बरेङ : बागलुङ बरेङ गाउँपालिका वडा नम्बर २ बरेङ बजारमा कालेपत्रे गरेको सडक छ महिनामै उप्किएर हिलाम्मे भएको छ । सडकको बिभिन्न ठाँउमा भासिएको छ भने कालोपत्र उप्किए दुर्घटना हुने जोखिम बढेको छ । लगातारको वर्षा र खेलमैदान निर्माणले गर्दा सडक माथिदेखि फालिएको माटोले
कालोपत्रे उप्किएको र सडकको ठाउँ–ठाउँमा भासिएको स्थानीयको भनाई छ । सडक उप्किएको ठाउँमा दैनिक ठूला टिप्पर तथा ट्याक्टर लगायतका हेवी साधानहरु निरन्तर चल्दा कालोपत्रे सडक हिलोमा परिणत भएको हो । उक्त सडक गत कार्तिकमा १ करोड ३९ लाख रुपैयाँ लागतमा कालोपत्रे गरिएको थियो । कालोपत्रे गरेको वर्ष दिन नपुग्दै हिलाम्मे भएपछि यात्रुहरुलाई सास्ती खेप्तनु परेको छ ।
‘कार्पेट सिस्टम’ बाट पिच गरिएको सडकमा हेवी सवारी साधानहरु चल्दा सडकमा क्षति पुगेको बरेङ गाँउपालिकाका सब ईन्जिनियर राजन खरेलले बताए । ‘सडक साँघुरो भएको हुँदा साना गाडी मात्रै सचालन हुने गरि सडक कालोपत्रे भएको थियो, तर यहाँ ठूलो–ठूला साधानहरु चल्न थालेपछि सडकमा क्षति पुगेको छ,’
उनले भने ‘हामीले बजारका केहि व्यक्तिहरुलाई सडकको क्षमता भारको विषयमा जानकारी गराएका थियाैँ तर उहाँहरुले मान्नुभएन ।’ उनले लगातारको वर्षा र २ पाङग्रे देखि ४ पाङग्रे गाडीहरु मात्रै गुड्ने सडकमा ठूला गाडीहरु गुडाएपछि यो समस्या आएको बताए । हिउँदमा धुलो तथा बर्खामा हिलाम्मे सडकका कारण
सास्ती बेहोर्दै आएका बरेङ बजारबासी सडक कालोपत्रे भएपछि हर्षित भएका थिए तर वर्ष दिन नहुँदै सडकको दुर्दशा यस्तो भएपछि निरास भएका छन् । चालु आर्थिक वर्षको अन्त्यमा २० लाखको लागतमा सडक छेउमा खेलमैदान निर्माण गर्दा जथाभावी माटो सडकमा फाल्दा कालोपत्र थप उप्किने जोखम बढेको छ ।