बागलुङ : कोभिड—१९ का कारण लामो समय देखि बन्द रहेका बागलुङका विद्यालयहरु खुलेका छन् ।
जिल्लाका अधिकांस पालिकामा पहिल्यै विद्यालयहरु सञ्चालनमा आए पनि बागलुङ नगरपालिका क्षेत्र भित्रका विद्यालयहरु खुल्न सकेका थिएनन् ।
नगर क्षेत्रभित्र समुदाय स्तरमा कोरोना फैलिएपछि नगरपालिकाले विद्यालय खोल्ने निर्णय गर्न सकेको थिएन ।
अहिले आएर नगर शिक्षा समितिले आवश्यक सबै सुरक्षा सावधानी अपनाएर विद्यालय खोल्ने निर्णय गरेको नगर शिक्षा समिति सदस्य गणेश थापाले बताए । ‘कोेभिड—१९ का कारण लामो समयदेखि विद्यालय खुल्न सकेका थिएनन्, अनलाई कक्षाहरु सञ्चालन भैरहेका थिए,’ उनले भने,‘अब विद्यालयहरु आवश्यक सुरक्षाका मापदण्ड सबै पूरा गरेर विद्यालय खोल्ने र भौतिक उपस्थीतिमै पठन पाठन गराउने निर्णय शिक्षा समितिले गरेको छ ।’
विद्यालय सञ्चालनका लागि नेपाल सरकार शिक्षा मन्त्रालयले तोकेको सबै मापदण्ड विद्यालयले अनिवार्य रुपमा पूरा गर्नुपर्ने उनले बताए । ‘ग्रामिण भेगका विद्यालयहरु अलि अगाडीबाट नै सञ्चालनमा थिए, बजार क्षेत्रमा जोखिम बढि भएका कारण भौतिक उपस्थीतिमा पढाई भएको थिएन,’ उनले भने,‘अहिले भने भौतिक उपस्थीतिमै पढाई सुरु भएको छ ।’
कोभिड नियन्त्रणका लागि सघाउ पुग्ने आवश्यक कार्ययोजना बनाएर विद्यालय खोल्ने अनुमति प्रदान गरिएको बागलुङ नगरपालिका शिक्षा शाखा प्रमुख डण्डपाणी शर्माले बताए । ‘आफ्नो विद्यालयमा कोरोना जोखिमको अवस्थालाई ख्याल राख्दै आवश्यक कार्ययोजना बनाएर, अभिभावकहरु छलफल गरी पारि गर्ने र नगर शिक्षा शाखामा बुझाउने गरी विद्यालय खोल्न दिईएको छ,’ उनले भने,‘सुरक्षा मापदण्डहरु अनिवार्य रुपमा पालना गरेकै हुनुपर्छ । ती मापदण्ड पालना गर्ने विद्यालयहरुको निगरानी र कारबाही हुन्छ ।’
आपसमा भौतिक दुरु कायम गर्न नसकिने कुनै पनि क्रियाकलाप नगर्न विद्यालयलाई भनेको उनले बताए । ‘विद्यालयमा खाजा खुवाउने, गाडी चलाउने, लगायतका कार्यहरुमा अझै पनि प्रतिवन्ध कायमै छ,’ उनी भन्छन्,‘कक्षा कोठाभित्र पनि विद्यार्थीबीच कम्तीमा एक मिटरको दुरी कायम भएको हुनुपर्छ ।’
बागलुङ नगरका हरेक वडामा वडाध्यक्षको संयोजकत्वमा वडा शिक्षा समिति बनेको विद्यालयहरुले सम्बन्धित वडा समितिसंग समन्वय गरेर विद्यालय सञ्चालन गर्नुपर्ने बताए । नगर शिक्षा समितिले विद्यालय अनुगमन गर्ने र आवश्यक रिपोर्टिङ गर्ने जिम्मा पनि वडा शिक्षा समितिलाई दिएको उनको भनाई छ ।
नगर शिक्षा समितिबाट पनि मापदण्ड पालनाको विषयमा अनुगमन हुने उनले बताए ।