विचार

पर्यटकीय गाउँ लमजुङको घनपोखरा 

पर्यटकीय गाउँ लमजुङको घनपोखरा 

  • चैत्र २८, २०७८ सोमवार
  • ०७:३९:३५ बजे
  • 3.5K
    SHARES
  • पर्यटकीय गाउँ लमजुङको घनपोखरा 

    सरोजराज पन्त
    सगरमाथाको देश, बुद्धको देश र विविधताको देश नेपाल आर्थिक रुपले गरीब भएतापनि प्राकृतिक, सामाजिक, सांस्कृतिक धार्मिक तथा भाषिक विविधताले अत्यन्तै धनी छ । नेपाल भौगोलिक विविधता र प्राकृतिक सम्पदाले विश्वमै अनुपम देश हो । यहाँ अनेक जातजाती र आ–आफ्नै संस्कृति र परम्पराहरु रहेका छन । विविध भाषा, कला, रीीतरिवाज, रहनसहन आदि  र प्राकृतिक सम्पदाले धपक्क बोलेको नेपाल चारैतिर सेतै मुस्कुराउने हिमश्रृखलाहरु, कलकल झर्ने झरनाहरु, शिरशिरे बताससँगै दुनियालाई आर्कर्षित गरेका छन । हरिया जंगलका दृश्यहरु, कोइलीले विरह गाउने रुखका कोप्चाहरु, कतै खरैखरका साना झुपडीहरु, कतै आकाशे मलहहरु तथा विभिन्न संस्कृतिले झकिझकाउँ र नौलो पहिचान बोकेको छ ।

    भौगोलिक हिसाबले नेपाल हिमाल, पहाड र तराई गरी तीन भागमा विभाजित छ । प्रशासनिक तवरले सात प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय सरकारमा विभाजन गरिएको छ । लमजुङ जिल्ला ऐतिहासिक, पुरातात्विक, संस्कृति पर्यटन र धार्मिक स्थलका रुपमा प्रख्यात रहेको छ । शाहबंशी राजाहरु यशोवर्मा शाह, नरभुपाल शाह, द्रव्य शाहले शासन गरेको लमजुङ दरवार, पुरानो कोट, सिन्दुरे ढुंगा, जिताकोट, कुुन्छागढी, राईनासकोट, भुजुङ घले गाउँ इलमपोखरी आदिका कारण यो जिल्ला पर्यटकीय धार्मिक, सांस्कृतिक, धार्मिक पर्यटन, पर्यापर्यटन, एक्सपिडिसन, प्याराग्लाइडिङ, ¥याफ्टिङ, हनि हण्टिङ,  बन्जी जम्पिङ, ट्रेकिङ माउण्टेनिङ लगायतका प्रसस्त सम्भावनाहरु रहेका छन । घनापोखरामा आदिम कालदेखि मानिसहरु बसोबास गर्दै आएको पाइन्छ । 

    यस गाउँमा आएका परिवर्तनहरु 
    कच्ची सडक भए पनि सामान ढुवानी आवत जावतमा क्रमशः सुधार हुँदै आएको छ ।  होमस्टेबाट रोजगार प्राप्त भैरहेको छ । खेतीपाती गर्न पशुपालन भेडीगोठ आदीबाट आम्दानी गर्न सहज बन्दै गएको छ । उत्पादनमा वृद्धि आधुनिक प्रविधिबाट खेतीपाती, आधुनिक मल विऊ आदीबाट उत्पादनमा वृद्धि हुँदै आएको पाइन्छ । स्वरोजगार र आत्मनिर्भर बन्न सहज भएको छ, होमस्टे, कृषि, पशुपालन, कुखुरापालन, मौरीपालन आदीबाट रोजगार र आत्मनिर्भर बन्न सहज भएको छ । वस्ती व्यवस्थापनमा सहज भएको छ । विद्युत खानेपानीको उपलब्धताले जीवनस्तरमा सहज पहुँच बन्दै गएको छ । लैङ्गिक समानता, श्रम विभाजन निर्णयकारी भूमिकामा परिवर्तन हुँदै आएको छ । पर्यटकको आगमनमा वृद्धि हुँदै आएको छ ।

