आमाको माया कति हुन्छ
एउटा छोरो भएर हेर
थाहा छैन मेरी आमा
तिमी थला परेकी पनि वर्षौं भयो
सारा संसार डुलाइसकें
तर कहीँ पनि तिम्रो व्यथा पत्तो लागेन
तैपनि तिमी हरेश नखाऊ आमा
आमा ! तिम्रो कसम
छोरो हुनुको नाताले
म आफ्नो कर्तव्य अवश्य पूरा गर्नेछु
तर
यतिखेर समय खराब छ आमा
देश जलिरहेको छ
आकाशमा धुँवा पुत्ताइरहेको छ
मान्छेको घरबार जलेको छ
सिंहदरबार जलेको छ
थाहा छैन
सिंहदरबारको झातीमा आगो झोस्नेहरू को हुन् ?
उनीहरूको अझै पनि पत्तो लागेको छैन
उनीहरू अझै गुपचुप छन् / फरार छन्
देश नै जलाउनेहरूले
आमाको झूपडीमा आगो झोस्न के बेर ?
त्यसैले
आमा तिमीलाई घरभित्र बस भनूँ भने पनि
बाहिरबाट आगो झोस्लान भन्ने डर !
बाहिर पिढीँमा बस भनूँ भने पनि
जिउँदै जलाउलान् भन्ने डर
त्यसैले
म मेरी आमालाई मुटुमा लुकाएर राख्छु / राखेको छु
आमा ! तिमी अहिले नातागत छ्यौ
आऊ मेरो बुई आमा !
म अन्तिम पटक अस्पताल लैजादैंछु तिमीलाई
।।१।।
तिम्रो कोखलाई पनि धिक्कार छ आमा !
कस्ता कुलंघारहरू जन्मायौ तिमीले
तिमीलाई भेट्न
न कुनै छोराहरू आउँछन् न त खबर नै पठाउँछन्
मानौं यी अंश नमिलेका दाजुभाइहरू हुन्
मानौं यी कौरवहरू हुन्
यिनीरू खुसी हुँदा एउटै थालमा खान्छन्
बेखुसी हुँदा त्यही जूठो थालको झटारो हान्छन्
यिनीहरूको कुनै भर छैन आमा
यिनीहरूको लागि प्रत्येक पाँच वर्षमा दशैं आउँछ
तर
आमाको दशा के थाहा यिनीहरूलाई ?
नातिनातिनाहरू सबै विदेश पलायन भैसके
माया त नातिनातिनाहरूले खूब मान्थे तिमीलाई आमा
तर के गर्नु ?
यिनीहरूको हातमा न डाडू छ न त पन्यू नै !
एउटा छोरो थियो
आमाको दूध खाएको जस्तो
उसले आमाको उपचार गर्न सक्थ्यो
तर के गर्नु !
ऊ पनि पिँजडामा कैद छ ।
।।२।।
आमा अहिले आइसीयूमा छिन् अर्थात् सघन कक्षमा
म मेरो मुटु बिक्री गर्न तयार छु
म हजारौं पटक रोएँ / कराएँ / चिच्याएँ
डाक्टर सायब !
मेरी आमालाई जसरी भए पनि बचाउनुहोस् ।
।।३।।