बागलुङ : कोरोना भाईरसको संक्रमण तिब्र गतिमा फैलिएपछि बागलुङमा आज बिहीबारदेखि पुनः निशेधाज्ञामा कडाई गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बागलुङले कोरोना महामारी नियन्त्रणका लागि भन्दै अत्यावश्यक सेवा बाहेक अन्य सबै क्षेत्र बन्द रहनेगरी निशेधाज्ञामा कडाई गरेको हो । आज बिहान ५ बजेबाट लागु गरिएको निशेधाज्ञा भदौ ५ गते राती १२ बजेसम्म जारी रहेनेछ । मुख्यतः बागलुङ नगरपालिका क्षेत्रभित्र कोरोना भाईरसको संक्रमण तिब्र गतिमा फैलिएपछि नगरपालिकाले १० दिन कडा निशेधाज्ञा गर्न जिल्ला कोभिड—१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारीस गरेको थियो ।

त्यही सिफारीसको आधारमा केन्द्रको मंगलबार बसेको बैठकले आज बिहीबारदेखि लागु हुनेगरी भदौ ५ गते रातीसम्मका लागि निशेधाज्ञामा कडाई गर्ने निर्णय गरेको हो । बागलुङ नगरपालिकाले सिफारीस गरे पनि जिल्लाको अन्य क्षेत्रमा पनि कोरोनाको संक्रमण तिब्र देखिएकाले जिल्लाभर निशेधाज्ञामा कडाई गर्ने निर्णय भएको निमित्त प्रमुख जिल्ला अधिकारी गणेश गौतमले जानकारी दिए ।

निशेधाज्ञाको समयमा अत्यावश्यक सामग्रीका पसलहरुलाई निश्चीत समय निर्धारण गरिएको छ भने अन्य क्षेत्र पूर्ण रुपमा बन्द रहनेछन् । विगतमा निशेधाज्ञाको समयमा समेत सञ्चालन रहेका बैंक तथा वित्तीय संस्था, सरकारी तथा गैरसरकारी कार्यालयहरु पनि यस पटक बन्द गरिएको छ ।

शैक्षिक संस्था, सार्वजनिक र निजी सबै खाले सवारी साधन बन्द गरिएको छ । अत्यावश्यक सेवाका सवारी साधन चल्न पाउनेछन् । खाद्यान्न लिन बागलुङ बजार झरेको सवारी साधनले बिहान ११ बजेभित्रै बागलुङ बजार छोडिसक्नुपर्नेछ ।

अन्य सबै क्षेत्र बन्द हुँदा पन लोकसेवा आयोग र त्रिभुवन विश्वविद्यालयको परीक्षा भने आवश्यक समन्वय गरेर सञ्चालन गर्ने भनिएको छ । अहिले बागलुङमा साढे ६ सय बढि सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य कार्यालय बागलुङका कोभिड—१९ फोकल पर्सन देवप्रकाश घिमिरेले बताए ।

नयाँ नयाँ लक्षण सहितका कोरोना संक्रमितहरुको संख्या तिब्र रुपमा बढ्न थालेपछि निशेधाज्ञा गर्नु परेको बागलुङ नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए ।

‘अहिले कोरोना संक्रमणको लक्षण फरक फरक देखिएको छ, त्यसले गर्दा नयाँ भेरियन्ट हो कि भन्ने आशंका पनि छ,’ खनालले भने,‘फैलिन पनि एकदमै तिब्र रुपमा फैलिएको छ । एक जनलाई देखियो भने आसपासका ७÷८ जनालाई सरेको देखिन्छ । त्यसले गर्दा पनि चेन ब्रेक गर्न निशेधाज्ञा गर्नु परेको हो ।’

बिहीबार बिहानबाट लागु भएको निशेधाज्ञामा प्रहरी निकै कडाई गरेको छ । तरकारी तथा किराना पसलसंगै रहेका पसलहरुमा तरकारी मात्रै बाहिर राखेर किराना सामान नदेखाउन भनेको व्यवसायी धनबहादुर कार्कीले बताए । तरकारी किरानासंगै रहेका व्यवसायीले वरण्डामा तरकारी राखेर किराना पसलमा सटर लगाएर बसेका छन् ।

