images
images

धौलागिरि अस्पतालमा एम्बुलेन्स किन्न मन्त्रालय बाधक

धौलागिरि अस्पतालमा एम्बुलेन्स किन्न मन्त्रालय बाधक

  • आश्विन ५, २०७८ मंगलवार
  • १८:१४:०६ बजे
  • 2.4K
    SHARES
  • धौलागिरि अस्पतालमा एम्बुलेन्स किन्न मन्त्रालय बाधक

    बागलुङ : स्वास्थ्य मन्त्रालयले खरिद अनुमति नदिएपछि धौलागिरि अस्पताल बागलुङमा सुविधासम्पन्न एम्बुलेन्स किन्ने योजना अलपत्र परेको छ ।

    धौलागिरि अस्पतालका लागि बी क्लास सुविधायुक्त ट्रमा एम्बुलेन्स किन्न वैशाखमा अस्ट्रेलियामा रहेका बागलुङेले २८ लाख रुपैयाँ संकलन गरी पठाएका थिए । रकम प्राप्त भएपछि एम्बुलेन्स खरिद प्रक्रिया सुरु गरेर स्वास्थ्य मन्त्रालयमा अनुमतिका लागि पठाएकोमा मन्त्रालयले अनुमति नदिएपछि एम्बुलेन्स खरिद प्रक्रिया अलपत्र परेको धौलागिरि अस्पताल विकास समितिका अध्यक्ष केवी रानामगरले बताए ।

    एम्बुलेन्स खरिदका लागि कम्पनीलाई पेश्की समेत पठाएर बागलुङ नगरपालिका तथा गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको सिफारीस सहित स्वास्थ्य मन्त्रालयमा कर छुटका लागि निवेदन दिएकोमा मन्त्रालयले अनुमति नदिएको उनको भनाइ छ । 

    ‘अस्टे«लियामा बसेका बागलुङे दाजुभाइ दिदी बहिनीले आफ्नो गास काटेर पठाएको पैसाबाट हामीले एम्बुलेन्स किन्ने प्रक्रिया सुरु गरेका थियौं,’ उनले भने,‘एम्बुलेन्सै भेन्टिलेटर र स्वास्थ्यकर्मी समेत राख्न मिल्ने गरी सुविधा सम्पन्न एम्बुलेन्स २८ लाखमा किन्न सकिन्छ भन्ने भएपछि अस्ट्रेलियाबाट पैसा पनि आएको थियो । तर काम हुन सकेन ।’

    स्वास्थ्य मन्त्रालयले फोर ह्वील मात्रै एम्बुलेन्स खरिद गर्नुपर्ने भन्दै अनुमति नदिएको उनले बताए ।

    ‘हामीले किन्न लागेको फोर्स कम्पनीको टु ह्वीलर एम्बुलेन्स थियो, तर स्वास्थ्य मन्त्रालयले फोर ह्वीलर बाहेके एम्बुलेन्स किन्न मिल्दैन भनेर अनुमति दिएन,’ उनले भने,‘त्यही सुविधा सहितको फोर ह्वीलर एम्बुलेन्स किन्न महङ्गो पर्ने रहेछ । हामीले किन्न सकेनौं ।’ 

    फोर्स कम्पनीले २८ लाखमा दिने भनेको जत्तिकै सुविधा भएको अर्को कम्पनीको एम्बुलेन्स किन्न ५५ लाख पर्ने भएकाले त्यसका लागि बजेट थप गरिदिन मन्त्रालयलाई भनेपछि हुन्छ भन्ने आश्वासन आएको तर काम अगाडि नबढेको उनको भनाइ छ ।

    ‘हामीले हेरेको एम्बुलेन्स टु ह्वीलमा मात्रै उपलब्ध रहेछ, अर्को कम्पनीका किन्दा त्यत्तिकै सुविधाको एम्बुलेन्स ५५ लाख पर्ने भयो,’ उनले भने,‘त्यसरी किन्न मिल्दैन भने हामीले तपाईंहरुले भनेकै किन्छौं अपुग रकम थपिदिनुहोस् न त भनेर स्वास्थ्य मन्त्री, सचिव र विभागीय प्रमुखहरुलाई भन्यौं । आश्वासन त आयो तर काम भएन ।’ स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा तत्काल काम गर्नुपर्नेमा चार महिनासम्म सरकारले बेवास्ता गरेको उनको भनाइ थियो । 

    ‘हामी रकम थपिदिन्छौं भन्ने कुरा भएको थियो तर अहिले त कुनै दाताले अनुदानमा दिएको एम्बुलेन्स बागलुङलाई उपलब्ध गराउने भन्ने आशयको पत्र पो आएको छ,’ रानाले भने ।

    सरकारले अनुमति नदिएपछि कम्पनीलाई दिएको पेश्की फिर्ता लिएको रानाले जानकारी दिए ।

    सुविधा सम्पन्न एम्बुलेन्स नहुँदा अहिले अस्पतालमा आएका गम्भीर प्रकारका बिरामीहरु रिफर हुन नसकेर मृत्यु कुरेर बस्नुपर्ने अवस्था भएको अस्पताल विकास समिति सदस्य शालिकराम शर्माले बताए । ‘कोभिडको समयमा हामीले ठूलो समस्या झेल्यौं, यहाँ बिरामीको उपचार हुन नसक्ने अवस्था हुँदा, हेलि प्रयोग गर्न अक्सीजनको मात्रा नपुग्ने र सडकबाट अक्सीजन स्वास्थ्यकर्मी सहित रिफर गरेर पठाउन सक्ने एम्बुलेन्स नहुँदा हामीले मृत्यु कुराएर बिरामी राख्न बाध्य भयौं,’ शर्माले भने । अहिले बागलुङमा १४ वटा एम्बुलेन्स भए पनि सहज पहुँचमा नभएको उनले बताए ।

     ‘सामान्य एम्बुलेन्स बागलुङमा छन् तर बिरामीको पहुँचमा छैनन्, हामीसंग भएको एम्बुलेन्स पुरानो भएको छ कतिबेला समस्या भएर धोका दिन्छ थाहा हुँदैन,’ उनले भने,‘रेडक्रसको एम्बुलेन्समा सधैं ड्राइभरको समस्या हुन्छ ।

    अरु एम्बुलेसन्स सहज पहुँचमा छैनन् ।’ अहिले धौलागिरि अस्पतामा दैनिक १०÷१५ जना रिफरका बिरामी आउन गरेकोमा जम्मा ४÷५ जनाले मात्रै एम्बुलेन्समा आउने गरेको उनको भनाइ छ । नागरिकको जीवन रक्षाका स्वास्थ्य उपकरण र स्वास्थ्यकर्मी समेत राख्न मिल्ने एम्बुलेन्स किन्ने आफुहरुको प्राथमिकता रहेको उनले बताए । ‘जीपजस्तो एम्बुलेन्स  १२ लाखमै पाइन्छ, त्यो किनेर काम नै छैन,’ उनले भने,‘अप्ठ्यारोमा काम नलाग्ने एम्बुलेन्स किनेर के काम ?’

    धौलागिरि अस्पताल विकास समिति सदस्य गिता शर्मा, युवराज राजभण्डारीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रका बारेमा सरकार संवेदनशील हुन नसकेको बताए । 

     

    सम्बन्धित समाचार