    आन्तरीक र बाह्य पयृटकका कारण मानिसको जीवनस्तरमा सुधार हुँदै आएको छ । संस्कृतिको आदान प्रदान गर्न सफल भएको छ । शिक्षा क्षेत्रमा र सामूहिक परिचालनको क्षेत्रमा क्रमशःसुधार हुँदै आएको छ । राजनीतिक सचेतनामा वृृद्धि भएको छ । यहाँ पुरुषको तुलनामा महिलाहरु सक्रिय देखिन्छन् । महिला सक्रिय भएर लागेका कामहरु पूरा हुँदै आएका छन् । आयआर्जनमा वृद्धि हुँदै आएको छ । जसले गर्दा स्वदेशमै बसेर पनि केही गर्न सकिन्छ भन्ने भावनाको विकास हुँदै आएको पाइन्छ । जनसंख्या वृद्धि दरमा कमी भएको छ । 

    स्थानीय गुम गुरुङ बर्ष ४५ का अनुसार सत्र घर परिवारले होमस्टे सन्चालन गरेका र तीनवर्ष देखिको विश्वव्यापी कोभिड १९ को असर यहाँ परेको छ । व्यवसायिक रुपमा सात वर्षदेखि होमस्टे सुरु भएको पहिलो एक्यापले गरेको र अहिले समुदायले संन्चालन गरेको छ । पहिले बिदेशी आउने गरेकोमा अहिले स्वदेशी बढी आउने गरेका छन । सडकको समस्याका कारण जेठ देिख भदौसम्म यातायात ठप्प हुने गरेको छ । आलु र सिस्नु यस गाउँबाट बाहिर जानेगरेको छ । कास्कीको मादीबाट यहाँ गुरुङ जाति आएको तर सात पुस्ता भन्दा अरु थाहा नभएको अबस्था छ । अहिले घनापोखरी वडा भरि १२० घरधुरी  रहेका छन ।

    स्थानीय कमल गुरुङ वर्ष ३० ले संघीयतामा मानिसले धेरै अपेक्षा गरेको तर संघीयताबाट अपेक्षाकृत काम नभएकोले स्थानीयवासी उत्साहित नभएका बताउनु हुन्छ । स्थानीय दिलमाया गुरुङ अहिलेसम्म पनि अरुलाई नाम र उमेर भन्न नहुने भनेमा आयु घटने बताउँनु हुन्छ । उमेर नबताए पनि ७० बर्ष पार गरिसकेकी भएपनि सोही कारणले बृद्धभत्ता लिन सकेकी छैनन । दिल माया गुरुङ  ऊनबाट बख्खु बनाउने काममा लागेर आठदस हजारमा बिक्री गरी जिविको पार्जन गर्नुहुन्छ । गाउँमा उहाँ जस्तै राडी, पाखी, बख्खु बुन्ने काममा बुढी आमाहरु तल्लिन हुनुहुन्छ । बख्खु, राडी बुन्न २– ३ दिन लाग्ने गरेपनि भेडाको उन कात्न भने धेरै समय लाग्नाले दुख हुने बताउनु हुन्छ ।

    स्थानीय चिचिला गुरुङ बर्ष ७१ कृषि पेशा, पशुपालनमा संलग्न हुनु हुन्छ । श्रीमान भारतीय सेनामा लाहुरे भएकोले पहिले भारतका बिभिन्न स्थानमा घुमेको र अहिले आफनो गाउँको तथा जग्गाको मायाले काम गर्नै गरेको बताउनु हुन्छ । गाउँमा सबै गुरुङ भाषा बोल्ने घाटु चरित्रमा टाढा–टाढाबाट आफन्त जन आउने रमाइलो हुने गरेको बताउनु हुन्छ । दश बाह्र बर्ष पहिलेसम्म रोधी देखि प्रचलनमा रहेको भएपनि अहिले हराएको छ । दिनभर काम गरेर रातभर केटाकेटी जम्मा भएर रोधीघरमा जाने रोधीमा नाच्ने गाउने  र केटी मान्छे रोधीमा गएर बस्ने केटाहरु आए र रमाइलो गर्ने राती त्यही सुत्ने वा घर जाने रमाइलो गर्ने गरिन्थ्यो । अहिले शिक्षाको कारण यो हटेको हो ।

