राणा शासनमा नभएको दमन ओली शासनमा भयो, घटनापछि अरू नेताले फोन गरे, प्रधानमन्त्रीले गरेनन्

राणा शासनमा नभएको दमन ओली शासनमा भयो, घटनापछि अरू नेताले फोन गरे, प्रधानमन्त्रीले गरेनन्

  • मंसिर २२, २०७७ सोमवार
  • ०९:०६:४५ बजे
  • 3.2K
    SHARES
  • राणा शासनमा नभएको दमन ओली शासनमा भयो, घटनापछि अरू नेताले फोन गरे, प्रधानमन्त्रीले गरेनन्

    रामचन्द्र पौडेल, वरिष्ठ नेता, नेपाली कांग्रेस

    तपाईं गिरफ्तार भएको विषयले देशभरि एउटा तरंग सिर्जना भएको छ, खासमा यो घटना कसरी भयो ?

    यस्तो घटना हुनुपर्ने कुनै कारण छैन । मैलेचाहिँ यसलाई सत्ता र सरकारमा रहेका मानिसको चरम असहिष्णुता र अलोकतान्त्रिक संस्कारको परिणामको रूपमा लिएको छु । उनीहरूले ममाथि नियोजित रूपमा घटना गराएका हुन् । षड्यन्त्रपूर्वक ममाथि आक्रमण भएको छ ।

    तपाईंले त पुल उद्घाटन गर्ने कार्यक्रम थियो । पुल उद्घाटन गर्ने कार्यक्रम कसरी विवादमा प¥यो रु यो पनि अनौठो भयो नि ?

    यसमा विवाद गर्नुपर्ने, निषेधाज्ञा जारी गर्नुपर्ने कुनै कारण नै छैन नि । यस्तो निरंकुशता त पञ्चायतकालमा पनि थिएन । राणा शासनमा पनि नहुने कुरा अहिले केपी ओलीको शासनमा भयो । कुनै विवाद नभएको ठाउँमा सरकार नै लागेर यो घटना भएको हो । यो त उनीहरूको बुद्धिहीनताको पराकाष्ठा हो । 

    अहिले देशमा नेकपाको सरकार छ, सामान्यतया हाम्रोमा जसको सरकार छ, साधन र स्रोतमा उसैको हालिमुहाली हुने संस्कार छ । तपाईं उद्घाटन गर्न कसरी पुग्नुभयो भन्ने पनि छ नि । 

    होइन, यो त हामीले नै बनाएको पुल हो । त्यो नगरपालिकामा कांग्रेसकै नेतृत्व छ । पुल निर्माण समितिमा पनि सर्वदलीय सहभागिता छ, त्यहाँ कांग्रेस मात्रै होइन, कम्युनिस्ट पनि थिए । उहाँहरूको सर्वसहमतिबाटै उद्घाटनको तयारी भएको थियो । उहाँहरूले नै आइदिनुस्, जिल्लाको विकासका लागि तपाईं नै योगदान गर्नुभएको नेता हो भनेर बोलाएपछि त म गएको हुँ । तर, उहाँहरूले त्यति ठूलो अहिष्णुताको प्रदर्शन गर्नुरहेछ । 

    तर, कांग्रेस वा नेकपा जसको पालामा बने पनि त्योे पुल देशको ढुकुटीबाट बनेको हो । यसमा कांग्रेस र नेकपा भनेर यत्रो उत्पात किन भएको होला ?

    खासमा यो पुल निर्माणमा यो सरकार, यहाँका अहिलेका सांसद, प्रतिनिधि उहाँहरूको एक पैसाको पनि योगदान छैन । उहाँहरूले त यसलाई भाँड्न खोज्नुभएको हो । यो त नितान्त हाम्रो नेतृत्वमा, हाम्रो पार्टीका स्थानीय नेता साथीहरूको प्रयत्नमा पुल बनेको हो । पुल बने पनि पुलसम्मको पहुँचसडक बनेको थिएन । व्यास नगरपालिकाले पहुँचसडक निर्माण गरेर बाटो र पुल राम्रो भएपछि मात्रै उद्घाटनको कार्यक्रम राखेका हुन् । 

    तपाईंलाई जसरी नियन्त्रणमा लिने काम भयो, त्यो नितान्त त्यहाँको प्रहरी–प्रशासनको कदम हुन सक्छ, त्यसमा तपाईंले सरकारको नेतृत्व र नेकपालाई नै किन जोड्न खोज्नुभएको छ ?

    यहाँ प्रहरी–प्रशासनको शैली जुन किसिमको देखियो, यसमा प्रधानमन्त्रीको आशीर्वाद नपाई ममाथि यति ठूलो आक्रमण हुने कुरै हुँदैन । तल्लो तहका नेताहरूले रामचन्द्र पौडेलको कुनै दोष छैन, उनले नितान्त आफ्नो निर्वाचन क्षेत्रको, गाउँको, उनको मिहिनेत, पसिना, परिश्रम परेको पुलको उद्घाटन गर्न लागेका हुन् भनेका छन् । तर, माथिबाट निर्देशन नभई ममाथि कसैले हमला गर्न सक्दैन । यो सबै माथिल्लो तहबाटै भएको हो । माथिल्लो तहबाटै प्रस्तुत गरिएको अधिनायकवादी चरित्रको प्रतिनिधि घटना हो । नेपालमा अहिले कम्युनिस्टको सरकार छ, तर साम्यवाद त होइन नि १ यो घटनाले कम्युनिस्ट कहिल्यै लोकतन्त्रवादी हुँदैनन् भन्ने पुष्टि भएको छ । मैले कम्युनिस्टको हातमा लोकतन्त्र सुरक्षित छैन भन्ने महसुस गरेको छु । तनहुँमा हामीले त्यति धेरै विकासका योजना गरेका छौँ । हामीले त कुनै योजना दिन्छौँ, हाम्रो पार्टीमा आऊ भनेरसमेत भनेनौँ । तर, आज कम्युनिस्टले राज्यकोषको उपयोग गरेर प्रतिपक्षलाई दमन गर्ने काम गरेका छन् । हाम्रो नेतृत्वमा दुई वर्षअघि नै निर्माण भएको पुल उद्घाटनमा अवरोध गर्नुपर्ने के कारण छ रु यो सामन्तवादको युग होइन त । यो त लोकतान्त्रिक समाजवादको युग हो । 

