बागलुङ बागलुङ बजारबाट प्रकाशन हुँदै आएको जननिगरानी साप्ताहिक पत्रिकाले चौँथो वर्षिकोत्सवको अवसरमा काठेखोला गाउँपालिका र नेपाल पत्रकार महासंघ बागलुङलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । गुहेली सञ्चार सहकारी संस्था लिमिटेडद्वारा प्रकाशित हुँदै आएको पत्रिकाले आईतबार चौथो वार्षिकोत्सवको अवसरमा कोरोना महामारीमा अग्रमोर्चामा स्वास्थ्यकर्मी र पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
कोरोना महामारीबाट जनतालाई बचाउनको लागि अग्रमोर्चा खटिरहेका स्वास्थ्यकर्मी र सूचना प्रवाहको लागि अग्रमोर्चामा खटिरहेका पत्रकारहरुलाई राहत होस् भन्ने हेतुले गाउँपालिका र महासंघलाई मास्क, सेनिटाइनर र साबुन सहयोग गरेको संस्थाका अध्यक्ष खिम बहादुर कार्कीले जानकारी दिए । अध्यक्ष कार्कीले गाउँपालिका र महासंघलाई १५ हजार बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको बताए । संस्थाका अध्यक्ष खिम बहादुर कार्की
र पत्रिकाका सम्पादक नविन शिशिर विकले काठेखोला गाउँपालिकाको लागि ३० प्याकेट मास्क, ५ लिटर सेनिटाइजर र ५० पिस साबुन स्वास्थ्य शाखाका सोमराज पाण्डेलाई र १५ प्याकेट मास्क, १० पिस सेनिटाइजर र ३० पिस साबुन पत्रकार महासंघका सचिव विजय राना र सदस्य नारायण रिजाललाई हस्तान्तरण गरेका हुन् ।कोरोना महामारीको बीचमा वार्षिकोत्सव मनाउने रकमले गाउँपालिकाको स्वास्थ्य शाखा र पत्रकार
महासंघलाई स्वास्थ्य सामाग्री सहयोग गरेको पत्रिकाका सम्पादक नविन शिशिर वि.कले बताए । काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखरामा मुख्य कार्यालय र बागलुङ नगरपालिका–२ मा शाखा कार्यालय रहेको सहकारीले २०७३ साल असार ७ गतेबाट ‘व्यवसायिक पत्रकारिता, लोकतन्त्रको आधार, विकास र समृद्धिको साझेदार’ भन्ने नाराका साथ साप्ताहिक रुपमा पत्रिका प्रकाशन
आरम्भ गरेको थियो । सहकारीले जननिगरानी साप्ताहिक पत्रिका सहित खबरवे अनलाईन पनि संचालन गरेको छ । यस्तै सहकारीले काठेखोला गाउँपालिका–२ भीमापोखराबाट र बागलुङ नगरपालिका–२ जीपपार्कबाट आर्थिक कारोबार पनि गर्दै आइरहेको संस्थाका अध्यक्ष कार्कीले जानकारी दिए ।