    विकास अपेक्षा अनुरुप हुन नसकेको उहाँले भन्नुभएको छ । गाउँमा विकासका काम पूरा भएको छैन । एक घर एक धारा पूरा भएन धारा छ पानी छैन । मोटरबाटो राम्रो भएन । यहाँको आलु, मुला, सिस्नो, रायोसाग, बोडी, लसुन अति पर्यटको खोजीका सामान हुन ।उहाँले बसाइ सराइको असर गाउँमा परेको केटो मान्छे बिदेश जाने र बुहारी छोरा छोरी पढाउन भन्दै बेसी शहर, पोखरा, काठमाडौं जानाले र धनीमानी उतै घर बनाएर जानाले गाउँ उजाड भएको छ । उहाँका छोराबुहारी पनि काठमाडौंमा छोराछोरी पढाउन गएका छन । धनीहरु बसाइँ सरेर गए गरिबहरु यहाँ छन् नाम कमाउन छोडेर धन कमाउन शहर गएकोमा उहाँ दुखि हुनु हुन्छ । मागी विवाह भएकी चिचिला पहिले केटाले केटी फकाउने गरेकोमा अहिले केटीले केटा फकाउँछन् यस्तो परिवर्तन आयो अचम्म छ भन्नु हुन्छ ।


    गुरुङ जातिको उद्गमस्थल लमजुङको घनपोखरामा पहिलो पटक मोटर पुगेको छ । सदरमुकाम बेसीशहरदेखि उत्तरी लमजुङको खुदी, सिम्पानी, भाचे, नाँयू हुँदै घनपोखरा गाउँमा मोटर पुगेको हो । झण्डै २० किलोमीटरको सो सडक खण्डमा यसअघि खुदीको झण्डै साढे ७ किलोमीटरसम्म मोटर गुडेको थियो । गाउँमा पहिलोपटक पुगेको मिनिवसलाई स्थानीय तमू जनजागृति आमा समूहको सक्रियतामा स्थानीयवासिन्दाले भब्य स्वागत र अविरजात्रा गरेकाछन् । गाउँमा मोटर पुगेको खुसीयालीमा स्थानीयवासिन्दाले भोजभतेर गरेर नाचगान गरि खुसीयाली मनाएका खुदी–सिम्पानी–घनपोखरा मोटरवाटो निर्माण तथा उपभोक्ता समितिका सचिव कृष्ण विकले बताउनु भयो ।

    चुनौतिहरु 
    यहाँ विद्युत, सञ्चार, खानेपानीको समस्या रहेपनि विकासका सबै पूर्वाधारको व्यवस्था हुन सकेको छैन । घनापोखरामा रहेका समस्याहरु यस प्रकार छन् :- पूर्वाधारको कमी, यातायात, शिक्षाको क्षेत्रमा समस्याहरु रहेका छन् । व्यावसायिक ज्ञान, सीप, क्षमता र दृष्टिकोणको कमी यस क्षेत्रमा रहेको छ  । प्रचार प्रसार र समन्वयको कमी यस गाउँमा देखिएको छ ।  फोहोर मैला व्यवस्थापन र सामूहिक सरसफाईको स्तर न्यून रहेको छ । स्थानीय वस्तु, सामग्रीको प्रयोग कम हुने गरेकाले निर्यात भन्दा आयात बढी हुने गरेको छ । शिक्षाको कमी रहेको यस गाउँको साक्षरता दरमा क्रमशः सुधार भए पनि यथोचित सीपमा सुधार भएको छैन । परम्परागत जीवन शैली भएकोले जीवन पद्धतिमा व्यापक परिवर्तन भएको छैन । गरीब तथा सीमान्तकृत वर्गमा चेतनाको अभाव छ । सुविधाको पहुँचमा असमानता रहको छ । टाढाबाट अगाडी रहेकोले असमानता देखिन्छ ।

