सुरेश छन्त्याल
बागलुङ : अविरल वर्षा कारण गलकोट नगरपालिका—१० पाण्डवखानीमा विभिन्न स्थानमा पहिरोले क्षति पु-याएको छ । पाण्डवखानीमा रहेको मुखानखोलामा पहिरोले खानेपानीको पाईपमा क्षति पु-याएपछि गलकोट नगरपालिका—११ रिघामा खानेपानीको समस्या भएको छ ।
पाण्डवखानीको सोरमने र अँधेरीखोलामा रहेको खानेपानीको पाइपमा पहिरोले क्षति पु-याएको हो । पहिरोका कारण खानेपानी अवरुद्ध भएपछि गलकोट नगरपालिकाकी उपप्रमुख रेनुका काउचा, गलकोट नगरपालिकाका सब ईन्जिनियर पवन ओली, पाण्डवखानीका वडा अध्यक्ष तिलक घर्ती, उपभोक्ता समितिका अध्यक्ष तारा श्रीस, कोषाध्यक्ष झम काउचा, पत्रकार सुरेश छन्त्याल, स्थानीय चन्द्र श्रीस लगायतको टोलीले खानेपानी अवरुद्ध भएको स्थानको अवलोकन गरी क्षतिको अवस्था बारेमा बुझेका छन् ।
टोलीले विवरण संकलन गर्ने कार्य जारी रहेको के कति क्षति भयो भन्ने पुरै विवरण आउन बाँकी रहेको खानेपानी उपभोक्ता समितिका कोषाध्यक्ष झम काउचाले बताए । अवरुद्ध भएको खानेपानीलाई छिटो सुचारु गर्नका लागि गलकोट नगरपालिका सक्रियता साथ लागेको उपप्रमख रेनुका काउचाले बताईन् ।
टोलीले पाण्डवखानीमा निर्माण भैरहेको खेलमैदानको पनि अनुगमन गरेको छ । पाण्डवखानीमा संसद विकास कोषबाट १० लाख, गलकोट नगरपालिकाबाट २ लाख ५० हजार र १ लाख ६० हजार श्रमदानबाट उक्त खेलमैदान निर्माण कार्य जारी रहेको घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्च पाण्डबखानीका सचिव दिप घर्तिले बताए ।