    यो घटनालाई तनहुँका सिडिओले लाजमर्दो घटना भनेका छन्, यो लाजमर्दो घटना हुन नदिन सरकार र प्रशासनले के गर्न सक्थ्यो ?

    यो त सिडिओलाई मात्रै होइन नि, तनहुँवासीका लागि लाजमर्दो घटना हो । देशभरिका जनताले भनिरहेका छन्– यो घटनाले त नेपालको लोकतन्त्र नै लज्जित भएको छ । हाम्रो नेपाली सभ्यता नै लज्जित भएको छ । यस्तो गर्नुपर्ने कुनै कारण नै थिएन नि १ मैले त कुनचाहिँ कानुनले यो निषेधाज्ञा लागू गरेको भनेर सोधेको छु । तर, कुनै हिसाबले औचित्य पुष्टि हुने आधार नै छैन । कुनै आधार नै छैन निषेधाज्ञा गर्नुपर्ने । यो निषेधाज्ञा रामचन्द्र पौडेलको विरुद्ध मात्रै होइन, व्यास नगरपालिकाका १, १० र ११ का जनताको मात्रै होइन, यो त सारा नेपाली जनताको अधिकारमाथिको निषेधाज्ञा हो । 

    तपाईंलाई नियन्त्रणमा लिने विषय राजनीतिक रूपमा लोकतन्त्रविरोधी त भयो नै, शारीरिक रूपमा तपाईंलाई कस्तो असर परेको छ ?

    ममाथि प्रहरीको ठूलो समूहबाट धरपकड भयो । दिउँसोभरि त कुनै दुखाइको महसुस भएन । बेलुका भएपछि शरीरमा दुखाइको महसुस भयो । साँझमा दुखाइ बढेपछि स्वास्थ्य परीक्षण पनि गरेँ । अझै पनि जिउ दुखिरहेको छ । 

    तपाईंमाथि प्रहरी–प्रशासनले दुव्र्यवहार ग¥यो भनेर समाचार आएपछि देशको प्रधानमन्त्री, गृहमन्त्रीले फोन गर्नुभयो होला, उहाँहरूसँग के–कस्तो कुरा भयो ?

    मलाई नेकपाका अध्यक्ष प्रचण्डजी र नेता माधवकुमार नेपालजीले फोन गर्नुभएको थियो । उहाँहरूसँग चाहिँ कुराकानी भयो । तर, सरकारको तर्फबाट कसैसँग पनि कुराकानी भएको छैन । अहिले सरकारमा भएका मन्त्री विष्णु पौडेललगायत अरू नेता साथीहरू पनि व्यक्तिगत रूपमा मसँग नजिक हुनुहुन्थ्यो, तर उहाँहरूले पनि बोल्नुभएको छैन । कुराकानी भएको छैन । अरू नेता साथीहरूले पनि फोन गर्नुभएको थियो होला, तर कुराकानी गर्न सक्ने अवस्था थिएन, फोन उठाउन पाइनँ । 

    घटनालगत्तै कांग्रेसले देशभर प्रदर्शन गरेको छ, यो विरोध प्रदर्शनको माग के हो ?

    यो त अहिलेसम्म उकुसमुकुस भएको सरकारको ज्यादतीको, भ्रष्टाचारको र पक्षपातको विरुद्ध हाम्रा साथीले, आमनेपाली जनताले जो दुःख भोगिरहेका थिए, उनीहरूका लागि पनि न्याय र निकासको मौका मिलेको छ । सरकारका विरुद्धको असन्तोषको विस्फोट भएको होे । मैलेचाहिँ जनताले यसलाई मौकाका रूपमा लिएको देखेँ । प्रतिगमनतिर लाने जुन क्रियाकलाप छन्, त्यसलाई सावधान गर्नका लागि पनि देशभरि कांग्रेसले लोकतन्त्र रक्षाको लडाइँ लड्नलाई एउटा संकेत दिएका हुन् । यो विरोध प्रदर्शनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई परिष्कार गर्नुपर्छ ।

    यसलाई अझै उच्चकोटिमा पु¥याउने गरेर, परिवर्तनलाई सार्थक रूप दिने गरेर, निमुखा जनतालाई न्याय दिने गरेर विपन्नलाई आय दिने व्यवस्था ल्याउनका लागि यसले योगदान दिनुपर्छ । अहिले देशमा सरकारका अधिनायकवादी क्रियाकलापले गर्दा मानिसहरूमा निराशा बढेर प्रतिगामी तत्वहरूले समेत मुन्टो उठाउने अवसर पाएका छन् । यस्तो कुराबाट हामीले वर्षौँसम्म लडेर ल्याएको परिवर्तन जोगाउन, संघीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउनका निमित्त समेत सबै लोकतन्त्रवादी शक्तिहरूलाई एकजुट हुन म आह्वान गर्न चाहन्छु । नयाँपत्रिकाबाट

    सम्बन्धित समाचार