रुद्रबहादुर विक
बागलुङ जिल्लाको दक्षिण भेग जैमिनी नगरपालिका–१० राङखानी, वडा नम्बर ७ जैदी र वडा नम्बर ८ छिस्तीको संगम स्थलमा पर्ने हाँडीकोट समुन्द्र सतहदेखि २१ सय ९५ मिटर उचाइमा अवस्थित छ ।
हाँडीकोट आफैमा मनोमहक ठाँउ हो । विशेष गरेर यो क्षेत्र दृष्य अवलोकनको लागि अत्यन्त महत्वपूर्ण छ । यस ठाउँबाट खासगरी आकर्षक सूर्योदय देख्न सकिन्छ । सुन्दर हिममालको दृश्यले जो कोहीको मन लोभ्याउँछ । हाँडीकोटबाट अन्नपूर्ण, माछापुच्छ«े, निलगिरी र धौलागिरि लगायतका सुन्दर हिमालहरु देख्न्न सकिन्छ ।
यस हाँडीकोटवाट पाल्पा, गुल्मी, बागलुङ, पर्वत, म्याग्दी, स्याङजा र कास्की जिल्ला लगायतका जिल्लाका विभिन्न रमणिय ठाउँहरुको दृश्य अवलोकन गर्न सकिन्छ ।
९० हेक्टर जमिनमा फैलिएको हाँडिकोट जडिबुटीको लागि समेत अत्यान्त सम्भावनायूक्त ठाँउ हो । यस क्षेत्रमा खासगरी सतुवा, पाँचऔले, चिराइतो, रक्तमुल, भुत्केसर पहेले लगायतका दर्जनौ प्रकारका जडिबुटि पाईन्छन । त्यसैगरी यस क्षेत्रमा वन्यजन्तुको समेत राम्रो उपस्थिति रहेको छ ।
जसमा चितुवा, मृग, कालिज, भालु, दुम्सी, फ्याउरा, बाँदर र स्याल जस्ता वन्यजन्तुहरु पाईने भएकाले यस क्षेत्रलाई पर्यटनको क्षेत्रमा थप आकर्षित गर्न मद्दत पुगेको छ ।

यस क्षेत्रमा विभिन्न प्रजातिका बोटविरुवा समेत पाईन्छ जस अन्तरगत लालीगुराँस, खस्रु, झ्यानो, सल्ला र दवदवे लगायतका बोटविरुवाहरु पाईन्छन् । चैत वैशाखतिर हाँडिकोटमा लालीगुराँस फुल्दा यहाँको वातावरणीय सौन्दर्यता झनै मनमोहक हुन्छ ।
यस सिजनमा बाह्य भन्दा आन्तरिक पर्यटकहरु ठूलो संख्यामा आउने गर्दछन ।
हाँडिकोटको प्रचार प्रसार गरी यसलाई मुख्य पर्यटन गन्तव्य बनाउनको लागि सामुदायिक हाँडिकोट विकास समिति निर्माण गरी यस यस क्षेत्रको प्रचार प्रसार गरी आन्तरिक र बाह्य पर्यटकहरुलाई आकर्षण गर्न बेला बेलामा हाँडिकोट महोत्सव लगाउने गरेका छन् जसमा विभिन्न खालका स्थानीय स्तरमा चलन चल्तिमा रहेका झाँकी प्रदर्शन खेलकुद तथा राष्ट्रिय स्तरका कलाकार उपस्थिति समेत गराउने गरेका छन् । यी र यस्ता खालका कार्यक्रमहरुले पर्यटक भित्राउनमा ठूलो सहयोग पुगेको छ ।

हाँडिकोटको पर्यटन विकासका लागि चाहिने आवश्यक पूर्वाधारहरु समेत निर्माण हुने क्रममा छन् ।
जस अन्तर्गत व्यारथलाबाट उक्त हाँडिकोटसम्म पुग्न हाल ४६५ वटा ढलान सिँडिको पदमार्ग निर्माण भई सकेको छ अझै थप बन्ने क्रममा रहेका छन् । हाँडिकोटमा हाल मन्दिर समेत निर्माणाधिन अवस्थामा छ । धर्मकर्ममा आवस्था राख्ने पर्यटनहरु त्यस ठाउँमा गएर पुजा आजा समेत गर्न पाउने गरी मन्दिर निर्माण गर्न लागिएको हो ।
हाँडिकोटबाट दृश्य अवलोकन गर्न थप सजिलो बनाउनको लागि प्रदेश र जैमिनी नगरपालिको आर्थिक सहयोगमा भ्यूटावर समेत निर्माण कार्य अगाडि बढेको छ ।