बागलुङ : लोकमार्ग निर्माण सम्पन्न गर्ने म्याद पटक पटक गुजारेर सडक अलपत्र छोड्दै
आएका निर्माण कम्पनीले बागलुङ—घोडाबाँधे खण्डको पुस्पलाल मध्येपहाडी लोकमार्ग ६ महिना भित्र सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन् ।
जिल्ला प्रशासन कार्यालय बागलुङमा भएको सरोकारवालाबीचको
छलफल तथा बैठकमा निर्माण कम्पनीका प्रतिनिधले लिखित रुपमै ६ महिनाा भित्र लोकमार्गका बाँकी रहेका सबै काम सम्पन्न गर्ने प्रतिवद्धता गरेका हुन् । त्यसका लागि आवश्यक सहयोग समन्वय गरिदिन यहाँको स्थानीय प्रशासन र सरोकावाला निकायलाई आग्रह गरेका छन् ।
बागलुङ—तल्लो बिहुँ खण्डको निर्माण जिम्मा लिएको सिद्धिसाई प्रकाश कन्ट्रक्सन जेभीका आधिकारिक प्रतिनिधि दिपेन्द्र शाही र उपल्लो बिहुँ खण्डका एमपी एसिएफ इसिसी जेभीका आधिकारिक प्रतिनिधि सुर्यबहादुर खड्काले आगामी जेठ भित्रै लोकमार्ग निर्माणका काम सक्ने लिखित प्रतिवद्धता जनाएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानले बताए ।
‘लोकमार्गका निर्माणका क्रममा अहिलेसम्म भएको ढिलाईप्रति आत्मालोचना गर्दै उहाँहरुले अबको ६ महिला भित्रै सम्पूर्ण काम सक्ने लिखित प्रतिवद्धता जनाउनुभएको छ,’ प्रजिअ न्यौपानेले भने,‘यति भएपछि आउने बर्खा अगाडी नै लोकमार्गको बागलुङ—बिहुँ खण्डको काम पूरा हुने विश्वास गर्न सकिन्छ ।’ लोकमार्ग निर्माणका लागि अवरोध भएका ठाउँहरुमा प्रशासन, जनप्रतिनिधि, राजनैतिक दल र यहाँका सरोकारवालाले सहजीकरण गर्ने पनि न्यौपानले बताए ।
‘कतिपय ठाउँहरुमा खानेपानीको पाईपले अवरोध गरेको छ, कच्चा पदार्थको अभाव भएको, घर टहरा हटाउनुपर्ने र सवारी आवागमनको चाप लगायतका समस्याहरुले काममा अवरोध गर्ने कुरा उहाँहरुको छ,’ न्यौपानेले भने,‘त्यसलाई हामीले यहाँका जनप्रतिनिधि, राजनीतिक दल लगायत अन्य सरोकारवालासंग समन्वय गरेर समाधान गरेर काम गर्ने वाताबरण सहज बनाईदिने भन्ने कुरा भएको छ ।’
सडक जेठभित्रै कालोपत्र हुुनेगरी काम गर्न निर्माण कम्पनी तयार रहेको उनको भनाई छ । निर्माण कम्पनीले लोकमार्गको निर्माण ६ महिनामा पूरा गर्ने प्रतिवद्धता जनाएपछि बागलुङ—बिहुँ खण्ड दैनिक ६ घण्टा अवरुद्ध हुने भएको छ । जिल्ला प्रशासन कार्यालयमा भएको सरोकारवालाको बैठकले २० दिनसम्म दैनिक ६ घण्टा सडक बन्द गरेर लोकमार्गको चट््टान कटान गर्ने निर्णय गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालका अनुसार बागलुङ नगरपालिका—३ को बोक्सेगैरा र काठेखोला—१ को अक्षेते बीचमा रहेका चट्टान र पहाड कटान गर्नुपर्ने भएकाले मंसिर २५ देखि देनिक ६ घण्टा सडक बन्द गर्ने निर्णय भएको हो ।
