बागलुङ : विरामी बोक्ने एम्बुलेन्समा शव बोकेको भन्दै नेपाली काँग्रेसले प्रशासनको ध्यानाकर्षण गराएको छ ।
नेपाली काँग्रेस बागलुङले मंगलबार जिल्ला प्रशासन कार्यालय बागलुङमा पुगेर बिरामी बोक्न प्रयोग हुने एम्बुलेन्समा कोरोना संक्रमणपछि मृत्यु भएकाहरुको शव बोकिएको भन्दै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको हो ।
नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेल, जिल्ला सभापति दिपेन्द्र थापा नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारीलाई भेटेर बिरामी बोक्ने एम्बुलेन्समा शव बोकाउने कार्य गलत भएको भन्दै ध्यानाकर्षण गरायो ।
नेपाली काँग्रेस आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेलले एम्बुलेन्समा शव बोकाउनु गलत भएको भन्दै शब बाहनको व्यवस्थापन गर्न आग्रह गरे । ‘कोरोना संक्रमणपछि मृत्यु भएकाहरुको शव एम्बुलेन्सले बोक्ने गरेको छ, एम्बुलेन्स त फेरि अन्य बिरामी बोक्न पनि प्रयोग गर्नुपर्ने हुन्छ,’ पौडेलले भने,‘यो ठिक भएन । शव बोक्नका लागि छुट्टै सवारीको व्यवस्था होस् ।’
बागलुङमा शव बाहन नहुँदा कोरोना संक्रमणबाट मृत्यु भएकाहरुलाई एम्बुलेन्सबाट दाहसंस्कार गर्ने स्थानसम्म पु-याउने गरिएको छ ।
नेपाली काँग्रेस बागलुङका सभापति दीपेन्द्र थापाले कोभिड अस्पताल बनाईएको धौलागिरि अस्पतालमा अझै पनि संक्रमितको उपचारमा चुष्त व्यवस्थापन नभएको गुनासो गरे । उनले लगातार संक्रमितको मृत्यु भैरहेको र संक्रमितको अवस्था गम्भीर हुँदा पनि आफन्तलाई यसबारे जानकारी नगराईएकोले यस खालका कमजोरी दोहोरिन नदिन आग्रह गरे ।
सोमबार र मंगलबार दुई दिनमा बागलुङमा दुई कोरोना संक्रमितको ज्यान गईसकेको छ । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानले सर्वपक्षीय बैठक राखेर छलफलबाट यसको निकास निकाल्ने प्रयास गरिने बताए ।
‘तपाईहरुले निकै संवदेनशील विषय उठाउनुभएको छ,’ उनले भने,‘कमजोरी भएको भए सुधार गर्ने र शव बाहनको विषयमा सर्वपक्षीय बैठक गरी के कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने निश्कर्षमा पुग्नेछौं ।’