images
images

सिवाईसी र शालिग्रामको एकीकृत कारोबार सुरु 

सिवाईसी र शालिग्रामको एकीकृत कारोबार सुरु 

  • आषाढ २९, २०७८ मंगलवार
  • २०:१७:२९ बजे
  • 4.3K
    SHARES
  • सिवाईसी र शालिग्रामको एकीकृत कारोबार सुरु 

    बागलुङ : सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि.बागलुङ र शालिग्राम लघुवित्त वित्तीय संस्था लि. बेनी म्याग्दीको एकिकृत कारोबार सुरुवात भएको छ ।

    राष्ट्रिय स्तरको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि.ले प्रदेश स्तरको शालिग्राम लघुवित्त वित्तीय संस्था लि.लाई प्राप्ती गरेको हो ।  एकिकृत कारोबारको शुभारम्भ सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको मुख्यप्रवद्र्धक संस्था चारतारे युवा क्लव नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल, सिवाईसीका अध्यक्ष पद्मनाथ शर्मा र शालिग्रामका अध्यक्ष कृष्णबहादुर थापाले संयुक्त रुपमा दिप प्रज्वलन, व्यानर अनावरण र रिबन काटेर गरेका थिए । 

    कार्यक्रममा बोल्दै पौडेलले दुई वित्तीय संस्था गाभिएपछि संस्था थप सबल भएको बताए । उनले ग्रामिण क्षेत्रका लक्षित वर्गमा अझै पनि लघुवित्त संस्था नपुगेको बताउँदै ती वर्गमा गएर जनताको सेवामा समेत ध्यान दिन आग्रह गरे ।

     संस्था ठूलो हुँदा क्षमता पनि बढ्ने बताउँदै पौडेलले लघुवित्त संस्थाहरुले नाफामा मात्र केन्द्रीत नभई सदस्यमैत्री सेवाहरु पनि सञ्चालन गर्ने कुरामा जोड दिए । कार्यक्रममा शालिग्राम लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष कृष्णबहादुर थापाले शुभकामना मन्तव्य राखेका थिए । 

    गत जेठ १४ गते छुट्टाछुट्टै बसेको संस्थाहरुको विशेष साधारण सभाले सिवाईसीले शालिग्रामलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको थियो। एकिकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असार २५ गते अन्तिम स्वीकृती प्रदान गरेका थिए।

    एकिकृत कारोबार शुभारम्भ समारोहमा संस्थाका प्रवन्ध सञ्चालक डोलिन्द्रप्रसाद शर्माले संस्थाको चुक्ता पुँजी १२ करोड १६ लाख ४१ हजार ८ सय ३७, कर्मचारी १ सय ८६, शाखा कार्यालय ३८, सदस्य संख्या ४८ हजार, लगानीमा बाँकी रहेको कर्जा १ अर्ब ७५ करोड र बचत ८८ करोड रहेको जानकारी गराए । उनले आर्थिक वर्ष २०७८÷०७९ लाई सिवाईसीले विगतमा गरेका सबै कामहरुलाई दोब्बर गराउने लक्ष्य रहेकाले सबैको साथ र सहयोगको अपेक्षा राखेको बताए । 

    संस्थाका अध्यक्ष पद्मनाथ शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कम्पनी सचिव चन्द्रप्रसाद ढकालले गरेका थिए । 

     

    सम्बन्धित समाचार