बागलुङ : गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बागलुङमा तेस्रो भएको छ । मंगलबार सम्पन्न प्रतियोगितामा १० स्वर्ण, १० रजत र १० कास्य पदक जित्दै तेस्रो भएको हो । प्रतियोगितामा कास्की प्रथम र म्याग्दी दोस्रो भएका छन् । कास्कीले २७ स्वर्ण, १० रजत र ११ कास्य पदक जितेको छ भने म्याग्दीले ११ स्वर्ण ७ रजत र ९ कास्य पदक जितेको छ ।
तेस्रो भएको बागलुङले उशुतर्फ ५ स्वर्ण, ६ रजत र १ कास्य पदक जितेको छ । तेक्वान्दो तर्फ २ स्वर्ण, २ रजत र ६ कास्य पदक हात पारेको छ । करातेतर्फ १ स्वर्ण, २ रजत र २ कास्य, छात्र कबड्डीतर्फ १ स्वर्ण र एथ्लेटिक्सतर्फ १ स्वर्ण पदक जित्न सफल भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णप्रसाद कँडेलले जानकारी दिए । स्वर्ण जितेका उसुका ५, करातेका १, तेक्वान्दोका २, एथ्लेटिक्स १, छात्र कबड्डीमा ३ र छात्रा कबड्डीमा १ जना गरी बागलुङका १३ जना खेलाडी केन्द्रीयस्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन मंगलबार नै काठमाडौं प्रस्थान गरेका छन् ।
प्रदेश खेलकुद परिषदले आगामी वर्षको गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बागलुङमा गर्ने निर्णय गरेको छ । गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर प्रतियोगिताको समापन कार्यक्रममा आगामी वर्षको प्रतियोगिता बागलुङमा गर्ने घोषणा गरेका हुन् । खेलाडी उत्पादन गर्ने खेलकुदको नर्सरीको रुपमा रहेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता प्रदेशस्तरीय खेल जिल्ला जिल्लामा आयोजना गर्दा यसको थप प्रभावकारी बढ्ने देखिएकाले आगामी वर्ष बागलुङमा गर्ने निर्णय गरिएको सदस्य सचिव शर्माले बताए ।
‘१८ वर्ष मुनिको खेलाडीलाई प्रतियोगितामा सहभागी गराउँदै पालिका तहबाट जिल्ला र प्रदेश छनोट गर्ने र राष्ट्रियस्तरको प्रतियोगितामा पु¥याउने काम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले गरेको छ,’शर्माले भने,‘यो खेलकुद क्षेत्रको नर्सरीको रुपमा रहेकाले जिल्ला जिल्लामा लैजादा अझ बढि प्रभावकारी रुपमा बालबालिका र किशोर पुस्तालाई खेलकुदमा आकर्षित गर्न सकिन्छ र राष्ट्रियस्तरको राम्रो खेलाडी उत्पादन गर्न सकिन्छ भन्ने हाम्रो विश्वास हो ।’
जिल्ला जिल्लामा प्रतियोगिता सञ्चालन गर्दा त्यहाँका खेलकुद पूर्वाधारसंगै पर्यटन प्रवद्र्धनको पनि विकास हुने उनले बताए । ‘प्रदेशभरका ११ जिल्लाबाट झण्डै चौथ पन्ध्र सय खेलाडी जिल्लामा पुग्दा त्यहाँको पर्यटन प्रवद्र्धन र आर्थिक विकासमा पनि टेवा पुग्छ,’उनी भन्छन्,‘यसबाट जिल्लाको खेलुकद पूर्वाधारको विकासमा पनि दबाब पुग्छ । त्यसले गर्दा पनि हामीले जिल्ला जिल्लामा प्रतियोगिता गर्ने भनेका छौं ।’
प्रदेशस्तरको प्रतियोगिता गर्दा ठूलो खर्च लाग्ने त्यसको व्यवस्थापनका लागि बागलुङका समग्र पक्षले अहिलेबाटै ध्यान केन्द्रित गर्न आवश्यक रहेको सदस्य सचिव शर्माको भनाई छ । प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्दा बागलुङ जिल्लाले १५ लाख बढि खर्च जुटाउनुपर्ने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णप्रसाद कँडेलले बताए ।
‘प्रदेशस्तरको प्रतियोगितका लागि ६५ लाख रुपैयाँ भन्दा बढि खर्च हुन्छ, त्यसमा करिब ५० लाख त प्रदेश खेलकुद परिषदमार्फत आउँछ,’उनले भने,‘कार्यक्रमको व्यवस्थापन लगायतका विषयमा खर्च हुने १५ लाख बढि खर्च हामीले जुटाउनुपर्ने हुन्छ । त्यसका लागि हामीले बागलुङका सबै स्थानीय तहलाई विगतदेखि नै जानकारी गराएका छौं । त्यति रकम जुटाउन सकिन्छ भन्ने विश्वास छ ।’
झण्डै डेढ हजार खेलाडीलाई बागलुङमा ल्याएर प्रतियोगिता सञ्चालन गर्न पाउनु समग्र बागलुङकै लागि गौरवको विषय भएकाले स्थानीय सरकारसंगै बागलुङको सबै क्षेत्रबाट सहयोग हुने कँडेलले विश्वास व्यक्त गरे । प्रतियोगिताको लागि अहिलेबाटै तयारी गर्ने योजनामा रहेको उनले बताए ।