बाजुरा : बाजुरा जिल्लामा आज राती १२ बजेदेखि लागु हुने गरी निशेधाज्ञा जारी गरिएको छ । विभिन्न जिल्लाहरुमा कोरोना संक्रमण बढिरहेको भन्दै बाजुरामा पनी लकडाउन गर्न निषेधाज्ञा जारी गरीएको हो ।
जिल्ला प्रशासन कार्यालय बाजुराले सुचना जारी गरी सबैले सचेत हुन आग्रह गरेको छ । गृह मन्त्रालयबाट प्राप्त भएको पत्र अनुसार शुक्रबार राती १२ बजेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएको प्रजिअ कृष्ण गैरेले बताए ।
प्रजिअ गैरेका अनुसार कुनै पनि ठाउँमा होली पर्व खेल्न नपाइने भएको छ । त्यसै गरी कोभिड १९ को रोकथामका लागि जिल्लामा भिडभाड, मेला महत्सव जात्रा लगायतका कुनै पनि कार्यक्रम गर्न नपाईने बताइएको छ ।
स्वास्थ्य सुरक्षा, सामाजिक दुरी र स्वास्थ्य मापदण्डको पुर्ण पालना गर्न जिल्ला प्रशासन कार्यालय बाजुराले निर्देशन गरेको छ । नियमको उलंघन गरेको पाईएमा संक्रमक रोग ऐन २०२० बमोजिम कारवाही गरिने बताएको छ ।