विवाद

बागलुङको तंग्राममा हँसिया प्रहारबाट एक जना घाईते

बागलुङको तंग्राममा हँसिया प्रहारबाट एक जना घाईते

  • चैत्र १७, २०७७ मंगलवार
  • १९:२३:१२ बजे
  • 20.8K
    SHARES
  • बागलुङको तंग्राममा हँसिया प्रहारबाट एक जना घाईते

    बागलुङ : जिल्लाको काठेखोला गाउँपालिका—४ तंग्राममा मोटरबाटो खन्नेक्रममा विवाद हुँदा हँसिया प्रहार भएको छ । हँसिया प्रहारबाट स्थानीय दलसागर पुन घाईते भएका छन् । उनको खुट्टामा गम्भीर चोट लागेको छ । काठेखोला गाउँपालिकाबाट विनीयोजीत रकमबाट करम्दी—जुकेपानी हुँदै सिर्मात जोड्ने मोटरबाटो निर्माणको क्रममा विवाद हुँदा स्थानीय विवेक थापाले हँसिया प्रहार गर्दा पुन घाईते भएका छन् ।  

    घाईते पुनको तंग्राममा प्राथमिक उपचारपछि धौलागिरि अस्पतालमा उपचार भैरहेको छ । हँसिया प्रहारबाट खुट्टामा गम्भीर चोट लागेका टाँका लगाएपछि पनि निरन्तर दु:खिरहेकाले उपचारका लागि पोखरा जानुपर्ने अवस्था रहेको घाईते पुनले बताए । तीन वर्ष अगाडिबाट निर्माण सुरु भएर विगत दुई वर्षदेखि रोकिएको मोटरबाटोको निर्माण यस पटक पुनः सुचारु गर्ने क्रममा विवाद देखिएको हो ।

    मोटरबाटो खन्ने क्रममा स्थानीयको जग्गा पर्ने भएपछि जग्गाको विवादका कारण बाटो खन्ने काम अगाडि बढ्न सकेको थिएन । यो वर्ष जग्गा दिन सहमत भएका र सार्वजनिक जग्गामा मोटरबाटो खन्ने गाउँपालिकासंगको सम्झौता अनुसार काम अगाडि बढाउने क्रममा आक्रमण भएको करम्दी—जुकेपानी हुँदै सिर्मात जोड्ने मोटरबाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण पुनले बताए । 

    ‘यो ठाउँमा विवाद त पहिले देखिकै हो, यस पटक हामीले सहमती भएको ठाउँ र सार्वजनिक ठाउँमा मात्रै मोटरबाटो खन्ने गरी अगाडि बढेका थियौं,’ उनले भने,‘अचानक असम्बन्धीत व्यक्तिहरु आएर हामी माथि हातपात गरे । ज्यानै लिने प्रयासगरी घरेलु हतियार प्रयोग गरेर आक्रमण गर्ने काम भएको छ ।’  टाउकै प्रहार गर्न खोजको हँसिया छल्ने क्रममा खुट्टामा लाग्न पुगेको उनी बताउँछन् ।

    मोटरबाट अनुगमन समितिका सदस्य मनिष थापाले मोटरबाटोमा जग्गा पर्नेभन्दा असम्बन्धीत व्यक्तिहरुले सांघातिक आक्रमण गरेको बताए ।  ‘पहिलो हमला म माथि भएको थियो, मैले छलें, दलसागरले पनि छल्न खोज्दा खुट्टामा चोट लागेको हो,’ उनले भने,‘त्यहाँ आक्रमण गर्न आउनेहरुमध्ये कसैको पनि जग्गा मोटरबाटोमा पर्दैन । अहिले जसले सहमती गरेर दिएको छ उसैको जग्गा र सार्वजनिक ठाउँमा मात्रै बाटो खनिएको छ ।’ 

    मोटरबाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण पुन, अनुगमन समिति सदस्य मनिष थापा, गिरबहादुर पुन, विष्णु आलेलाई मनबहादुर थापा, ईन्द्रबहादुर थापा, चन्द्रबहादुर थापा, लालबहादुर थापा, नगेन्द्र थापा, लगायतले हातपात र आक्रमण गरेको बताईएको छ । 

    मोटरबाटो निर्माणका लागि पटक पटक छलफल हुँदा पनि सहमती नजुटेपछि सार्वजनिक ठाउँ र सहमती दिएको ठाउँमा मात्रै बाटो खन्ने काम भए पनि सहमती दिने परिवारलाई पनि धम्क्याउने काम भएको मोटरबाटो निर्माण उपभोक्ता समितिले जनाएको छ । 

    अर्को पक्षले भने जबरजस्ती मोटरबाटो नखन्न आग्रह गर्दा स्थानीय वृद्धमाथि कुटपिट भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । उपभोक्ता समितिको कुटपिटबाट घाईते भएका भनिएका ७१ वर्षीय चन्द्रबहादुर थापाका छोरा मनबहादुर थापाले सहमति बेगर बाटो नखन्न भन्दा आफ्नो बुबामाथि कुटपिट भएको बताए । 

    कुटपिटबाट घाईते वृद्धको पोखरामा उपचार भैरहेको भनेर उजुरी आएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकबाल हवारीले जानकारी दिए । मोटरबाटो निर्माण उपभोक्ता समितिले भने आफुहरु माथि सांघातिक आक्रमणपछि नक्कली घाईते खडा गरेर पोखरा पठाउने र प्रहरीमा उजुरी दिई घटनालाई राजनीतिक आवरण दिन खोजको बताएको छ । 

    राजनीतिक आडमा मुद्दा मामिला गर्ने र विकास निर्माणलाई रोक्ने काम भैरहेको उपभोक्ता समितिले आरोप लगाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हवारीले दुबै पक्षबाट निवेदन परेको र दुबै पक्षलाई बोलाएर छलफल गरी दोषी पत्ता लगाउने बताए । 

    ‘एउटाको खुट्टामा चोट लागेको अस्पतालमा उपचार भैरहेको छ, अर्को पक्षको व्यक्ति उपचार गर्न पोखरा गएको छ भनेर उजुरी आएको छ । हामी दुबै पक्षलाई डाकेर छलफल गर्छौं,’ उनले भने । काठेखोला गाउँपालिका अध्यक्ष अमर थापाले घटनाको बारेमा आफुलाई विस्तृतमा थाहा नभएको बताए । 

    ‘घटना भएको भन्ने सुने, त्यहाँ बुझ्दा झडप भएको भन्ने आयो,’ उनले भने,‘बाटोको विषयमा पहिला देखि नै विवाद निकालिरहेका थिए । बुझ्दै जाँदा उपभोक्ता समिति निर्माणदेखिकै विवाद हो कि जस्तो लाग्यो ।’ थापाले गाउँपालिकाको पुस्तीकामा उल्लेख गरिएभन्दा बाहिरबाट मोटरबाटो खन्न खोजेको भनेर विवाद भएको बताए । 

    ‘पुस्तिकामा उल्लेख गरिए भन्दा बाहिर गए गाउँपालिकाले भुक्तानी गर्दैन,’ उनी भन्छन्,‘उपभोक्ता समितिले त्यो जान्दा जान्दै त्यसो गरे होला जस्तो त लाग्दैन । राजनीतिक चासोले यस्तो भएको हो कि जस्तो छ ।’ रासस

  • सम्बन्धित विषय:

  • # हँसिया प्रहार
  • # घाईते

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार