बागलुङ : जिल्लाको काठेखोला गाउँपालिका-४ तंग्राममा घर घरमा स्वास्थ्य सामग्री पु¥याईने भएको छ । तंग्रामको साविक ९ वटा वडाहरुमा कोभिड व्यवस्थापन समिति गठन गरी उक्त समिति मार्फत प्रत्येक घर घरमा पुग्नेगरी स्वास्थ्य सुरक्षा सामग्री पु¥याउन लागिएको छ । वडा कार्यालय तंग्रामले मास्क सेनिटाईजर, विभन्न ११ प्रकारका औषधी, अक्सीमिटर, डिस इन्फेक्सन स्प्रे लगायत सामग्री खरिद गरी वितरण थालेको हो ।
वडाध्यक्ष केशरबहादुर थापाले उक्त स्वास्थ्य सामग्री स्वास्थ्यकर्मी र स्थानीय कोभिड व्यवस्थापन समितिलाई आईतबार हस्तान्तरण गरेका छन् । तंग्रामको प्रत्येक घरमा कम्तीमा ५० वटा मास्क पुग्नेगरी ८५० घरधुरीलाई ४३ हजार थान मास्क वितरण गरिने वडाध्यक्ष थापाले बताए । साविकको प्रत्येक वडामा एक एक थान पुग्नेगरी ९ थान अक्सीमिटर, सेनिटाईटजर, विभीन्न ११ प्रकारका औषधी र भिटामिन वितरण थालिएको उनले बताए ।
‘प्रत्येक व्यक्तिको घर घरमा कम्तीमा ५० थना मास्क पु¥याउँदैछौं, त्यसका लागि ४३ हजार थान मास्क वडाले खरिद गरेको छ,’ वडाध्यक्ष थापाले भने,‘साविकका वडाहरुमा एक एक वडा पुग्ने गरी अक्सी मिटर किनेको छौं । घर घरमा औषधी र भिटामिन तथा सेनिटाईजर वितरण गर्ने कार्य सुरु भएको छ ।’
वडा भित्र कोरोना संक्रमण भएर कसैलाई गम्भीर स्वास्थ्य समस्या देखिए अस्पतालसम्म पु¥याउनका लागि प्रयोग गर्ने गरी दुई थान अक्सीजन शिलिण्डर वडाध्यक्ष थापाले व्यक्तिगत खर्चमा किनेर स्वास्थ्यचौकीलाई हस्तान्तरण गरेका छन् । ‘अन्य स्वास्थ्य सामग्री वडाबाट किनिएको हो, अक्सीजन शिलिण्डर म आफैले व्यक्तिगत ५७ हजार खर्च गरेर किनेको हुँ,’ उनले भने,‘कसैलाई आपतकालिन अक्सीजनको अभाव भएर थप उपचारका लागि अस्पतालसम्म पु¥याउनुपर्ने भयो भने त्यस्तो बेलामा प्रयोग गर्नका लागि हो । ज्यान बचाउनका लागि प्रयोग गर्ने हो ।’
वडाबाट प्राप्त स्वास्थ्य सामग्रीहरु आफुहरुले साविक वडा नम्बर ९ फापरखेतबाट वितरण सुरु गरेको सविक तंग्राम—६ का कोभिड व्यवस्थापन समिति संयोजक मनिष थापाले बताए । ‘हाम्रोमा सबैभन्दा समस्या देखिएको फापरखेत साविकको ९ नम्बर वडामा हो, स्वास्थ्यकर्मी सहित हामी त्यहाँ गएर वितरण गर्दैछौं,’ उनले भने, ‘संक्रमितहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिने स्वास्थ्य सामग्री वितरण गर्ने र सचेतना फैल्याउने काममा लागेका छौं ।’
वडा भित्र रहेका सबै नागरिकहरुसम्म पुगेर सचेतना जगाउने, भीडभाड नियन्त्रण गर्ने, निशेधाज्ञाको कार्यान्वयनमा लागि समन्वय गर्ने र समस्यामा परेका विपन्न परिवारलाई राहत उपलब्ध गराउनका लागि आवश्यक समन्वय गर्ने काम कोभिड व्यवस्थापन समितिले गरेको उनले बताए । अहिले तंग्राममा २१ जना सक्रिय संक्रमित रहेकोमा २० जना साविक वडा नम्बर ९ फापरखेतका रहेको बताईएको छ ।
आफै बिरामी भएर लामो समय अस्पताल बस्नु परेका कारण अप्ठ्यारो अवस्थामा नागरिकको सेवामा खटिन नसकेको पनि वडाध्यक्ष केशव थापाले बताए । ‘निमोनियाका कारण म आफै पोखरा अस्पताल भर्ना भएर २६ दिन आईसियुमा बस्नुप¥यो त्यसले गर्दा यहाँको समस्यामा ध्यान दिन पाईन,’ उनले भने,‘अहिले पनि आवश्यक पर्दा अक्सीजन लगाउने गरी घरमै आराम गर्न भनेर आईसियुबाट निस्केको एक हप्ता भयो ।’