    स्थानीय उत्पादनको सदुपयोगरी होमस्टेमा नयाँ स्वाद दिन लगायत काममा दुरदृष्टी पुग्न नसक्नु, सेवा प्रवाहमा कमी, आधुनिक वस्तु सेवाको प्रभाव कम रहेको छ । बसाइसराइका कारण स्थानीय भाषा, संस्कृति भेषभूषा, नृत्य आदी लोपोन्मुख अवस्थामा रहेका छन् । युवावर्गलाई आकर्षण गर्न नसक्नु, युवा पलायनको समस्या यहाँ रहेको छ । विपद् र जोखिम व्यवस्थापन योजना अनुरुप संचालन हुन नसक्नु । स्थानीय स्रोत साधन जडिबुटी आदीको उचित प्रयोग व्यवस्थापन र संरक्षण हुन नसक्नु । सामूहिक उचित समन्वयको अभावमा आपसी द्वन्द्व सिर्जना गरेको छ । भौगोलिक विकटताका कारण देखिएका समस्या समाधान हुन नसक्नु, वेमौसमी खेतीपाती संचालनमा नरहेकोले महङ्गी बढी रहेको सबै तह र तम्काका मानिसलाई जीवनयापन गर्न समान अवस्था नहुनु आदि समस्याहरु रहेका छन ।

    विकासका सम्भावनाहरु
     सम्भावनाहरुको दृष्टिले यस गाउँ सबल र सक्षम रहेको छ । यहाँ रहेका प्राकृति स्रोत साधन यहाँका मानिसको काम गराईको तोर तरिकाले अतिथि सत्कार आदि ले गर्दा यहाँ धेरै सम्भावनाहरु रहेको देखिन्छ, जुन यस प्रकार छन् ः आम्दानीका लागि राइस मिल ,काठ उद्योग, तोरी पेल्ने मिल, कुखुरा फर्म , मोवाइल पसल ,ओषधी पसल, किराना पसलहरु टोलटोलमा, मासु पसल, कपडा फेन्सी पसल, तुइन आदिको सन्चालन गर्न सकिन्छ । सडक विस्तारसगँै सामान ढुवानी आवत जावतमा क्रमशः सुधार हुँदै आएको छ । खेतीपाती, पशुपालन भेडीगोठबाट आम्दानी गर्न सहज बन्दै गएको छ । स्वरोजगार र आत्मनिर्भर बन्न सहज भएको छ, । होमस्टे, तुइन, कृषि, पशुपालन, कुखुरापालन, मौरीपालन, ब्यूटी पार्लर आदीबाट रोजगार, आत्मनिर्भर बन्न र व्यवस्थापनमा सहज हुनेछ । विद्युत खानेपानीको उपलब्धताले जीवनस्तरमा सहज पहुँच बन्दै जानेछ । लैङ्गिक समानता, श्रम विभाजन निर्णयकारी भूमिकामा परिवर्तन हुँदै आएको छ ।

    यस्तै चिया उद्योग संचालन गरिने सम्भावना पनि यहाँ रहेको छ । स–साना हस्तकलाका सामग्रीहरु राडीपाखी, बख्खु, डोका, नाम्ला(चकटी) वेतको लौरो आदिबाट आय आर्जन गर्न सकिन्छ । होमस्टे संचालन, स्वरोजगार,  संस्कृतिको जर्गेना गर्न र युवा आकर्षण गर्न , गुरुङ संग्रहालबाट संस्कृतिको जर्गेना, ऐतिहासिक वस्तुहरुको प्रचार प्रसार संरक्षण, प्रवद्र्धन गर्न सकिने, मेला पर्व महोत्सव संचालन गरी आय आर्जनमा वृद्धि गर्न सकिन्छ । स्थानीय वातावरण वन पैदावार वातावरणीय सन्तुलन कायम गरी पर्यावरण, सस्तो सुलभ ढंगले वस्तु प्राप्त गर्न सकिन्छ । मनमोहक दृश्य अवलोकन गर्न ,परम्परागत गुरुङ रहन सहन संस्कृति घाटु, कृष्ण चरित्र, सेर्का नाच, असारे रोपाइ आदि मार्फत् विकास गर्न सकिने प्रशस्त सम्भावनाहरु रहेका छन् ।

