शिक्षा

यही सम्भावनाको खोजी गर्नुपर्छ—रजिस्ट्रार रिजाल

यही सम्भावनाको खोजी गर्नुपर्छ—रजिस्ट्रार रिजाल

  • माघ २२, २०८१ मंगलवार
  • १९:४३:०१ बजे
  • 1.9K
    SHARES
  • यही सम्भावनाको खोजी गर्नुपर्छ—रजिस्ट्रार रिजाल

    बागलुङ : त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार केदारप्रसाद रिजालले विश्वविद्यालयबाट उत्पादन हुने जनशक्तिले राष्ट्रलाई प्रेरित गर्नुपर्ने बताएका छन् । सोमबार धवलागिरि बहुमुखी क्याम्पस बागलुङको ६२ औं वार्षिकोत्सव मूल समारोहको उद्घाटन गर्दै उनले देशमा बढेको निरासालाई चिर्नका लागि बौद्धिक जगतले भूमिका खेल्नुपर्ने बताए । ‘अहिले सबै क्षेत्रमा निरासा छाएको छ, विश्वविद्यालयबाट उत्पादन हुने जनशक्तिले देशलाई प्रेरणा दिएर यही सम्भावनाको खोजी गर्नुपर्छ,’उनले भने,‘त्यसका लागि स्रोत साधनको सही परिचालन गर्नुपर्छ । पाठ्यक्रममा केही सुधार गर्नुपर्ने आवश्यकता पनि देखिएको छ ।’

     घर परिवारले नै यहाँ भविष्य छैन भनेर युवालाई विदेश जान बाध्य बनाएको उनको बुझाई छ । ‘यही देशमा सम्भावना खोज्नुपर्छ, हामीले जसरी आफ्नो जीवन बितायौं, यो भन्दा राम्रो जीवन यही बिताउनका लागि मेहनत गर्नुपर्छ भनेर परिवारले सिकाएको छैन । विदेश जानका लागि परिवारबाट दबाब पनि बढ्दो छ,’उनले भने । धवलागिरि बहुुमुखी क्याम्पसले अबको सय वर्षपछि क्याम्पस कस्तो बनाउने अहिले नै योजना थाल्नुपर्ने बताए । 

    ‘यहाँको समाज र समुदायको व्यक्तिले ६२ वर्ष अगाडि यहाँ क्याम्पस आवश्यक छ भनेर जसरी यहाँ क्याम्पस स्थापना गरेर यहाँसम्म ल्याउनुभयो त्यसरी नै अहिलेको क्याम्पसले सयवर्षपछिको क्याम्पस कस्तो बनाउने स्पष्ट कार्ययोजना बनाउनुपर्छ,’उनले भने,‘यो क्याम्पसको नतिजाले विश्वविद्यालयकै गरिमा बढाएको छ । विश्वविद्यालयको पदाधिकारीको रुपमा मैले गर्नसक्ने सहयोग अवश्य गर्नेछु ।’ 

    कार्यक्रममा पृथ्वी नारायण क्याम्पसका प्रमुख प्रा. डा हरिप्रसाद पाठक, जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, नेपाली कांग्रेस जिल्ला कार्यसमितिकी सहसचिव ज्ञानु श्रीष शर्मा, एमालेका उपसचिव धनबहादुर परियार, नेकपा माओवादी केन्द्रका नगर कमिटि अध्यक्ष निर्मल श्रेष्ठ, मानवता पाटीका जिल्ला अध्यक्ष भक्तबहादुर बिकले क्याम्पसको वार्षिकोत्सवको अबसरमा सफलताको शुभकामना दिए ।

    क्याम्पस सञ्चाकलक समितिका अध्यक्ष प्रा.डा. दिनबहादुर थापाको अध्यक्षता, उपप्राध्यापकहरु हिरालाल रेग्मी र हरिप्रसाद पाण्डेयको संचालन तथा क्यामपस प्रमुख सहप्राध्यापक डा. सुर्दशन सिलवालको स्वागतमा सम्पन्न कार्यक्रममा स्ववियु सभापति सुदिप सागर कंडेल, त्रिवि प्राध्यापक संघका सभापति भक्तीराम न्यौपाने, त्रिवि कर्मचारी संघका अध्यक्ष शिवराज पन्त, नेपाल पत्रकार महासंघ बागलुङका सदस्य संगम घर्तीमगर, नेविसंघका जिल्ला अध्यक्ष विशेष पराजुली, अनेरास्ववियुका क्याम्पस इकाइ अध्यक्ष बिनोद कार्की, अखिल क्रान्तिकारीका क्याम्पस इन्चार्ज प्रदिप थापा, अखिल छैठौंकी रेखा शर्मा, अखिल क्रान्तिकारी बहुमतका दिवश खड्का, अखिल क्रान्तिकारी बिप्लब समूहका सुदन बिकले पनि मन्तव्य राखेका थिए ।

    उक्त अबसरमा सेवानिवृत्त कर्मचारी शिवकुमार श्रेष्ठ, जेष्ठताको आधारमा प्राध्यापकतर्फ समाजशाष्त्र विभागका प्रमुख उपप्राध्यापक विश्वबन्धु अधिकारी र कर्मचारीतर्फ लक्ष्मी जैसी, कार्यसम्पादनको तर्फबाट उपप्राध्यापक तिलक कंडेल र कर्मचारीमा कल्पना शर्मा सम्मानित भए । वार्षिकोत्सवको अबसरमा आयोजित विभिन्न खेलकुदका बिजयी खेलाडी, अतिरिक्त क्रियाकलापका उत्कृष्ठ खेलाडीलाई पनि सम्मान र पुरस्कार प्रदान गरिएको थियो । वार्षिकोत्सवकै अबसरमा आयोजित मैत्रीपूर्ण भलिबल प्रतियोगितामा विजयी नेपाल पत्रकार महासंघको टिमलाई पनि पुरस्कार तथा प्रमाणपत्र बितरण गरिएको थियो ।

    २०१९ सालमा रात्रीकालिन क्यामपसको रुपमा स्थापना भएको धौलागिरि बहुमुखी क्याम्पस अहिले स्नातकोत्तर तह सम्मको पढाइ हुने धौलागिरि क्षेत्रकै एकमात्र त्रिविको आंगिक क्याम्पस हो । हाल यहाँ बिज्ञान संकाय र बिबिएतर्फ नेपाल र गण्डकी प्रदेशमा उत्कृष्ठ बन्दै आएको छ भने गतवर्ष विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायन सुनिश्चितता (क्युएए)को प्रमाणपत्र पनि पाइसकेको छ ।

  • सम्बन्धित विषय:

  • # रजिस्ट्रार

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार