बागलुङ : नेपालको संविधानले परिकल्पना गरेको संघिय संरचना अनुसार मुलुकमा तीन तहको सरकार छ ।
संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार । यी सबै जनताबाट निर्वाचित जनप्रतिनिधिले चलाईरहेका छन् ।
२०७२ मा नेपालको संविधान जारी गर्ने बेला नेपाली काँग्रेसले सरकारको नेतृत्व गरेको थियो ।
संविधान कार्यान्वयनका लागि लागि नेपालको संरचना अनुसार निर्वाचन हुँदा पनि काँग्रेसले सरकारको नेतृत्व ग-यो ।
तर स्थानीय निर्वाचनमा अधिक जसो स्थानीय तहमा हारमा व्यहोरेको काँग्रेस प्रदेश र संघीय निर्वाचनमा एक तिहाई कम मतमा सिमित हुन पुग्यो ।
स्थानीय तहको अधिकाँस ठाउँ र संघिय तथा प्रदेश सरकारमा नेपाली काँग्रेस विपक्षी दल बन्न पुग्यो । स्थानीय तहमा कानुनले विपक्षी दलको परिकल्पना गरेको छैन । तर प्रदेश सरकार र केन्द्रीय सरकारमा विपक्षी द
हको परिकल्पना भए पनि काँग्रेसले आफुलाई विपक्षी दल माने जस्तो देखिन्न । विपक्षी दलको रुपमा जनताको साथमा रहेका सरकारका कुकर्म र गलत कार्यहरुको भण्डाफोर गर्दै जनतालाई जागरुक गराउने र बाटो देखाउनुपर्ने काँग्रेस आफै कुहिरो भित्रको काग जस्तै भएको देखिन्छ ।
प्रतिपक्षी दलको रुपमा नेपाली काँग्रेसले आफ्नो भूमिका कत्ति पनि निभाउन नसकेको गुनासो जनस्तरबाट मात्रै काँग्रेसकै कार्यकर्ता र नेताबाटै पनि आउने गर्छ । काँग्रेस प्रतिपक्षी भूमिका मात्रै होईन आफनै आन्तरिक पार्टी संगठनलाई जीवन्त राख्ने कुरामा पनि निकै सुस्त छ ।
संघीय संरचना अनुसार बनेका पार्टी संरचनाहरु नाम मात्रैका छन् । महाधिवेसन र अधिवेसन गर्ने समय गुज्रिसकेका छन् । तर त्यसको तयारी समेत काँग्रेसले गर्न सकेको छैन ।
महाधिवेसनपछि पूरा कार्यकाल गुजारेर थप गर्ने अवधी पनि गुजारिसकेका काँग्रेसका केन्द्र देखि जिल हुँदै वडासम्मका संरचनाहरु अहिले पनि चलायमान हुन सकेको देखिन्न । कोभिडलाई कारण देखाउँदै महाधिवेसन पन्छाउँदै आएको काँग्रेसले फागुनमा १४ औं महाधिवेसन गर्ने भनेको छ ।
तर त्यस अनुसारको कुनै पनि तयारी देखिन्न । साधारणतया काँग्रेसमा अधिवेसनका लागि क्रियाशील सदस्य छान्ने चलन छ । क्रियाशील सदस्याको आधारमा वडाबाट क्षेत्रीय प्रतिनिधि छनोट हुन्छन् र उनीहरुले क्षेत्र जिल्ला नेतृत्वसंगै महाधिवेसन प्रतिनिधि र महासमिति सदस्य चुन्छन् ।
फागुनमा महाधिवेसन गर्ने जनाएको काँग्रेसले अहिलेसम्म क्रियाशील सदस्यता समेत वितरण नगर्दा यति कुरा भन्न सकिन्छ कि काँग्रेस नेता कार्यकर्ता नै फागुनमा महाधिवेसन नहुनेमा ढुक्क छन् ।
क्रियाशीलता वितरणको कुरा परै जाओस् कतिपय ठाउँहरुमा क्रियाशील सदस्यताका लागि भर्नुपर्ने फाराम समेत पुगेको छैन । माग अनुसारको क्रियाशील सदस्यता फाराम उपलब्ध नहुँदा नयाँ क्रियाशील सदस्यता सिफारिसको काम हुन नसकेको नेपाली काँग्रेस काठेखोला गाउँपालिका—१ पालाका सभापति खडक थापा बताउँछन् ।
‘पुरानाहरुको क्रियाशील सदस्यता नविकरण गरेर वितरण गरेका छौं,’ उनले भने,‘नयाँ सदस्यताका लागि भने मागे अनुसार फर्म आएको छैन ।
त्यसले गर्दा काम अगाडी बढ्न सकेको छैन ।’ नेपाली काँग्रेस काठेखाला—४ तंग्रामले क्रियाशील सदस्यताको विषयमा निर्णय गर्न एउटा समिति गठन गरेको छ । समितिको बैठक बस्न नसक्दा काम अड्किएको कार्यबाहक सभापति विष्णु आले बताउँछन् ।
‘धेरै जसो पुराना क्रियाशीलहरुको सदस्यता हामी वितरण गरिसकेका छौं,’ आलेले भने,‘केहीको विषयमा भने विशेष निर्णय गर्नुपर्नेछ । हामीले एउटा समिति पनि बनाएका छौं त्यसको बैठक बस्न नसक्दा काम लम्बिएको छ । नयाँको फाराम भर्ने काम पनि भैरहेको छ ।’ नेपाली काँग्रेस बडिगाड गाउँपालिका—३ सिसाखानीले त पुरानाहरुको क्रियाशील सदस्यता समेत वितरण गर्न सकेको छैन ।
‘कोरोनाले गर्दा बेला सहज पनि छैन, पार्टीको बैठक भेला पनि गर्न सकिएको छैन,’ सिसाखानीका पार्टी सभापति दिलबहादुर पुनले भने,‘हालै मात्र तरुणदल महिला संघको भेला गरेका छौं । अब पार्टीको पनि कार्यक्रम गरेर पुरानाको सदस्य वितरण र नयाँ सिफासिर गर्नुपर्ला ।’
पार्टीका माथिल्ला निकायहरुबाट त्यति धेरै ताकेता नभएका कारण पनि वाताबरण अलि सहज हुने अवस्थासम्मका लागि कुरिएको उनी बताउँछन् । ‘माथिबाट पार्टीले पनि खासै ताकेता गरेको छैन,’ उनले भने ।
नेपाली काँग्रेस बागलुङ संघीय निर्वाचन क्षेत्र नम्बर २ का सभापति दोर्ण कुँवरले भने पुरानो क्रियाशील सदस्यता वितरण सकिएको र नयाँ सिफारिसका लागि पार्टीको पालिका स्तरमा आईसकेको दाबी गर्छन् । काँग्रेस जिल्ला सचिव नवराज पौडेल पनि पुरानो क्रियाशील सदस्यता नविकरण भएर सबैको वितरण गरिएको र नयाँका सिफारि आउने क्रम जारी रहेको बताउँछन् ।
‘पुरानोको समस्या छैन, सबै वितरण भैसकेको छ,’ उनले भने,‘नयाँका लागि क्षेत्रीय समिति मार्फत हामीले जिल्लाबाट फारम पठाएका छौं । त्यो भरेर आउनेक्रम जारी छ ।’
नेपाली काँग्रेस जिल्ला सभापति दीपेन्द्रहादुर थापा त यो मंसिर महिना भित्र नयाँ सदस्यता फारम जिल्लामा संकलन गरेर केन्द्रमा पठाईसक्ने दाबी गर्छन् ।
तर वडा सभापतिहरुको कुराले उनको दाबी दाबीमै रहने देखिन्छ । ‘मंसिर मसान्त भित्र हामीले केन्द्रमा पठाउने हो,’ उनले भने,‘त्यो बेलासम्म सबैको आउँछ ।’
फागुनमा महाधिवेसन नहुनेमा भने थापा ढुक्क जस्तै देखिन्छन् । ‘फागुनमा महाधिवेसन हुनका लागि त यो बेला वडा पालिका तहको अधिवेसन सकिएर जिल्ला अधिवेसनको तयारी हुनुपथ्र्यो,’ उनले भने,‘फागुनमै महाधिवेसन हुन्छ हुँदैन त भन्न सकिन्न । हामीले हाम्रो कामहरु भन अगाडी बढाएका छौं ।’
अहिले काँग्रेसको अवस्था हेर्दा केन्द्र देखि गाउँसम्मकै काँग्रेस सुस्त देखिन्छ ।