुगंगा गाउँपालिकाले पनि आफ्‍ना विद्यार्थीलाई विद्यालय र परिक्षा केन्द्रको दुरीका आधारमा १हजारदेखि १५ सय रुपैयाँ आर्थिक राहत दिने जनाएको छ। रघुगंगा गाउँपालिकाबाट यस एसईई परिक्षामा २ सय ४६ जना विद्यार्थी सहभागी हुँदै थिए।

‘हाम्रा विद्यार्थी दुई दिन परबाट समेत परिक्षा केन्द्रमा आएका छन्। त्यसैले विद्यालय–परीक्षा केन्द्रको दुरी र खर्चको अनुपातमा राहत दिने निर्णय गरेका हौं,’ रघुगंगा गाउँपालिका प्रमुख भवबहादुर भण्डारीले भने, ‘परीक्षा केन्द्र परेको विद्यालयका विद्यार्थी भने सदरमुकाम पुग्नु पर्ने भएकोले उनीहरुलाई समेत राहतमा समावेश गरेका छौं।’कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापित बागलुङ पोस्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोस्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सह-सम्पादक-सुवास आचार्य

व्यवस्थापक-नवराज नेपाली

सम्पर्क

बागलुङ पोस्ट

निसीखाेला गाउँपालिका-४, बागलुङ

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology