बागलुङ : वेलनेश टिमले जिल्लाको ताराखोला गाउँपालिकालाई पूर्ण फस्ट एड बक्सयुक्त नमुना गाउँपालिकाले बनाउने घोषणा गरेको छ ।
टिमकी अध्यक्ष नितु खड्काले एक विज्ञप्ती प्रकाशित गर्दै ताराखोला गाउँपालिका भित्रका दुई हजार दुई सय घरधुरीमा निःशुल्क फस्ट एड बक्स उपलब्ध गराउने घोषणा गरेकी छिन् ।
ताराखोला गाउँपालिकालाई सबै घरमा फस्ट एड बक्स भएको नेपालकै नमुना गाउँपालिका बनाउने घोषणा गर्दै खडकाले सहयोगका लागि सबैमा अपिल गरेकी छिन् ।
विगत तीन महिना देखि ताराखोला गाउँपालिकाको कोभिड—१९ अस्पतालमा स्टाफ नर्सको रुममा कार्यरत रहेकी उनले आफुले पाउने तलबको ७० प्रतिशत हिस्सा यो अभियानमा लगाउने समेत उल्लेख गरेकी छिन् ।
‘ताराखोला गाउँपालिकामा बसोबास गर्दै आउनुभएका सबै जनतालाई स्वास्थ्य जागरुकता होस भनि माघ १ गतेबाट ‘स्वास्थ्य जागरुक कार्यक्रम २०२१’ नामाकरण गरेर ताराखोला गाउँपालिकालाई नेपालमै पहिलो फस्ट एड बक्स भएको नमुना गाउँपालिका बनाउने प्रतिवद्धता गरेको छु,’ उनले भनेकी छिन्,‘त्यसका लागि म तीन महिना देखि कार्यरत रहेका ताराखोला गाउँपालिका कोभिड—१९ अस्पतालबाट आउने तलबको ७० प्रतिशत तलब यो अभियानमा खर्च गर्नेछु ।’
उनले यो अभियानमा सहयोग गर्न विभीनन संघ संस्था, कम्पनी, बैंक तथा अन्य ईच्छुक व्यक्तिलाई हरेक घर फस्ट एड बक्स भएको नमुना गाउँपालिका बनाउन सहयोग गर्न आग्रह गरेकी छिन् । वेलनेश टिमले विगत दुई वर्षदेखि फस्ट एड बक्स वितरणको कार्यक्रम गर्दै आएको छ ।
प्राथमिक उपचार सामग्री सहितको बक्स हरेक नागरिकको घरमा हुँदा सामान्य स्वास्थ्य समस्या आउँदा वित्तिकै प्राथमिक उपचार पाएपछि धेरैको अकालमा ज्यान जानबाट जोखिने वेलनेशको विश्वास छ ।
