बुर्तिबाङ : तमानखोला गाउँपालिकामा कोरोना संक्रमणको प्रभाव फेरी बढ्न थालेको छ । गत हप्ता शुन्यमा झरेको संक्रमण दर एकै पटक १७ जनामा पुष्टि भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको
एन्टिजेन्ट परीक्षणमा वडा नम्बर १ बोङगादोभान बजारमा मात्रै १७ जना संक्रमित फेला परेका छन् । प्रहरी, जनप्रतिनिधि लगायत स्थानीय बजारवासीमा कोरोना संक्रमण पुष्टी भएको हो । एकै पटक धेरै जनामा संक्रमण बढेपछि कोभिड संक्रमण दर वृद्धि हुन थालेपछि गाउँपालिकाले शुक्रबारदेखि
आगामी १७ गते राती १२ बजेसम्मका लागि बजार पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास लम्सालले बताए । वडा नम्बर १ बोङगादोभान बजारमा मात्रै १७ जना र वडा नम्बर ४ मा १ जना गरी हाल १८ जना सक्रिय संक्रमित छन् ।
संक्रमण रोकथामका लागि होटल, पसल, व्यवसाय बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको केन्द्र रहेको बोङगादोभान बजारमा पछिल्लो समय चहलपहल बढ्न थालेको थियो ।
