बागलुङ । गण्डकी प्रदेश सरकारले बागलुङका ग्रामीण सडकमा एकैपटक १५ वटा बेलिब्रिज निर्माण गर्ने भएको छ । पक्की पुलको अभावमा वर्षायाममा सवारी आवागमन अवरुद्ध हुने समस्या समाधान गर्न साना तथा मझौला खोलामा बेलिब्रिज बनाउन लागिएको हो ।
चालु आर्थिक वर्षमा पूर्वाधार विकास कार्यालय बागलुङमार्फत निर्माण प्रक्रिया अघि बढाइएको हो । प्रदेश सरकारले प्रत्येक पुलका लागि ४० लाख रुपैयाँका दरले बजेट विनियोजन गरेको आर्थिक मामिलामन्त्री जीत शेरचनले जानकारी दिए ।
अहिले पुल निर्माणस्थलको सर्वेक्षण तथा विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काम भइरहेको छ । डिजाइन र लागत अनुमान तयार भएपछि ठेक्का प्रक्रिया अघि बढाइनेछ । सबै पुलको निर्माण चालु आर्थिक वर्षमै सुरु गरी दुईदेखि तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ ।
योजनाअन्तर्गत निसीखोला गाउँपालिकामा पाँच, ढोरपाटन नगरपालिकामा चार, जैमिनी नगरपालिकामा एक, काठेखोला गाउँपालिकामा तीन तथा गलकोट, तमानखोला र बडिगाडमा एक–एक वटा बेलिब्रिज निर्माण गरिनेछ ।
पूर्वाधार विकास कार्यालयका अनुसार पुल निर्माणपछि जिल्लाका ग्रामीण सडकलाई प्रदेशस्तरीय सडक हुँदै राष्ट्रिय राजमार्गसँग जोड्न सहज हुनेछ । साथै, वर्षायाममा खोलामा पानीको बहाव बढ्दा सडक अवरुद्ध हुने समस्या कम हुने र ग्रामीण क्षेत्रका बासिन्दाले वर्षैभरि यातायात सेवा पाउने अपेक्षा गरिएको छ ।