images
images

एम्बुलेन्स खरिद

पश्चिम बागलुङका लागि आयो एम्बुलेन्स

पश्चिम बागलुङका लागि आयो एम्बुलेन्स

  • मंसिर २५, २०७७ बिहिवार
  • १६:२०:४८ बजे
  • 17.6K
    SHARES
  • पश्चिम बागलुङका लागि आयो एम्बुलेन्स

    बागलुङ : पश्चिम बागलुङको जनताको सेवाका लागि एम्बुलेन्स खरिद भएको छ ।

    गरिबी निवारणका लागि वाताबरणीय स्वास्थ्य शिक्षा रेडियो ढोरपाटनको पहलमा प्रभु ग्रुपका अधयक्ष देवीप्रसाद भट्टचन, ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा नेपाली काँग्रेस क्षेत्र नम्बर २ को आर्थिक सहयोगमा एम्बुलेन्स खरिद भएको हो ।

    एम्बुलेन्स नहुँदा पश्चिम बागलुङका जनताले सास्ती पाएकाले एम्बुलेन्स किन्न पहल गरेको रेडियो ढोरपाटनका अध्यक्ष दोर्ण कुँवरले बताए ।

    ४० लाख मूल्य पर्ने एम्बुलेन्स राजस्व छुटमा ११ लाख ५७ हजारमा खरिद गरिएको कुँवरले बताए । एम्बुलेन्स नेपाल सरकारको नियमानुसार गरिबी निवारणका लागि वाताबरणीय स्वास्थ्य शिक्षा रेडियो ढोरपाटनले सञ्चालन गर्ने कुँवरले बताए ।

    ‘पश्चिम बागलुङमा एम्बुलेन्स नहुँदा त्यस क्षेत्रका जनताले स्वास्थ्य सेवा पाउनका लागि निकै सास्ती खेप्नु परेको थियो,’उनले भने,‘हामीले पहल गरेर प्रभु ग्रुपका अध्यक्ष र ग्लोबल आईएमईका अध्यक्षको सहयोगमा नेपाली काँग्रेसको क्षेत्रीय समितिले समेत गरेर एम्बुलेन्स किन्ने काम भएको छ । शुक्रबारसम्म एम्बुलेन्स बुर्तिबाङ पुग्छ ।’ सरकारले तोकेको मापदण्ड अनुसार पश्चिम क्षेत्रका जनतालाई सहज र सरल सेवा प्रवाह गर्ने कुँवरले बताए ।

    उक्त एम्बुलेन्सको चापी बिहीबार प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचन र ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले कुँवरलाई हस्तान्तरण गरेका छन् । एम्बुलेन्स पश्चिम क्षेत्रका नागरिकलाई निकै सहज हुने बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्ल बताउँछन् ।

    ‘यहाँको एम्बुलेन्स विगत एक वर्ष देखि बिग्रेर बस्दा निकै समस्या भएको थियो,’ उनले भने,‘त्यो बनाउन निकै महङ्गो पर्ने भएपछि त्यत्तिकै थियो । एम्बुलेन्स आउने भएपछि सबैलाई सहज हुने भो ।’ पश्चिम बागलुङको ढोरपाटन, निशीखोला तथा तमानखोला क्षेत्रमा एम्बुलेन्स नहुँदा निकै समस्या हुने गरेको बताए ।

    आफुलाई जानकारीमा आएसम्म ढोरपाटन नगरपालिकाबाट समेत एम्बुलेन्स खरिदको प्रक्रिया अगाडी बढेको उनको भनाई छ । ‘ढोरपाटन नगरपालिकाबाट पनि एम्बुलेन्स किन्ने कुरा भएको भन्ने जानकारी छ,’ उनले भने,‘उताबाट पनि आएछ भने दुई वटा हुँदा यहाँको जनताले राम्रै सेवा पाउनेछन् ।’

    पश्चिम बागलुङको केन्द्र बुर्तिबाङ रहेकाले दुई वटा एम्बुलेन्स आवश्यक रहेको पनि उनले बताए । 

    सम्बन्धित समाचार