बागलुङ : नेपाली काँग्रेसले सरकारको विरोधमा सोमबार देशव्यापी रुपमा गर्ने भनेको विरोध प्रर्दशन नेपाली काँग्रेस बागलुङले भने नगर्ने भएको छ ।
शनिबार काँग्रेस बागलुङका पुर्व महाधिवेशन प्रतिनिधि एवं नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रिय सदस्य दुर्गादत्त आचार्यको दुःखद निधनले सिंगो काँग्रेस शोकमा ढुबेको भन्दै सोमबार बागलुङ बजारमा गरिने भनिएको विरोध प्रदर्शन नगर्ने निर्णय गरेको हो ।
काँग्रेस बागलुङका जिल्ला सचिव नवराज पौडेलले आईतबार एक विज्ञप्ती जारी गर्दै काँग्रेसको केन्द्रिय कार्यक्रम अनुसार फागुन ३ गते सोमबार गर्ने भनिएका विरोध प्रदर्शन नहुने जानकारी गराएका छन ।
काँग्रेस बागलुङले आचार्यको निधनले नेपाली काँग्रेस र सिंगो समाजलाई नै ठुलो क्षती पुगेको हुँदा यस दुःखद घडिमा पार्टीका कुनै पनि गतिविधि नगर्ने बताएको छ । काँग्रेस बागलुङले स्व. आचार्य प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार प्रति हार्दिक समवेदना प्रकट गरेको छ ।
स्व. आचार्य नेपाल प्रेस युनियन बागलुङका पुर्व अध्यक्ष र हाल केन्द्रिय प्रतिनिधि हुन । त्यसैगरी उनि नेपाल शिक्षक संघका केन्द्रिय प्रतिनिधि नेपाल पत्रकार महासंघका केन्द्रिय प्रतिनिधि हुन ।
उनी बागलुङबाट प्रकाशित कालिका साप्ताहिकका सम्पादक हुन भने, धौलागिरी एफ एमका पुर्व अध्यक्ष र सयपत्री एफ एमका संचालक समिति सदस्य हुन ।
आचार्यको हृदयघातका कारण मृत्यु भएको हो । बागलुङका जैमिनी नगरपालिका–५ विनामारे स्थायी घर भएका आचार्य हाल बागलुङ नगरपालिका–१ रामरेखा बस्दै आएका थिए ।
उनको आईतबार विहान मालढुंगा स्थित कालिगण्डकी किनारमा अन्तष्टी गरिएको छ । स्व. आचार्यको निधनले यतिबेला सिंगा बागलुङ नै शोकमा ढुबेको छ ।