    त्यहाँका हिमाल लगायत अन्य स्थानमा माउण्टिङ, वोटिङ, प्याराग्लाइडिङका कार्यक्रमहरु संचालन गर्न सकिने र स्थानीय जडिबुटीहरुको समुचित प्रयोग गरी वैदेशीक मुद्रा आर्जन गर्न सक्ने प्रवल सम्भावना रहेका छन् ।  युवा सशक्तीकरण, रोजगार सिर्जना, आय आर्जनमा वृद्धि गर्न , संस्कृतिको प्रचार प्रसार गर्न, स्वावलम्बी भएर देशको सेवामा लाग्न सकिने भुजुङ आज विश्वका विभिन्न राष्ट्रका पर्यटकहरुको गन्तव्य स्थल बन्न पुगेको छ । हरियो डाँडाको वीचमा डलरको खेती प्रारम्भ गरी सयौँ मानिसहरुलाई रोजगार प्रदान गर्न सकिन्छ । चुलो चौकामा सिमित महिलाहरुलाई आय आर्जनमा लगाई र समूह क्लवका कार्यक्रमहरुमा व्यस्त गराई आत्म निर्भर बनाउन सकिन्छ ।

    पहाडी दुर्गम स्थानमा अवस्थित लमजुङको घनापोखरा आज स्वदेशी तथा विश्वका विदेशी पर्यटकहरुको गन्तव्य स्थल बन्न पुगेको छ । भिरालो जमिन, माथिल्लो भागमा सुख्खा बारी, वेसीमा खेत वरिपरी हरियो डाँडाको वीचमा अहिले सयौँ मानिसहरुले रोजगार प्राप्त गरिरहेका छन् । चुलो चौकामा सिमित महिलाहरु आज आय आर्जन गर्न समूह क्लवका कार्यक्रमहरुमा व्यस्त रहँदै आएका छन् । कर्म गरे अवस्य सफल भइन्छ भन्ने दृढ विश्वासका साथ लागि परिरहने उनीहरु आत्मनिर्भर बन्दै गएका छन् । 

    समाज र मानव जीवन परिवर्तनशील छ । यहीँ परिवर्तनशील प्रवृत्तिका कारण मानिसले आफूले विकास गरेका नविन प्रविधि, खोज आविष्कारबाट आज जीवनलाई सरल, सहज, आरमदायी बनाउँदै आएका छन । मानव उत्विकासको प्रारम्भिक कालदेखि वर्तमान प्रतिस्पर्धी वैज्ञानिक युुगमा आइपुग्दा मानिसले आफ्नो संस्कृतिमा क्रमशःसुधार परिवर्तन गर्दै आएको छ । बाँच्नको लागि संघर्ष गर्दै आज प्रकृति माथि विजय प्राप्त गर्ने क्रममा रहेको हाम्रो संस्कृति, रहनसहन, परम्परा हाल आएर विश्वव्यापी भइ सकेपछि यसैको फलस्वरुप विश्वका कुनै पनि भू–भागमा, कुनाकन्दरामा रहेको संस्कृति प्रचार प्रसार हुँदै आएको छ । नेपालको भौगोलिक स्थानमध्ये लमजुङको घनापोखराको संस्कृति पनि आज आन्तरिक तथा बाह्य पर्यटकका कारण र विद्यमान संचारका विविध माध्यमहरुबाट क्रमशः विश्व्यापी बन्दै गएको छ ।

