बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–४ स्थित कानाबगर र झिवाखोला बजारमा बाढी ठूलाे क्षति पुर्याएको छ । गत आइतबार निसीखोलामा आएको बाढीले कानाबगर र झिवाखाेला बजार किनारका ३५ घर बाढीले बगाएको छ भने २५ घरमा बस्नै नमिल्ने गरी क्षति पुगेको छ।
बाढीले घर बगाएपछि पीडितहरू छिमेकीको घरमा आश्रय लिन बाध्य भएका छन्। स्थानीय तहले पीडितलाई आफन्तको घरमा पठाउन थालेको छ। जनजीवरा र प्रभा माध्यमिक विद्यालयमा बनाइएको अस्थायी शिविरमा रात बिताउँदै आएका पीडितलाई आफन्त तथा छिमेकीको घरमा पठाउन लागिएको हो।
विभिन्न व्यक्ति, सङ्घसंस्था र गाउँपालिकाले उपलब्ध गराएको राहतको भरमा शिविरमा बसिरहेका बाढीपीडितका लागि वडा कार्यालयले अस्थायी बसोबासको व्यवस्था गर्न आफन्त र छिमेकीको घरमा कोठा खोजिरहेको वडा अध्यक्ष टिकानिधि पौडेलले बताए।
“विद्यालयमा बस्न सास्ती भएपछि आफन्तको घर खोजेर पठाउने काम भइरहेको छ,” पौडेलले भने, “पीडितलाई बस्न दिने गरी आफन्तको घरमा व्यवस्थापन गर्दै छौँ।” पीडितलाई प्रारम्भिक राहत वितरण गरिए पनि दिगो व्यवस्थापन चुनौतीपूर्ण रहेको उनले बताए।
बाढीमा सर्वस्व गुमाएपछि पीडित परिवार बिचल्लीमा छन्। विद्यालयमा बनाइएको अस्थायी शिविरबाट आफन्तको घरमा जान लाग्नुभएकी पीडित दिलकुमारी रेग्मीले राहतको भरमा बस्नुपरेको बताइन्। “राहतमा जे पाएका छौँ, त्यसैमा चित्त बुझाएर बसेका छौँ। आफन्तहरू पनि पीडित छन्। छानो न मानो भएपछि अर्काको भरमा बस्न बाध्य छौँ,” रेग्मीले दुःखेसो पोखिन्।
निसीखोलामा पहिरोमा परी एकै घरका चार जनासहित पाँच जनाको मृत्यु भएको छ। जिल्ला विपद् व्यवस्थापन समितिले बुधबार घटनास्थलमा पुगेर पाल, खाद्यान्नलगायतका सामग्री वितरण गरेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए।
निसीखोलामा पर्याप्त राहत तथा क्षतिपूर्ति व्यवस्थापनको काम अझै हुन सकेको छैन। मृत्यु भएका परिवारको समस्या एकातर्फ छ भने घरबारविहीन परिवारलाई पुनःस्थापना गर्ने अर्को चुनौती छ। गाउँपालिकाले तत्कालका लागि उनीहरूको खानेबस्ने व्यवस्थाका लागि राहत उपलब्ध गराएको छ।
निसी, भलकोट, झिवाखोला, झिम्पा, कानाबगर र जुग्जाखोलालगायतका बस्ती निसीखोलाको किनारमा बसेका छन्। वर्षौंदेखि रहेका यी बस्तीमा यसअघि यसरी खोला पस्ने अवस्था नदेखेको स्थानीय बताउँछन्। कालापैराबाट सुरू भएकाे पहिरोले खोलाको धार परिवर्तन गर्दा झिवाखोला र कानाबगर बजार बगाएको हो।
बाढीले निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनाको इन्टेक र नहरसमेत बगाएको छ भने एउटा झोलुङ्गे पुलमा पनि क्षति पुर्याएको छ। “६० घरपरिवारमा एकैपटक विपत्ति आइलाग्दा व्यवस्थापनमा चुनौती छ,” गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीले भने।