बागलुङ : बागलुङको निसीखोला गाउँपालिकाले हावाहुरी पीडितलाई घरमै पुगेर राहत प्रदान गरेको छ । गाउँपालिकाले जेठ २ गतेको हावाहुरीका कारण क्षती पुर्याएको १० घर परिवारलाई गाउँमै पुगेर नगद तथा खाद्यन्न हस्तान्तरण गरेको छ । हावाहुरीले घरको जस्तामा क्षति पुर्याएको थियो । निसीखोला गाउँपालिका–१ लेवाङमा आएको हावा हुरीका कारण १० घरमा क्षति पुर्याएको थियो ।
प्रहरी सर्जमिन मुचुल्काको आधारमा १० जनालाई नगद, चामाल, नुन र तेल प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जिवन पुन मगरले जानकारी दिनुभयो । उहाँले प्रति परिवार १० हजारका दरले नगद एक लाख सहित खाद्यन्न वितरण गरिएको बताउनुभयो । हावाहुरी पीडितको घाउमा मलह लागाउन गाउँपालिका राहत लिएर घरमै पुगेको प्रमुख प्रशासकीय अधिकृत पुन मगरले बताउनुभयो ।
भीषण वर्षासंगै चलेको हावाहुरीले घरको छाना उडाउँदा लेबाङका मनसरा विक, दिपसिंह विक, सन्जीता विक, सन्कला कमिनी, नरमति विक, देउराज विक, दबहादुर कामी, मञ्जु कुँवर र नरबहादुर सुनार कोही गोठ त कोही आफन्त घरमा बस्दै आएका छन् । हावाहुरीले घरको छानो उडाएर बस्न नमिल्ने भएपछि गाउँपालिकाले जस्तापाताले छाईदिने व्यवस्था समेत मिलाएको मगरले बताउनुभयो ।
हावाहुरी र वर्षाबाट प्रभावित आफ्ना नागरिकलाई विपतमा साथ दिन राहत वितरण गरिएको बताउँदै गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तिले पीडित परिवारलाई तत्कालका लागि राहत वितरण गरेपनि घरको छाना छाउन समेत पालिको साथ रहने बताउनुभयो ।