    त्यहाँको गुरुङ संस्कृति, रहनसहन, भाषा, नृत्य, कला, संगितका कारण होमस्टे (घरवास) कार्यक्रम मार्फत् अब विश्व सामु परिचित हुँदै गएको आवास मिलि रहेको छ । त्यहाँको अध्ययन अनुसन्धानको क्रममा जे जति आन्तरिक र बाह्य पर्यटकहरुको आगमन देखियो । यसको आधारमा विश्लेषण गर्दा मौलिक संस्कृति, विभिन्न नाँच, पर्व, संस्कार तथा प्राकृतिक स्रोत, साधन, जलसम्पदा, जडिबुटी आदीका कारण भुजुङको भविष्य सुन्दर देखिन्छ । त्यसो त सम्पदा भएर मात्रै हुने त होइन, हाम्रो देशमा के छैन र ? के कारणले हामी गरीब भएका छौं ? यी र यस्ता विषयमा विश्लेषण गर्दा देशमा रहेका तीन वटा स्रोतको समुचित विकास विना देशमा विकास हुन सक्दैन ती स्रोतमा जल, जमिन, जङ्गल, खानी आदीको समुचित प्रयोग विना देश सम्भव  छैन ।

    त्यस्तै यी स्रोत साधनको प्रयोग गर्न आवश्यक पर्ने साधन वा मुख्य कर्तामा मानवीय स्रोत अन्तर्गत अर्धदक्ष र अदक्ष सबै सीप, दक्षता, क्षमता भएका शक्तिको समूचित प्रयोग विना देश विकास हुँदैन र सम्भव छैन । प्राकृतिक स्रोत साधन जनशक्ति व्यवस्थापनसँगै राजश्व संकलन गरी पूँजीको समुचित प्रयोग तात्कालिन(मध्यकालीन), अल्पकालीन र दीर्घकालीन योजना बनाएर तिनीहरुको राम्रो प्रयोग र कार्यान्वयन गर्न सकेको खण्डमा हजारौँ पर्यटकहरु भित्राउन सकिने छ । राज्यलाई आत्मनिर्भर, युवालाई स्वरोजगार बनाउन अब हामी सबै एक भएर लाग्नुपर्छ । भौगोलिक विकटता भित्र देखिएका विभिन्न सम्भावनाबाट पाठ सिकेर हाम्रो देशका अन्य स्थानमा पनि पर्यापर्यटन, विद्युत, रोपवे, जडिबुटि व्यवस्थापन स्थानीय संस्कृति आदीको प्रयोग गरी बढ्दो वेरोजगारी समस्या, विदेश पलायन, रोग, शोक र भोकमा, अकालमा ज्यान जाने प्रवृत्तिको

    अन्त्य गर्न अब सबै सचेत नागरिक एक हुनुपर्छ । जाति, पाटी, साथी, तेरो शाकमा रहेका नेपालीलाई असम्भवबाट सम्भव बनाउन तथा बन्न र कही अवसर पाईदैँन र कहिँ अवसर छैन भन्नेलाई अबसर जताततै अबसर छ र पाइन्छ भनी देखाएर अवसर सिर्जना गर्नमा हामी सवेै लागौँ । राजनीतिक दलहरुले पनि स्वच्छ शासन पद्धति, दिगो सरकार र विकासका लागि योजना बनाएर पूर्ण रुपमा जनसहभागितामुलक ढंगले नीतिको अवलम्वन गरेर काम गर्ने र सरकार, जनता र निजी क्षेत्रको आपसी समन्वयबाट अबको विकास सम्भव हुने भएकोले देशको मुहार फेर्न सबैले आ–आफ्नो क्षेत्रबाट हातेमालो गर्दै  देशलाई परनिर्भरताबाट बचाउँन अति जरुरी छ । 

  • सम्बन्धित विषय:

  • # लमजुङ
  • # घनपोखरा

  • सराेजराज पन्त

    उहाँले बागलुङ पोस्ट डटकमका लागि लेख रचना लेख्नुहुन्छ ।

    सम्बन्धित समाचार