बागलुङ : बागलुङको जैमिनी नगरपालिकाले किसानलाई व्यवसायिक पशुपालनमा आकर्षित गर्नका लागि नस्ल सुधार कार्यक्रमलाई सुरु गरेको छ । पालिकाका करिब ९० प्रतिशत किसानले गाईभैँसी पालन गर्दै आए पनि व्यवसायिक रुपमा दूध उत्पादनमा लागेका छैनन् । किसानलाई दूध उत्पादनमार्फत आयआर्जनसँग जोड्न नस्ल सुधार कार्यक्रम सुरु गरेको हो ।
नगरपालिकाले नस्ल सुधार कार्यक्रम सुरु गरेपछि अहिलेसम्म ३३५ गाई र भैंसीमा निशुल्क कृत्रिम गर्भाधान सम्पन्न भइसकेको पशु सेवा शाखा प्रमुख डा. अच्युत आचार्यले जानकारी दिए । नस्ल सुधार कार्यक्रमले पशुपालक किसान उत्साहित भएको उनको भनाइ छ । यो कार्यक्रमले जैमिनीका गाउँ–गाउँमा दूधको उत्पादन वृद्धि हुने र आत्मनिर्भर बनाउने डा. आचार्यल बताए ।
उनका अनुसार जैमिनीमा बर्सेनी करिब ५० लाख लिटर दूध उत्पादन हुँदै आएको छ । यसलाई बढाउने र किसानलाई आयआर्जनसँग जोड्दै जाने गरि यस वर्षदेखि नस्ल सुधार कार्यक्रम सुरु गरेको उनले बताए । नगरपालिकाले नस्ल सुधार कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रु छ लाख विनियोजन गरेको छ । नगरपालिकाभर हाल १५ हजार गाई भैँसी रहेको तर सबै किसानले व्यवसायिक रुपमा दूध उत्पादन नगर्ने डा. आचार्य बताउँछन् ।
उनले भने – “नस्ल सुधार कार्यक्रमले पशुपालक किसानलाई जोड्ने र व्यवसाय र उत्ािलनप्रति आकर्षित गर्छ, यहाँका धेरै किसानले गाईभैँसी पाल्दै आउनु भएको छ, तर नस्ल सुधारतर्फ धेरैको ध्यान गएको छैन, नस्ल सुधारपछि उत्पादन बढ्ने छ, किसानको माग अनुसार अहिले नस्ल सुधार गरि रहेका छौँ ।”
स्थानीय कृषक विकास पौडेलले नगरपालिकाले सुरु गरेको नस्ल सुधारबाट आफूहरुलाई ठूलो टेवा पुगेको बताए । पहिले एउटा कृत्रिम गर्भाधान गराउँदा रु एक हजारदेखि रु एक हजार ५०० तिर्नु परेको भन्दै अहिले नगरपालिकाले निशुल्क सेवा दिएको उहाँको भनाइ छ । नस्ल सुधार कार्यक्रमले आफू जस्ता सयौँ किसानलाई दूध उत्पालन बढाउन सहज हुने पौडेलले बताए ।
नगरपालिकाले किसानका लागि हरेक वर्ष नयाँ कार्यक्रम ल्याउने गरेको छ । गत वर्ष ‘किसान कल सेन्टर’ सञ्चालन गरेको थियो । जसबाट किसानका वस्तुभाउ बिरामी भए फोनबाटै समस्या नगरपालिकामा राख्न सक्थे र उपचारका लागि पशु प्राबिधिक किसानका गोठमै पुग्ने गर्थे । सस वर्ष भने उत्पादनलाई बजारीकरण गर्न कृषि एम्बुलेन्स सेवा सुरु गरेको छ ।