विचार

बुवा, सधैँ रहनुहुनेछ हाम्रो मनमा  

बुवा, सधैँ रहनुहुनेछ हाम्रो मनमा  

  • मंसिर ४, २०८२ बिहिवार
  • १६:०६:५० बजे
  • 3.3K
    SHARES
  • बुवा, सधैँ रहनुहुनेछ हाम्रो मनमा  

    शुभेक्षा पन्त

    मेरो बाल्यकालको एउटा सुन्दर अध्याय भनेको मेरो मामाघर पाङराङ, पर्वत जानु हो । जहाँ म मेरो बुवा र आमासँग रमाउँथे । बुवा पुण्य प्रसाद पाण्डेय १९९६ साल वैशाख ७ गते जन्मनु भएको थियो । उहाँले हाम्रो जीवनमा जसरी उज्यालो भर्नु भयो, त्यो समयको सीमाभन्दा बाहिरको कुरा हो । उहाँ केवल मेरो हजुरबुबा होइन, मेरो जीवनका आदर्श, र माया गर्ने अभिभावक हुनुहुन्थ्यो । उहाँका अस्तित्वले हजारौँ जीवनहरू उज्यालो बनाएको छ ।

    म सानैदेखि बुवाआमासँग बस्न मन पराउथेँ । जब स्कुल बिदा हुन्थ्यो, साथीहरू सहर घुम्न जाँदा, म भने मामाघर जान आतुर हुन्थें । मलाई लाग्थ्यो, मेरा छुट्टीका सबैभन्दा मूल्यवान दिनहरू त्यहीँ बित्थे, जहाँ म बुवाआमासँग हुन्थे, उहाँका जीवनका कथाहरू सुनेर बस्थे । त्यो केवल गाउँ जाने रमाइलो यात्रा थिएन, त्यो आत्मा बटुल्ने यात्रा थियो, जहाँ म जीवन बुझ्थेँ, धर्म बुझ्थेँ ।

    उहाँको व्यक्तित्व माटो जस्तो थियो—सरल, नम्र, तर गहिरो । बुवा बिहान सबेरै उठेर नुहाएर पूजा गर्नुहुन्थ्यो । बुवा सधैं टोपि लगाउनु थियो । बुवा त्यस्ता व्यक्ति हुनुहुन्थ्यो जसको जीवनले शिक्षा दिन्थ्यो । बुवाले गाँउघरमा पनि सबै जानलार्इ मिलाएर राख्नु हुन्थ्यो । धर्मकर्ममा नै रहेर सधै रमाउनु भयो । बुवा त्यस्ता व्यक्ति हुनुहुन्थ्यो, जसको माया केवल परिवारमा सीमित थिएन । उहाँले छिमेकी, आफन्त, र टाढाका नातेदारहरूसम्मलार्इ नि:स्वार्थ सहयोग गर्नुहुन्थ्यो । गाउँका हरेकजना उहाँलाई 'काइलाबुबा' भनेर बोलाउँथे । उहाँको सादा जीवन, उच्च सोच र सदैव सहयोगी भावना हाम्रा लागि पाठ मात्र होइन, आचरणको आदर्श थियो । उहाँ सन्तानको सफलतामा धेरै खुशी हुनुहुन्थ्यो । उहाँको मुस्कानमा यस्तो आत्मीयता थियो, जसले नजिकका मात्र होइन, टाढाका मानिसहरूलाई पनि घरजस्तो अनुभूति दिलाउँथ्यो ।

    जीवन एउटा यात्रा जस्तै हो । कोही लामो यात्रा गर्छन्, कोही छोटो । तर यात्रा लामो वा छोटो हुनुभन्दा महत्वपूर्ण हुन्छ । त्यस यात्राले के छाडेर गयो भन्ने कुरा मेरा हजुरबुबा हाम्रो परिवारका लागि त्यस्तै यात्रु हुनुहुन्थ्यो । जसले जीवनभर संघर्ष, मेहनत र सत्यको बाटो रोज्नुभयो । उहाँको यात्राले हामीलाई शिक्षा, संस्कार र साहसको अमूल्य सम्पत्ति छाडेर गएको छ । हजुरबुबा साधारण ग्रामीण परिवेशमा जन्मिनु भए पनि उहाँको सोच र जीवनशैली असाधारण थियो । उहाँले मेहनत, इमानदारी र आत्मसम्मानलाई जीवनको आधार मान्नुहुन्थ्यो ।

    जीवनमा केही व्यक्ति केवल आफ्ना लागि मात्र होइन, सम्पूर्ण परिवार, समाज र भावी पुस्ताका लागि पनि प्रेरणाका श्रोत बन्नुहुन्छ । बुवा पनि सबैको साथमा मिल्न सक्ने व्यक्तित्व हुनुहुन्थ्यो उहाँको सल्लाह, सहयोग र सद्भाव सधैं अरूको भलाइका लागि हुन्थ्यो । उहाँलाई नातिनातिनीहरूले पढे, केही राम्रो गरे, काम पाए, त्यो देखेर सधैं गर्व लाग्थ्यो ।

    म भाग्यमानी छु किनकि उहाँले हामीलाई सधैं साथ, शिक्षा, आशीर्वाद दिनुभयो । जब म कानुन पढ्न लागे, उहाँले मलाई भनिरहनु हुन्थ्यो, "कानुन पढ्नु राम्रो कुरा हो । यसका लागि धर्मशास्त्र पढ, रामायण, महाभारत पढ, त्यसमा जीवनको न्याय र धर्म दुबै भेटिन्छ । उहाँ हामीबाट टाढा हुनभन्दा एक हप्ता अघि म उहाँसँग कुरा गरेकी थिएँ । म उहाँलाई फोन गरेर सोधेँ, “बुवा, के गर्दै हुनुहुन्छ?” उहाँको आवाज अब हामीले त के गर्न सक्छौं र तिमीहरु राम्रोसँग पढ्, आर्शीवाद छ, कामना गरिरहन्छु ।" उहाँको कामना आज पनि हाम्रो साथमा छ । त्यो क्षण मेरो हृदयमा सदाका लागि अमिट बनेर बस्यो । त्यो वाक्य यति सरल, तर यति गहिरो थियो । उहाँको आशीर्वाद आज पनि हाम्रो छायाँ बनेर साथ दिइरहेको छ । उहाँको त्यो अन्तिम आवाज, त्यो भावना, त्यो आशिष, हामीलाई जीवनभर साथ दिनेछ ।

    केही समय अघि बुवा हामीलाई छाडेर जानु भयो । शरीर अब छैन, तर उहाँको आत्मा हाम्रै वरिपरि छ, हाम्रो सासमा, हाम्रो सम्झनामा, हाम्रो संघर्षमा, हाम्रो सफलतामा । हामी सबैले बुवाबाट जीवनको गहिरो पाठ पाएका छौं । उहाँले देखाएको बाटोमा हिड्नु नै आज हाम्रो कर्तव्य हो । बुवा, हजुरले हामीमा रोपेका मूल्यहरू सधैं बाँचिरहनेछन् । तपाईंको अनुहारको मुस्कान अझै पनि हाम्रो सम्झनामा झल्किन्छ । म जहाँ पुग्छु, तपाईंको माया लिएर पुग्नेछु । हामी तपाईंलाई हरेक दिन सम्झिरहेकान्छौं सम्झिरहने छौं, बुवा हार्दिक श्रद्धासुमन ।


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार