बुर्तिबाङ : लायन्स क्लब अफ ढोरपाटन बागलुङको आयोजनामा निसीखोला गाउँपालिका–३ बोहोरागाउँमा निःशुल्क स्वास्थ्य शिविर तथा विद्यार्थीलाई स्टेशनरी पोशाक वितरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । लामो समयदेखि स्वास्थ्य, शिक्षा, वातावरण, विपद् व्यवस्थापन लगाएत विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आएको क्लबले बोहोरागाउँ प्राथमिक विद्यालयमा अध्ययनरत १०९ जना विद्यार्थीलाई स्टेशनरी, २६ जनालाई पोशाक र झोला उपलब्ध गराइएको लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष छविलाल पाण्डेले बताए ।
क्लबले ५ औँ वार्षिकोत्सवका अवसरमा बृहत निःशुल्क शिविर सञ्चालन गरेको हो । शिविरबाट ५५६ जना नागरिकले सेवा लिएका हुन् । शिविरमा बालरोग, हार्डजोर्नी दुख्ने, छाती पोल्ने, सुगर, प्रेसर, महिनावारी गडबडी, पाठेघर जाँच, भिआइए जाँच, फार्मेसी सेवा, सुगर, पिसाब परिक्षण, आँखा र दाँतको चेकजाँच तथा उपचार गरिएको अध्यक्ष पाण्डेले बताए ।
शिविरमा १५० जना बालबालिकाको जेकजाँच तथा उपचार गरिएको उनको भनाइ छ । बालबालिकामा बढि मात्रामा कान पाक्ने, आँखा र दाँतको समस्या बढि रहेको पाइएको हो । एक सय जनाको आँखाको चेकजाँच तथा उपचार, ९० जनाको दाँतको चेकजाँच तथा उपचार गरिनुका साथै महिला सम्बन्धी समस्याको उपचार गरिएको थियो । चेकजाँच गर्दा महिला सम्बन्धी समस्या, सुगरका समस्या भएका बिरामीको संख्या बढि भएको पाइएको थियो ।
गाउँमै निशुल्क शिविर सञ्चालन भएपछि आर्थिक रुपमा कमजोर र अस्पतालमा पुगेर उपचार गराउन नसक्ने जेष्ठ नागरिक, महिला, बालबालिकालाई राहात भएको बोहोरागाउँ प्राथमिक विद्यालयका अध्यक्ष दिपक बहादुर चन्दले बताए । कार्यक्रममा बोल्दै निसीखोला गाउँपालिका–३ का अध्यक्ष रमेश विक्रम शाहीले लायन्स क्लब अफ ढोरपाटनले यसरी लाखौँ रकम खर्च गरेर शिविरसंगै बालबालिकाको निम्ती सहयोग उपलब्ध गराएकोमा धन्यबाद ज्ञापन गर्दै धन्यबाद ज्ञापन गरे ।
गण्डकी प्रदेश पूर्व सदस्य खिम विक्रम शाहीले लायन्स क्लबले विभिन्न समयमा गरिब, विपन्न र समस्यामा परेका नागरिकलाई राहात, उद्धार र स्वास्थ्य उपचार संगै शिक्षा क्षेत्रमा महत्वपूर्ण कार्यक्रम गर्दे आएकोमा धन्यबाद ज्ञापन गर्दै बोहोरा गाउँमा गरिएको कार्यक्रम निकै उत्कृष्ट रहेको बताए ।
लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष छविलाल पाण्डेले लायन्स क्लब समाज रुपान्तरण संगै दुखी पीडित र विपन्न नागरिकको सहारा भएको बताए । दुर्गम गाउँ बस्तीमा आफुहरुले शिक्षा, स्वास्थ्य, वातावरणीय, विपद् जन्य कार्यमा निरन्तर सचेतना सम्बन्धि काम गर्दै आएको बताए ।
कार्यक्रममा लायन्स क्लब जिल्ला सदस्य राम प्रसाद आर्चाय लगायतले बोलेका थिए । बुर्तिबाङ स्वास्थ्य केन्द्रका प्रमुख डा. नविन्द्र ढकाल, डा. अम्रेश महतो, डा. रचना सुवेदी, डा. श्री कृष्ण पोखरेल, डा. भावना अधिकारीसहित स्वास्थ्यकर्मी पार्वती अर्याल, चुडामणी कँडेल, रुमाकान्त श्रीस, देविन्द्र सुनार, मुक्तिनाथ लोहनी, किसान शाही, निसीखोला गाउँपालिका स्वास्थ्य संयोजक टोप बहादु चन्द, बोहोरागाउँ स्वास्थ्य चौकी प्रमुख कसिन्द्र शाही लगाएतले चेकजाँच तथा उपचार गरेका थिए ।