बागलुङ : जिल्लाको तमानखोला गाउँपालिका—६ नर्जाखानी । भौगोलिक रुपमा र विगतमा विकास निर्माणले पनि पिछडिएको क्षेत्र हो ।
दुरीले खासै टाढा पर्दैन । सडक निर्माण भएपछि अहिले बुर्तिबाङबाट डेढ घण्टाकै अवधीमा पुग्न सकिन्छ । भौगोलिक रुपमा कठिन ठाउँ । त्यसै माथि बागलुङ बजारमा बस्ने प्रशासकहरु नजर कहिल्यै नपरेका कारण नर्जाबासी आफ्नो कर्मै यस्तो भनेर दिन बिताउन बाध्य थिए ।
तर अहिले संघियताको नयाँ मोडल अनुसार स्थानीय तह गठन भएपछि नर्जाबासीले पनि विकासको मुहार देख्न थालेका छन् ।
अझ भनौं भने नर्जाको मुहार फेरिन थालेको छ । बागलुङ जिल्लाको अन्तिम गाउँ हो नर्जा । दुई वर्ष अगाडीसम्म नर्जाका स्थानीयले एक गाग्री पानीका लागि घण्टौं समय लगाएर खोलामा धाउनुपर्ने बाध्यता थियो ।
अहिले पनि स्थानीयको घर घरमै धारो पुगेको छ । तमानखोला गाउँपालिकाले पिछडिएको गाउँमा एक घर एक धारा कार्यक्रम सञ्चालन गरेपछि अहिले नर्जाबासीका लागि वरदान सावित भएको छ ।
तमानखोला—६ नर्जाकी मनकुमारी छन्त्याल अहिले घर घरमै पानीका धारा पुग्दा निकै दंग देखिन्छिन् । ‘बिहान राती नै उठेर एक गाग्री पानी लिनका लागि एक घण्टा हिँडेर पानी ल्याउनपर्ने अवस्था थियो,’उनले भनिन्,‘अहिले त घर घरमै धारो छ । कति हो कति सजिलो भएको छ । विगतको दुःख त सम्झीसाध्ये छैन ।’
अहिले अगेनामा तरकारी बसालेर धारोमा पानी भर्न आउने सकिने भएपछि उनको मुहारमा खुशीका रौनक देखिन्थ्यो ।

‘एक गाग्री पानी लिनका लागि दिन जान्थ्यो, अहिले त अगेनामा तरकारी बसालेर तरकारीमा राख्ने पानी भर्न आउन सकिन्छ,’ उनले खुसी प्रकट गरिन् । एक घर एक धाराले गर्दा तरकारी लगायतका अन्य खेतिका साथै समयको समेत बचत हुने गरेको उनी बताउँछिन् ।
‘विगतमा टाढाबाट पानी ल्याउनुपथ्र्यो, पानी ल्याएर खाना बनाएर छोराछोरीलाई स्कुल पठाउँदा ढिला हुन्थ्यो,’ उनी भन्छिन्,‘अहिले सहज भएको छ । घरको काम चाँडे सकेर मेलापात जानका लागि पनि सहज भएको छ । तरकारी खेति लगायतका अन्य खेतिका लागि पनि प्रसस्त पानी पुगेपछि राम्रो भएको छ ।’
नर्जाखानीमा तमानखोला गाउँपालिकाले ३८ लाख रुपैयाँ लगानी गरेर एक घर एक घरा निर्माण गरेको छ । स्थानीयलार्य खानेपानीको साह्रै समस्या भएपछि पहिले खानेपानीको योजनामा लगानी गरेको तमानखोला—६ नर्जाखानीका वडाध्यक्ष कुलबहादुर छन्त्याल बताउँछन् ।
‘नागरिकको आधारभूत आवश्यक खानेपानी हो, त्यही पानीको समस्याले यहाँका नागरिक भौतारिनु परेको थियो,’वडाध्यक्ष छन्त्याल भन्छन्,‘त्यसैले पनि पहिले खानेपानीको प्रवन्ध गर्नुपर्छ भनेर हामीले यहाँ एक घर एक धाराको योजना लागु गरेर काम पनि सम्पन्न ग-यौं ।
