बागलुङ : जिल्लाको बरेङ गाउँपालिकाले शिक्षाको क्षेत्रमा ठूलो लगानी गरेको छ । शिक्षा क्षेत्रमा विनीयोजन गरिने अधिकांस बजेट शिक्षक कर्मचारीको तलब र पूर्वाधार निर्माणमा खर्च हुने गरेकोमा बरेङ गाउँपालिकाले भने त्यस बाहेक पनि ठूलो लगानी शिक्षा क्षेत्रका लागि विनियोजन गरेको छ । गतवर्ष नै गाउँपालिकाले स्थानीय सरकार मार्फत तलब भत्ता खाने सबैको छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीतिगत व्यवस्था गरेको थियो । त्यही व्यवस्थान अनुसार जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरुले अहिले आफ्ना छोराछोरी
सामुदायिक विद्यालयमा पठाउनेक्रम बढेको छ । सबैको छोराछोरी सामुदायिक विद्यालयमा पढाउने भएपछि अहिले बरेङ गाउँपालिकाले शिक्षा क्षेत्रको लगानी पनि निकै बढाएको छ । बरेङ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रहरलाग्दो बजेट शिक्षा क्षेत्रका लागि विनीयोजन गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश थापाका अनुसार गाउँपालिकाले शैक्षिक विकासका लागि मात्रै एक करोड ९८ लाख बढि बजेट विनीयोजन गरेको छ । ‘हामीले भौतिक पूर्वाधार, शिक्षक कर्मचारीको तलबभत्ता बाहेक विशुद्ध शैक्षिक गुणस्तर सुधारका लागि करिब दुई करोडको नजिक बजेट विनीयोजन गरेका छौं,’ थापाले भने,
‘चालु आर्थिक वर्षका लागि गतवर्ष ल्याँएका नीति कार्यक्रममा गरेको निर्णयले गर्दा नै शिक्षा क्षेत्रमा ठूलो लगानी गर्न सफलता मिलेको छ ।’ मानव विकास सूचकाङ्कको पहिलो आधार शिक्षा नै भएका कारण शिक्षामा लगानी बढाएको उनी बताउँछन् । ‘मानवको सर्वाङ्गीण विकासका लागि शिक्षा सबैभन्दा ठूलो कुरा हो, त्यसका लागि शिक्षमा लगानी बढाउनुपर्छ भनेर सामुदायिक विद्यालयको सुधारमा लागेका छौं । सामुदायिक विद्यालय सुधार भए धेरै कुरा सुधार हुन्छ,’ थापा भन्छन् । गाउँपालिकाको शैक्षिक सुधारका लागि मात्रै बरेङले आगामी
आर्थिक वर्षका लागि ४५ वटा शिर्षकमा बजेट विनीयोजन गरेको छ । बाल शिक्षक सहजकर्ता तालिमका लागि एक लाख, सिकाई उपलब्धी परीक्षा तथा पुरस्कारका लागि दुई लाख, अतिरिक्त क्रियाकलाप सञ्चालनका लागि एक लाख बजेट विनीयोजन गरिएको छ । गाउँपालिकाले शैक्षिक पात्रो निर्माणका लागि एक लाख ६५ हजार, एक प्राथमिक विद्यालय एक पुस्तकालय कार्यक्रमका लागि एक लाख, अन्तर विद्यालय शिक्षणका लागि ५० हजार, शैक्षिक सामग्री प्रदर्शनी र पुरस्कारका लागि एक लाख, कम्प्युटर तालिमका लागि एक लाख,
विषयगत तालिमका लागि एक लाख, खरिद तथा लेखा तालिमका लागि एक लाख, शैक्षिक व्यवस्थापन तथा प्राधानाध्यापक नेतृत्व तालिमका लागि एक लाख, विद्युत, कम्प्युटर, प्रिन्टर, प्रोजेक्टर र इन्टरनेट शुल्कका लागि १० लाख बजेट विनीयोजन गरिएको छ । रेडियो बिहानीसंगका सहकार्यमा विषयगत हाजिरीजवाफ प्रतियोगिताका लागि तीन लाख, उत्कृष्ट शिक्षक, विद्यार्थी तथा पदाधिकारी पुरस्कार तथा सम्मानका लागि एक लाख, शिक्षा दिवसमा रचनात्मक कार्यक्रमका लागि एक लाख, गाउँपालिका शैक्षिक कोषका
लागि दुई लाख, आधारभूत विद्यालय माध्यमिक विद्यालय निःशुलक परीक्षाका लागि ६ लाख रुपैयाँ विनीयोज गरेको गाउँपालिकाले जनाएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि चार लाख, सामुदायिक विद्यालय उत्थानका लागि ५ लाख, विज्ञान सामग्री व्यवस्थापन अनुदानका लागि एक लाख, वित्तीय साक्षरता कार्यक्रमका लागि ५० हजार, प्राविधिक धार व्यवस्थापनका लागि एक लाख, प्रधानाध्यापक शिक्षक बैठकका लागि दुई लाख बजेट विनीयोजन गरिएको छ । प्रधानाध्यापक भत्ताका लागि एक लाख ११ हजार ६ सय,
प्रधानाध्यापक विषयविज्ञ कक्षा शिक्षणका लागि एक लाख, स्थानीय पाठ्यक्रम निर्माणका लागि चार लाख, शिक्षा सम्बन्धी बैठकका लागि एक लाख, शैक्षिक प्रोफाईल निर्माणका लागि दुई लाख ५० हजार रकम विनीयोजन गरेको गाउँपालिकाले जनाएको छ । शैक्षिक योजना निर्माणका लागि दुई लाख ५० हजार, स्यानीटरी प्याड डिस्पोजल मेसिनका लागि चार लाख, प्राविधिक शिक्ष अध्ययन छात्रवृत्ति कार्यक्रमका लागि ५ लाख, एक विद्यालय एक करेसाबारी निर्माणका लागि तीन लाख ५० हजार बजेट विनीयोजन गरिएको जनाईएको छ ।
