खानेपानीकाे अभाव

निसीखाेलाकाे अर्नाकोटमा सधैँ खानेपानीको सास्ती

निसीखाेलाकाे अर्नाकोटमा सधैँ खानेपानीको सास्ती

  • बैशाख १२, २०८२ शुक्रवार
  • ०९:०२:०७ बजे
  • 2.3K
    SHARES
  • निसीखाेलाकाे अर्नाकोटमा सधैँ खानेपानीको सास्ती

    गलकोट (बागलुङ) : बागलुङको निसीखोलाको सिरमा रहेको सुन्दर अर्नाकोट गाउँ प्राकृतिक अनुपमले धनीले छ । प्राकृतिक रुपमा सुन्दर यो गाउँमा खानेपानीको भने ठूलो समस्या छ । स्थानीयले वर्षौदेखि खानेपानीको समस्या भोग्दै आएका छन् । खानेपानीको अभावकै कारण अर्नाकोटवासीहरु गाउँ छोड्न बाध्य छन् । निसीखोला गाउँपालिका–२ देवीस्थानको उच्च भागमा पर्ने अर्नाकोट पर्यटकीय दृष्टिकोणमा महत्वपूर्ण धार्मिक गन्तव्य मानिन्छ ।

    खानेपानीको धारामा हिउँदमा मुस्किलले दुई गाग्री पानी पनि नआउने स्थानीयको गुनासो छ । खानेपानीको समस्या समाधानका लागि अर्नाकोटमा लिफ्ट आयोजनामार्फत खानेपानी वितरण गर्न खोजिए पनि उक्त आयोजनाले पानीको प्यास मेटाउन सकेको छैन । अर्नाकोटमा बाहै्रमास हुने खानेपानीको अभाव हुने गरेका स्थानीय छलविर विकले गुनासो गरे ।

    “खानेपानीको ठूलो समस्या छ, दुई गाग्री पानीले दिनभर कसरी पु¥याउने सरसफाइ र पशुपालनका लागि त खानेपानी पुग्दैन”, ८१ वर्षे विकले भने,  “पानीको कारणले समयमा सुत्नसमेत पाइँदैन, सक्नेहरु त गाउँ छोडेर सहर पसिसके, हामी गाउँ छोड्न सकिएन, बाचुञ्जेल प्रशस्त खानेपानी भएको हेर्नसमेत पाइएन ।”

    छलविर जस्तै नरमती रसाइलीको दैनिकी पानीको जोहो गर्नमै बित्छ । उनले खानेपानी ल्याउनका लागि छिमेकी पालिका ढोरपाटन नगरपालिका–५ स्थित वसन्तधाराको मुलसम्म पुग्ने गरेको बताइन् ।

    “एक/दुई गाग्री पानी आउँछ त्यही पनि कहिले आउँदैन, एक घण्टा हिँडेर पानी बोक्नुपर्ने अवस्था छ, वर्खामा पुरानो धारामा जेनतेन पानी आउने भए पनि हिउँदमा झनै सास्ती हुन्छ”, नरमतीले भनिन्। केही वर्षअघि अर्नाकोटमा लिफ्टिङ प्रविधिबाट ल्याइए पनि पटक–पटक बिग्रिएर समस्या भएको छ ।

    विसं २०४७ मा ल्याएको ल्याएको खानेपानी आयोजनाको मुहान सुक्दा अर्नाकोटबाट हरेक दिन बसाइ सर्नेहरु बढिरहेको स्थानीय ओमबहादुर रसाइलीले बताए। उनले निसीखोलाको पातीहाल्ने नजिकैबाट पानी ल्याउन सम्भव देखिए पनि बजेट अभाव भएको बताए । ढोरपाटन नगरपालिका–५ र निसीखोला–२ मा पर्ने अर्नाकोट क्षेत्रमा करिब चार सय घरधुरी छन् ।

    सबै घरमा खानेपानीको अभाव छ । पानीको जोहो गर्नुपर्ने बाध्यताले पठनपाठन असर गरिरहेको अर्नाकोट माध्यमिक विद्यालयका प्रधानाध्यापक ईश्वर सिर्पालीले बताए । विद्यालयमा पर्याप्त पानी नहुँदा बालबालिकालाई खानेपानीको व्यवस्था गर्न नसक्नुका साथै सरसफाइदेखि स्वास्थ्यका क्रियाकलापसमेत प्रभावित भएको उनको भनाइ छ ।

    उच्च भू–भागमा रहेको अर्नाकोटमा खानेपानी अभाव रहेको बताउँदै मुहानको अभाव रहेको वडाका अध्यक्ष कुविर विश्वकर्माले बताए । “अर्नाकोट बस्तीमा नजिकै पानीको मूल छैन, भएका साना मूल सुके, लिफ्ट आयोजना दीर्घकालीन भएन”, उनले भने, “बस्तीबाट निकै टाढा रहेका मूलबाट अर्नाकोटमा पानी झार्न धेरै बजेट चाहिन्छ, त्यो वडाबाट सम्भव छैन, पालिकामार्फत प्रदेश र सङ्घ सरकारसँग बजेट माग भइरहेको छ ।”रासस

  • सम्बन्धित विषय:

  • # अर्नाकोट
  • # खानेपानीको सास्ती

  • राष्ट्रिय समाचार समिति (रासस)

    राष्ट्रिय समाचार समिति (रासस) नेपालको सरकारी समाचार संस्था हो ।

    सम्बन्धित समाचार