बागलुङ : संसद विघटनको विरुद्धमा नेपाली काँग्रेसका सुभेच्छुक संस्थाहरुले शनिबार बागलुङमा विरोध प्रदर्शन गरेका छन् । काँग्रेस केन्द्रीय समितिको निर्देशनमा देशभर भएको अभियान अन्तरगत बागलुङमा सुभेच्छुक संस्थाहरु विरोध प्रर्दशन गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका आन्त्रित केन्द्रीय सदस्य किरणराज पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सनकका भरमा गरेको प्रतिनिधि सभा विघटनको कदम असंवैधानिक र अलोतान्त्रीक भएको भन्दै यो जनभावन विपरित रहेको बताए ।
उनले लोकतान्त्रिक मूल्य मान्यता एवं संविधान विपरीत हुने कामको काँग्रेस सधै विरोध गर्ने भन्दै संसद् विघटन, सर्वसत्तावाद र भ्रष्टाचारको विरोध तथा लोकतान्त्रिक संविधान रक्षाको पक्षमा काँग्रेस विरोधमा उत्रीन बाध्य भएको बताए ।
कार्यक्रममा काँग्रेस बागलुङका सभापति दिपेन्द्र थापाले कम्युनिष्ट सरकारको सर्वसत्तावादले मुलुकलाई दुर्घटना तर्फ धकेलेको बताए । निवर्तमान पार्टी सभापति एवं संविधान सभा सदस्य प्रकाश शर्मा पौडेलले प्रधानमन्त्री ओलीले संसद विघटन र संवैधानिक निकायमा गरेका नियुक्त संविधान विपरित भएको बताए ।
उनले संविधानमा संसद विघटनको प्र्रक्रिया संविधानमा नै नभएको बताए । कार्यक्रममा नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष उमाकान्त पौडेल, नेपाल ट्रेड युनियन काँग्रेस केन्द्रिय महिला विभाग उपाध्यक्ष शकुन्तला शर्मा, प्रजातन्त्रवादी कानुन व्यवसायी संघ बागलुङका अध्यक्ष भुमिश्वर गौतम, त्रिवी प्रजातन्त्रवादी कर्मचारी संघ धौलागिरी बहुमुखी क्याम्पसका अध्यक्ष सुर्य गौतम लगायतले प्रधानमन्त्री ओली प्रतिगमनको बाटो हिँडेको आरोप लगाएका थिए ।
कार्यक्रम प्रजातन्त्रवादी प्रध्यापक संघ बागलुङका अध्यक्ष गोविन्द शर्मा कंडेलको अध्यक्ष, ट्रेड युनियन काँग्रेस बागलुङका सभापति ईश्वर ठाकुर पौडेलको स्वागत र नेपाल शिक्षक संघ बागलुङका सचिव लक्ष्मीकान्त पौडेल राजेन्द्रको संचालनमा सम्पन्न भएको थियो ।
विरोध प्रदर्शनमा बागलुङका क्रियाशिल काँग्रेसका सुभेच्छुक संस्थाहरुका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो । काँग्रेसको केन्द्रीय कार्यक्रम अनुसार गरिएको विरोध प्रदर्शनमा संसद पुनस्थापन गर्न, असैवाधानिक कदम सच्याउन माग गरिएको थियो ।