गाउँपालिकाका अनुसार एक दिन विद्यार्थीसंग प्रहरी कार्यक्रमका लागि ५० हजार, हेल्लो लोकसेवा क्वीज प्रतियोगिताका लागि एक लाख, राष्ट्र सेवक कर्मचारी विद्यालयमा कार्यक्रमका लागि एक लाख, हेल्लो विद्यार्थी अभिभावक शिक्षा कार्यक्रमका लागि एक लाख विनीयोन भएको छ । गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रमका लागि १५ लाख, एक कृषि प्राविधिक विद्यार्थी एक कृषि टनेल कार्यक्रमका लागि एक लाख, विद्यालय अनुगमन तथा सुपरीवेक्षण तथा भ्रमण खर्च ७५ हजार, विद्यालय खेल सामग्रीका लागि चार लाख ५० हजार,
गरिब विपन्न तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति कार्यक्रम ५० जनाका लागि ५ लाख रुपैयाँ विनीयोजन गरिएको छ । नमुना विद्यालय अनुदान कार्यक्रमका लागि १० लाख, सामुदायिक सिकाई केन्दको सहकार्यमा शैक्षिक कार्यक्रमका लागि एक लाख, शैक्षिक सामग्री निर्माण तथा छपाईका लागि तीन लाख, कक्षा १ देखि ३ सम्मका पढाई मेला कार्यक्रमका लागि एक लाख गरी कुल एक करोड ९८ लाख २० हजार एक सय रुपैयाँ बजेट विनीयोजन गरिएको बरेङ गाउँपालिका शिक्षा शाखाले जनाएको छ ।
बरेङ गाउँपालिका शिक्षा शाखा प्रमुख सूर्य चालिसेले सबैका सकारात्मक सोंचका कारण ठूलो रकम शैक्षिक क्षेत्रका लागि विनीयोजन भएको बताए । ‘जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकहरुको छोराछोरी सामुदायिक विद्यालयमा पढाउने नीतिले यहाँको शैक्षिक सुधार कार्यक्रमका लागि ठूलो सहयोग पुगेको छ,’ उनी भन्छन्, ‘सामुदायिक विद्यालयप्रति सबैको सकारात्मक सोंचका कारण राम्रो बजेट विनीयोजन भएको छ ।’ गाउँपालिकाले लिएको नीतिका कारण गत शैक्षिक शत्रमा २३ जना विद्यार्थी निजी विद्यालयबाट सामुदायिक
विद्यालयमा फर्किएका छन् । गतवर्ष नीति कार्यक्रम सार्वजनिक गर्दा गाउँपालिका कर्मचारी शिक्षक तथा जनप्रतिनिधिले अनिवार्य रुपमा आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति पारित गरेपछि गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले आफ्नो कक्षा १० मा पढ्दै गरेको छोरा र कक्षा ४ मा पढ्दै गरेकी छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरेका छन् । ‘जनप्रतिनिध कर्मचारी र शिक्षकहरुले नै आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउने हो भने सामुदायिक विद्यालयको विकासका लागि सबैको ध्यान जान्छ
भनेर हामीले नीति कार्यक्रममै यो व्यवस्था ग¥यौं,’अध्यक्ष शर्मा भन्छन्,‘मैले नै छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरें पहिले संस्थागत विद्यालया पढ्थे । त्यसको अहिले राम्रा प्रभाव परेको छ ।’ त्यही नीतिका कारण बरेङ गाउँपालिका—३ की कार्यबाहक वडाध्यक्ष दुर्गा कार्की क्षेत्रीले आफ्नो पनि आफ्नो छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरेकी छिन् । बरेङ गाउँपालिकाले लिएको नीतिमा सबैका साथ र सहयोग भएका कारण केही वर्षमै बरेङको सामुदायिक विद्यालयहरुको गुणस्तरमा ठूलो सुधार आउने गाउँपालिका
अध्यक्ष कृष्णप्रसाद शर्माको अपेक्षा छ । ‘सबैको राम्रो साथ र सहयोग छ, नीति बनाउने मात्र होईन कार्यान्वयनमै लैजानुपर्छ भनेर हामीले नै सुरुवात गरेका छौं,’ उनले भने,‘यसमा सबैका साथ छ । सरोकारवालाको सन्तान सामुदायिक विद्यालयमा हुँदा सबैको ध्यान त्यता हुने रहेछ ।’ शैक्षिक सुधारका लागि गतवर्ष पनि ठूलो रकम लगानी गरेको र कोडिभका कारण त्यसको प्रतिफल जाँच्न नपाएको उनले बताए । बरेङ गाउँपालिकामा एक निजी र ३५ सामुदायिक विद्यालय रहेका छन् । कक्षा १ देखि १२ सम्म पढाई हुने ४ वटा,
कक्षा १ देखि १० सम्म पढाई हुने ३ वटा, कक्षा १ देखि ८ समम पढाई हुने २, कक्षा १ देखि ५ सम्म पढाई हुने १३ वटा विद्यालय रहेका छन् । कक्षा १—४ पढाई हुने २ वटा, १—३ पढाई हुने १० वटा र कक्षा १ मात्रै पढाई हुने एक विद्यालय रहेको छ । विगतमा २६ वटा बालविकास केन्द्र रहेको बरेङमा गाउँपालिकाले ५ वटा थपेर ३१ पु¥याएको छ । बरेङ गाउँपालिकामा ३४ सय विद्यार्थी रहेका छन् ।