खोलेस्बाङ आधारभूत विद्यालयले जित्यो प्रथम तमानखोला गाउँपालिका अध्यक्ष कपको उपाधि 

खोलेस्बाङ आधारभूत विद्यालयले जित्यो प्रथम तमानखोला गाउँपालिका अध्यक्ष कपको उपाधि 

  • फाल्गुण १९, २०७७ बुधवार
  • १८:५८:३० बजे
  • 9.5K
    SHARES
  • खोलेस्बाङ आधारभूत विद्यालयले जित्यो प्रथम तमानखोला गाउँपालिका अध्यक्ष कपको उपाधि 

    बागलुङ : जिल्लाको तमानखोला गाउँपालिको आयोजना गरेको प्रमथ तमानखोला गाउँपालिका अध्यक्ष कप प्रतियोगिताको उपाधि खोलेस्बाङ आधारभूत विद्यालयले जितेको छ । 

    तमानखोला गाउँपालिकाको शिक्षा तथा खेलकुद शाखाले आयोजना गरेको प्रतियोगितामा सबैभन्दा धेरै अंक ल्याएर उक्त विद्यालयले पहिलो गाउँपालिका अध्यक्ष कप प्रतियोगिताका उपाधि चुमेको गाउँपालिका शिक्षा शाखा प्रमुख पूर्णबहादुर घर्तीले बताए । उक्त विद्यालयले कुल ६ अंक प्राप्त गरेर कप जितेको हो ।

     सामुहिक नृत्य र वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हाँसिल गरेको उक्त विद्यालयले गाउँपालिका अध्यक्ष कपको उपाधि पनि जितेको हो । 

    पहिलो दिन भएको वक्तृत्वकला प्रतियोगितामा खोलेस्बाङ आधारभूत विद्यालय प्रथम, सरस्वती आधारभूत विद्यालय द्वितीय र जनज्योति आधारभूत विद्यालय तृतीय भएका छन् । चित्रकला प्रतियोगितामा शान्ति मावि खुङ्खानी प्रथम, हिल साईड बोर्डिङ स्कुल तमान द्वितीय र सरस्वती आधारभूत विद्यालय लाममेला तृतीय भएका छन् ।

     हाजिरी जवाफ प्रतियोगितामा धनगौज्योति माध्यमिक विद्यालय तमान प्रथम, जनजागृति माध्यमिक विद्यालय बोंगादोभान द्वितीय र विष्णु आधारभूत विद्यालय नर्जा तृतीय भएका छन् ।

    कविता वाचन प्रतियोगितामा शान्ति मावि प्रथम, जनगौज्योति मावि द्वितीय र जनजागृति मावि तृतीय भए । सामुहिक नृत्यमा खोलेस्बाङ आधारभूत विद्यालय प्रथम, हिल साईड बोर्डिङ स्कुल द्वितीय र जनजागृति मावि तृतीय भएको तमानखोला गाउँपालिका शिक्षा शाखा प्रमुख घर्तीले जानकारी दिए । सबै प्रतियोगितामा प्राप्त गरेको अंकका आधारमा प्रतियोगिताको उपाधि विजेता छनोट गरिएको हो । 

    प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै तमानखोला गाउँपालिका उपाध्यक्ष मानसरी शेरचनले विद्यार्थीको प्रतिभा पहिचान गरी उनीहरुलाई अगाडी बढ्न थप हौसला प्रदान गर्ने उद्देश्यले यसखालको प्रतियोगिता आयोजना गरेको बताईन् ।

    ‘विद्यार्थीलाई किताबी ज्ञान मात्रै होईन, अन्य सिर्जनशील क्षेत्र र सामाजिक विषयवस्तुको बारेमा पनि ज्ञान हुनुपर्छ भन्ने मान्यताका साथ यो कार्यक्रम गरिएको हो,’ उनले भनिन्,‘यसले विद्यार्थीको प्रतिभालाई उजागर गर्न सहयोग गरेको छ ।’ कार्यक्रममा कार्यपालिका सदस्य गौमती घर्ती, तमानखोला गाउँपालिकाका प्रशासकीय अधिकृत प्रभात लामिछाने, शिक्षा समिति सदस्य झकबहादुर बुढाले मन्तव्य राखेका थिए ।

     शिक्षा शाखा प्रमुख पूर्णबहादुर घर्तीले स्वागत गरेको कार्यक्रमको सञ्चालन शान्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक सत्यनारायण सिंहले गरेका थिए । विद्यार्थी भित्रको अन्तरनिहित प्रतिभा पहिचान, खोजी सम्मान भन्ने नाराका साथ सुरु भएको हो । प्रथम तमानखोला गाउँपालिका अध्यक्षकप प्रतियोगिता फागुन १६ गतेबाट सुरु भएको थियो । प्रतियोगिताको गलकोट माध्यमिक विद्यालयको प्रधानाध्यापक देबेन्द्र खत्रीले उद्घाटन गरेका थिए । 

    गाउँपालिकाको समग्र विकासका लागि पालिकाले शिक्षा क्षेत्रमा लगानी बढाएको तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए । ‘अहिले यो कार्यक्रम गरेर विद्यार्थीको प्रतिभा पहिचान गर्ने र उनीहरुलाई थप अगाडी बढ्न प्रेरित गर्ने हाम्रो उद्देश्य हो,’ उनले भने,‘शैक्षिक क्षेत्रमा हामीले ठूलो लगानी गरेका छौं । यो पनि त्यसैको एउटा अंश हो ।’

    गाउँपालिकाका लागि उपयोगी र क्षमतावान जनशक्ति उत्पादनका लागि विद्यालय तहबाटै लगानी बढाउनुपर्ने उनको भनाई छ । 

     

    सम्बन्धित समाचार