अहिले सबैलाई सहज भएको छ ।’ एक घर एक धारा निर्माणका लागि स्थानीयले श्रमदान पनि गरेका छन् ।
यो अभियान अन्तर्गत नर्जा गाउँमा १ सय १४ व्यक्तिगत धारा र वटा सार्वजनिक धारा निर्माण गरिएको छन्त्यालले बताए बताए । ‘उनले वडा नम्बर ६ नर्जाखानीकै भित्रीवनमा अहिले एक घर एक धाराको योजना सञ्चालनमा रहेको बताए ।
‘हामीले यहाँका प्रत्येक वस्तीमा खानेपानीको व्यवस्थापनका लागि लागेका छौं,’ उनी भन्छन्,‘अहिले भित्रीवनमा यो योजना सञ्चालनमा छ । गतवर्ष सात लाख र अहिले १३ लाख विनीयोजन गरेर काम अगाडी बढिरहेको छ ।’ नर्जाखानीकै पात्लेमा पनि योजना सञ्चालनमा तयारीमा रहेको उनले जानकारी दिए ।
तमानखोला गाउँपालिका भित्रका सबै वडाका नागरिकलाई स्वच्छ र सफा खानेपानी पु-याउनका लागि तमानखोला गाउँपालिकाले विभीन्न योजना अगाडी बढाईरहको गाउँपालिका अध्यक्ष जोकलाल बुढा बताउँछन् ।

‘हरेक नागरिकलाई राम्रो र स्वच्छ खानेपानी पु-याउनका लागि हामी लागेका छौं,’ उनी भन्छन्,‘गाउँपालिकाले विभीन्न निकायसंग साझेदारी गरेर यो काम तिब्रताका साथ अगाडी बढाएको छ ।’
गाउँपालिका सहित प्रदेश संघ सरकार र साझेदार निकायहरु नेवा, कादुरी तथा ब्रिटिस गार्खा वेलफेयर मार्फत पनि खानेपानीका योजनाहरु निर्माणको काम अगाडी बढेको बताए ।
‘अहिलेसम्म तमानखोला गाउँपालिकामा करिब ६० प्रतिशत घरमा एक घर एक धारा निर्माणको काम सम्पन्न भैसकेको छ,’ उनले भने,‘केही योजनाहरु सञ्चालनमा रहेका छन् ।
ती योजनाहरु र सञ्चालनका लागि तयारी अवस्थामा रहेका योजनाहरु सम्पन्न हुँदा हामीले करिब ८० प्रतिशत नागरिकलाई एक घर एक धारा कार्यक्रममा जोड्न सफल हुन्छौं भन्ने लागेको छ ।’
अहिले तमानखोलाको वडा नम्बर ५ को खुंखानी गाउँ र वडा नम्बर ३ को तमान गाउँमा २ सय भन्दा बढी धारा निर्माण गर्ने अभियानमा रहेको बताए ।
अध्यक्ष बुढाले खुंखानी गाउँमा गाउँपालिकाको १३ लाख लागतमा गत वर्ष पाइपहरु खरिद गरिएको र यस वर्ष गाउँपालिकाले २० लाख र प्रदेश सरकारले २५ लाख रुपैयाँ विनियोजित गरेकोले ५८ लाख रुपैयाँ बजेतमा यस वर्षबाट एक घर एक धारा खानेपानी योजना सम्पन्न गर्ने लक्ष्य राखेको सुनाए ।
तमानगाउँको खानेपानीका लागि प्रदेश सरकारबाट २५ लाख रुपैयाँ विनीयोजन गरेर काम अगाडी बढाउने तयारीमा रहेको उनले बताए ।
अबको दुई वर्षको अवधीमा गाउँपालिकाका हरेक नागरिकको घरमा एक घर एक धारा अन्तर्गत स्वच्छ र सफा पिउने पानी पु-याउने योजनामा गाउँपालिका रहेको उनले जानकारी दिए ।