‘२० दिनका लागि चट्टा कटान गर्न बिहान ७ बजेदेखि ९ बजेसम्म र दिउँसो ११ बजेदेखि तीन बजेसम्म सडक अवरुद्ध हुनेछ,’ उनले भने,‘यो क्षेत्रको पहिरो र चट्टान कटान गर्नुपर्ने भएका कारण सडक नै बन्द गर्नुपर्ने अवस्था आएको हो ।’ निर्माण कम्पनीले सडक निर्माणका लागि अप्ठ्यारो रहेको भन्दै प्रशासनमा यो विषयमा जानकारी गराएपछि सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको उनको भनाई छ । लोकमार्ग हुँदै पश्चिम चल्ने र पश्चिमबाट बजार भित्रिने सवारी साधनले वैकल्पिक रुपमा बजार देखि गहते र खहरे हुँदो अक्षेते निस्कने सडक प्रयोग गर्न सक्नेछन् ।
वैकल्पिक सडक सञ्चालनका लागि बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकासंग मध्यपहाडी लोकमार्ग आयोजनाले समन्वय गर्नेछ । पहरा कटान गर्नुपर्ने क्षेत्रमा बागलुङ बजार क्षेत्रमा वितरण भएको खानेपानीको पाईप पनि रहेको हुँदा त्यसमा क्षति नपुग्ने र निरन्तर पानी वितरणको वाताबरण बनाउनका लागि बागलुङ नगर खानेपानी उपभोक्ता संस्थासंग पनि छलफल भएको छ ।
आयोजनाले यस विषयमा खानेपानी उपभोक्ता संस्थासंग समन्वय गरेर अगाडी बढ्ने बताईएको छ । बागलुङ बजार प्रवेश विन्दुहरु खहरे खोला, अक्षेते बजार लगायतका स्थानमा प्रवेश निशेधको तालिका सहितको सूचना बोर्ड राख्ने र स्थानीय प्रशासनले सुरक्षा व्यवस्था मिलाउने सहमति भएको छ । लोकमार्गका नयाँ ट्रयाक खोलिएका ठाउँहरुमा समेत सडक कालोपत्र भैसक्दा पहिलो नै एडिबीले निर्माण गरेको सडकमा कामले गति लिन सकेको छैन । बागलुङ बजार देखि काठेखोला गाउँपालिका बिहुँ घोडाबाँधे खण्डको २५ किलोमिटर सडक पटक पटक अलपत्र छाडेर ठेकेदार हराउने गरेका छन् ।
पटक पटक ताकेत गर्दा पनि निर्माण कम्पनीले राम्रो काम अगाडी नबढाएका कारण यस पटक लिखित प्रतिवद्धता मागिएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वत कुस्माका प्रमुख जयलाल मरासिनीले बताए । ‘६ महिनामा काम सक्ने लिखित प्रतिवद्धता आएको छ,’ उनले भने,‘यो बीचमा पनि काम आगडी बढेन भने कारबाहीको प्रक्रिया अगाडी बढ्छ ।’ लोकमार्गको बागलुङ बिहुँ खण्डमध्ये तल्लो क्षेत्रमा ४९ र माथिल्लो क्षेत्रमा ५५ प्रतिशत काम भएको उनले बताए ।
नेपालको सार्वजनिक खरिद ऐनले काम नगर्ने ठेकेदारलाई कारबाहीका लागि झन्झटिलो र लामो प्रक्रिया अबलम्बन गरेका कारण ठेकेदारहरु विभीन्न बहानामा काम पूरा नगरी हिँड्ने गर्छन् । यो ऐनका कारण सरकार भन्दा ठेकेदार बलियो बनेको भन्दै जनप्रतिनिधिहरुले
यो ऐन संशोधन गर्नुपर्ने आवाज उठाउँदै आएका छन् ।