काठमाडौँ : सुनसरी र चितवनमा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । सुनसरीको इटहरी–१७ मा बुधबार सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।
दुई जना सामान्य घाइते भएका छन् । मृत्यु हुनेमा उदयपुर बेलका नगरपालिका–९ का ५४ वर्षीय राजेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । को १ क ३४११ नम्बरको टिप्परले को ३८ प ५७५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक चौधरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।
सोही टिपरले को३५प ७६१० नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ बेलबारी–८ का ३८ वर्षीय होमनाथ बाँस्कोटा र पछाडि सवार इटहरी–८ का ३७ वर्षीय नगेन्द्र अधिकारी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
यस्तै चितवनको खैरहनी नगरपालिकामा भएको दुर्घटनामा एकको मृत्यु भएको छ भने एक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा मृत्यु हुनेमा कालिका नगरपालिका–५ का २२ वर्षीय सुरेश चौधरी रहेका छन् ।
पूर्वपश्चिम राजमार्गको खैरहनी नगरपालिका–१ तरकारी चोकमा लोथरबाट नारायणगढतर्फ आउँदै गरेको ना५ख १७४० नम्बरको बसमा सोही दिशाबाट आइरहेको ना५९प ८७७ नम्बरको मोटरसाईकल आज बिहान ठक्कर खाएको थियो ।
ठक्करबाट घाइते मोटरसाइकल चालक चौधरीको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार अर्का एक जना घाइते भएका छन् ।
घाइते हुनेमा कालिका नगरपालिका–५ का ३१ वर्षीय सुनिल चौधरी रहेका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते चौधरीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । ठक्कर खाने दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेका छन् ।