बागलुङ : बागलुङको सबैभन्दा दुर्गम मानिएको बोबाङ गाउँ सडकले जोडिएपछि सुगम बन्दै गएको छ । ५/७ वर्ष पहिलेसम्म सडक नपुगेको उक्त गाउँमा अहिले मोटरबाटोले जताततै जोडिएको छ । बुर्तिबाङ बजारदेखि ढोरपाटनसम्म जोडिएको सडकले गाउँको बीच भागबाटै चिरेर गएपछि गाउँको मुहारै फेरिएको छ । सडकले नजोडिदा यस गाउँबाट सदरमुकाम बागलुङ बजार आउन जान ६/७ दिन लाग्ने गथ्र्यो । तर अहिले ३/४ घण्टा मै सदरमुकाम बागलुङ बजार आउन सकिन्छ । यातायातको पहुँच पुगेपछि स्थानीयमा खुसी छाएको छ । उनीहरुको आनीबानीमा परिवर्तन आएको छ ।
मोटर गाडी देख्नको लागि देशका ठूला शहरमा पुगेका स्थानीयहरु दैनिक घर अगाडी गाडी गुड्दा दंग परेका छन् । यातायातको सहजता भएसँगै टाढा–टाढा पुग्न र सामान ढुवानी गर्न सहज भएको छ । सडक नहुँदा यहाँ उत्पादित आलु, भाँगो लगायत उत्पादित वस्तुहरु बोकेरै फेँदीसम्म पु¥याउने स्थानीयको बाध्यता अव हटेको छ ।
बोबाङ गाउँमा विषेश गरि जडिबुटि, भाँगो र भेडाबाख्राहरु, आलु बढि मात्रामा उत्पादन हुने भएकाले सडकले यहाँ उत्पादन हुने उत्पादित वस्तुहरु बजारसम्म पु¥याउन थप सहजता ल्याएको छ । सडक ग्रामीण क्षेत्रसँग नजोडिँदा उत्पादन हुने सामग्रीहरु खेर गएइरहेका थिए । पछिल्लो समय सडक छेउछाउमा बस्ती समेत बढ्न थालेका छन् ।
यसरी बस्ती बढ्दै जाँदा सडक छेउका जग्गाको मूल्य समेत आकासिँदै गएको छ । आफैंमा सुन्दर बोबाङ गाउँ सडकले जोडिएपछि झनै सुन्दर बनेको छ । सडकले यहाँका स्थनीयहरुको जीविकोपार्जनमा पक्कै परिवर्तन ल्याउने छ, तर सडक निर्माणको नाउँमा जथाभावी डोजर चल्दा त्यसले निम्त्याउने विनाश पनि बढ्दै गएको छ । यसतर्फ सम्बन्धित निकायको ध्यान जानु जरुरी छ ।